कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

किशोरको भूकम्प गाथा

काठमाडौँ — यो वैशाख १२ गते । हाम्रो मुलुकले आठ दशकयता भोगेको पहिलो ठूलो प्राकृतिक विपत्तिको तेस्रो वार्षिकी । यति बेला पत्रकार किशोर पन्थी विनाशकारी भूकम्पले हजारौँ घरपरिवार उजाडेको त्यो समयको अभिलेखसहित पाठकमाझ आएका छन् ।

किशोरको भूकम्प गाथा

‘कम्पन’ राजधानीमा सोमबार पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा.डा. खगेन्द्र लुइँटेल, माओवादी नेत्री पम्फा भुसाललगायतले लोकार्पण गरे ।


पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले नेपालीले भोगेको त्यो विपद्को पीडा भुल्ने गरी पुनर्निर्माण हुन नसकेको औँल्याउँदै सम्बन्धित निकायहरूलाई झकझकाउने दिशामा किशोरको लेखकीय प्रयास प्रशंसनीय रहेको बताए । पूर्वप्रधानमन्त्री नेपालले भूकम्पमा नेपालीहरूले अनुभव गर्नुपरेका पीडा मन छुने किसिमले आउन सकेको बताए । प्रा.डा. लुइँटेल र पत्रकार नेपालले किशोरको लेखन स्वादिलो रहेको टिप्पणी गरे ।


‘कम्पन’ छ खण्डमा विभक्त छ । ‘वियोग वेदना,’ ‘मृत्युको मुखबाट,’ ‘रेस्क्यु अपरेसन,’ ‘आर्तहरूको उपचार,’ ‘राहतका रङहरू’ र ‘सञ्चारकर्मीको सकस’ खण्डमार्फत भूकम्पपीडितहरूका प्रोफाइल–बेस्ड कथा, उद्धार कार्य र उद्धारकर्मीका अनुभव लगायतलाई समेटिएको छ । उक्त पुस्तक महाभूकम्पपछिका आर्तनाद र आशाको उपज रहेको बताउँदै किशोरले यो भूकम्पलगत्तै अमेरिकाबाट आएर आफूले गरेको राहत प्रयासका क्रममा पाएका अनुभूतिको दस्तावेज पनि भएको सुनाए । ‘भूकम्पको केही दिनभित्रै म साथीहरूसहित न्युयोर्कबाट काठमाडौँ आइसकेको थिएँ,’ आठ वर्षयता अमेरिकामा रहेका उनले भने, ‘राहत सामग्री लिएर हामी छिमेकी जिल्लाहरूमा गयौँ । त्यस क्रममा जस्ता पीडित र अवस्थासँग साक्षात्कार गर्नुपर्‍यो, त्यसैको प्रतिफल हो यो पुस्तक ।’ धेरै पीडितहरूको मनको घाउमा अझै मल्हम लाग्न नसकेको पाउँदा आफूलाई दु:ख लागेको उल्लेख गर्दै उनले यो पुस्तक त्यस दिशामा आँखीझयाल बन्न सक्ने विश्वास पनि जनाए ।


गुल्मीमा जन्मेका किशोरको यो पहिलो पुस्तकाकार कृति हो । डेढ दशकदेखि पत्रकारितामा आबद्ध उनी न्युयोर्कमै पनि यही पेसामा क्रियाशील छन् । त्यहाँ आफ्नै प्रधानसम्पादकत्वमा ‘खसोखास’ साप्ताहिक प्रकाशन गर्छन् । नमस्ते मिडिया इन्कले छापेको पुस्तक चाँडै अंग्रेजीमा निकाल्ने पनि उनले सुनाए ।

प्रकाशित : वैशाख १२, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?