१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिलबोर्ड म्युजिक अवार्ड : एड सिरन अब्बल

काठमाडौँ — यस पालिको बिलबोर्ड म्युजिक अवार्डमा गायक एड सिरनले सर्वाधिक पाँच विधामा बाजी मारेका छन् ।

बिलबोर्ड म्युजिक अवार्ड : एड सिरन अब्बल

टप आर्टिस्ट अफ द इयरदेखि टप सङ सेल्स, टप रेडियो सङ आर्टिस्टसम्मका महत्त्वपूर्ण मानिने विधामा उनले ट्रफी जिते । बिलबोर्डलाई आधार मान्दा उनी यस वर्षको नम्बर वान गायक बन्न सफल भएका छन् । आइतबार अमेरिकामा सम्पन्न अवार्ड वितरण समारोहमा र्‍यापर केन्ड्रिक लमार एडपछिका ‘बिग विनर’ घोषित भए ।

एड र केन्ड्रिकसँगै गायक ब्रुनो मार्स सर्वाधिक १५ विधामा मनोनयमा परेका थिए । केन्ड्रिकले ‘हम्बल...’ गीतका लागि टप र्‍याप आर्टिस्ट, टप स्ट्रिमिङ सङ (अडियो) लगायत चार विधामा अवार्ड जिते । ब्रुनोले चाहिँ आर एन्ड बी विधाका सम्पूर्ण प्रमुख अवार्ड हात पारेका थिए । गत साल सबैभन्दा बढी ट्रफी जित्ने ब्रुनो यसपालि तेस्रो ठूलो विजेता बन्न पुगे ।

अधिकांश विधामा पुरुष आर्टिस्ट मनोनीत भएको भन्दै यसपालि बिलबोर्ड अवार्डको खिसी गरिएको थियो । मनोनयनमै पुरुष भएपछि तिनले नै ट्रफी जित्ने भए । कतिपय संगीत समीक्षकले अवार्डलाई पुरुषप्रधान भनेका छन् । यद्यपि, बिलबोर्डको इतिहासमा पहिलो पटक अफ्रिकी मूलकी अमेरिकी गायिका (ज्यानेट ज्याक्सन) लाई बीबीएमए आइकन अवार्ड प्रदान गरियो । समारोहमा पुरुषको वर्चस्व नदेखिओस् भनेर आयोजकले पर्याप्त महिला आर्टिस्टका प्रस्तुति राखेको थियो ।

केही समयको ग्यापपछि गायनमा फर्किएकी टेलर स्विफ्टले टप फिमेल आर्टिस्टको अवार्ड जितिन् भने कार्डी बीलाई टप फिमेल र्‍यापर घोषित गरियो । सिजाले टप आर एन्ड बी फिमेल आर्टिस्टको ट्रफी पाइरहँदा टप कन्ट्री फिमेल आर्टिस्ट विधामा म्यारेन मरिसको नाम उद्घोष गरियो । ‘हभाना...’ गायिका कमिला कबेलोलाई बिलबोर्ड चार्ट अचिभमेन्ट अवार्ड दिइयो । खालिदलाई उत्कृष्ट नवकलाकार मानिरहँदा ‘इम्याजिन ड्रयागन्स’ ब्यान्डले समूह गायन र रक आर्टिस्ट विधामा अवार्ड जितेको थियो ।

युटयुबमा भाइरल भएको ‘डिस्पासितो...’ गीतले लुइस फोन्सि, डयाडी यांकी र जस्टिन बिबरलाई बिलबोर्डको स्टेजमा निम्त्यायो । टप ल्याटिन सङसहित अन्य थुप्रै विधामा गीत अब्बल मानियो । विश्व संगीतको सबैभन्दा ठूलो अवार्ड समारोहमा कोरियन ब्वाई ब्यान्ड बीटीएसले ‘टप सोसियल आर्टिस्ट’ को ट्रफी जितेको थियो । बीटीएस बिलबोर्डमा प्रस्तुति दिने पहिलो के–पप ब्यान्ड पनि बन्न सफल भयो ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?