‘म लोभी कलाकार’

काठमाडौँ — बलिउडमा छाएका सिक्किमेली मूलका कलाकार हुन् डेनी डेन्जोङ्पा । उनीपछि गीताञ्जली थापा चर्चामा आइन् । सन् २०१३ मा ‘लायर्स डाइस’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको भारतीय राष्ट्रिय अवार्ड जितेकी उनले फिल्म क्षेत्रमा विभेद झेल्ने गरेको खुलाएकी छन् ।

‘म लोभी कलाकार’

‘मैले पक्षपात महसुस गरेकी छु,’ उनी भन्छिन्, “तिमीलाई यस्तो रोल सुहाउँदैन किनकि तिमी इन्डियनजस्तो देखिँदैनौ’ भन्नु मेरा लागि विभेद हो ।”

भारतीय मिडियासँग हालैको संवादमा उनले आफूलाई भारतीयजस्तो नदेखिने तर्क गरेर निराश बनाउन खोज्ने गरेको बताएकी थिइन् । मान्छेहरूले आफूलाई ‘राम्रो कलाकार हौ तर इन्डियन लुक्स छैन’ भनेको सुन्दा सुरुसुरुमा निकै तनाव हुने गरेको पनि उनको भनाइ थियो । ‘अहिले त म जब्बर भइसकेँ,’ उनी भन्छिन्, ‘यस्ता कुराले फरक पर्दैन । बरु, हाँस उठ्छ । म राम्रो काम गरिरहेकी छु । मलाई फिल्ममा लिन चाहने फिल्ममेकर प्रशस्त छन्, यो मेरा लागि ठूलो कुरा हो ।’

लुक्सकै कारण सधैं उत्तरपूर्वकी युवतीको भूमिका गराउन खोज्ने चलन रहेको थापाको भनाइ छ । तर, केही निर्माताले यो रुढिवाद तोड्न खोजेको बताइन् । ‘म किन सधैं त्यस्तो रोल गर्नु ?’ थापाको भनाइ छ, ‘मुम्बई वा बैंगलुरुमा पढदै गरेकी युवतीका रूपमा मलाई राम्रो देखिन्छ होला । तर, सोचहरू परिवर्तन हुँदै छन् । मलाई पर्याप्त इन्डियन नदेख्नेहरूले बिस्तारै कुरा बुझ्नुहोला ।’ उनी चाँडै डेनीसँगको फिल्म ‘बाइस्कोपवाला’ मा देखिँदै छिन् ।

रवीन्द्रनाथ टेगोरको कथा ‘काबुलीवाला’ (१८९२) बाट साभार गरिएको उक्त फिल्ममा डेनी र गीताञ्जलीसँगै अदिल हुसेन र टिस्का चोपडा आबद्ध छन् । उनीहरू सबै सहयोगी भएको थापाले बताइन् । ‘फिल्म मलाई मास्टर क्लासजस्तो भयो,’ उनले भनेकी छन्, ‘त्यसले मलाई अझ अब्बल कलाकार बनाइदिएको छ ।’ यसअघि ‘मनसुन सुटआउट’, ‘ट्रयाप्ड’ जस्ता फिल्ममा काम गरेकी उनले चाहेजस्तो भूमिका पाउन कठिन रहेको बताएकी छन् । ‘म राम्रो स्क्रिप्टको खोजीमा हुन्छु’, उनी भन्छिन्, ‘फुल लेन्थ, सर्ट फिल्म, डकुमेन्ट्री, वेब सेरिज, क्षेत्रीय फिल्म जे भए पनि हुन्छ । पात्रले मलाई आकर्षित गरे पुग्यो ।’ आफू सबै प्रकारका भूमिका/फिल्ममा स्वीकार्य हुनुपर्छ भन्नेमा थापाले जोड दिएकी छन् । एकै प्रकारका फिल्म गरेको भन्ने गुनासो सुनिन थालेकाले आफू चिन्तित भएको बताइन् ।

‘तर, जानीजानी यस्तो भएको होइन,’ उनले भनेकी छन्, ‘म लोभी कलाकार हुँ, सबैथरि भूमिकामा देखिन पाऊँजस्तो लाग्छ ।’ नाचगानले भरिपूर्ण फिल्ममा समेत देखिने रहर भएको थापाले बताइन् । ‘त्यस्ता फिल्म मनोरञ्जनात्मक हुन्छन्,’ उनको भनाइ, ‘एक पटक कोसिस गर्न मन लागेको छ ।’

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?