काठमाडौँ — केहीअघि मात्र सम्पन्न छैटौं एनएफडीसी अवार्डमा सर्वोत्कृष्ट अभिनेताको ट्रफी जितेका अनमोल केसीले फेरि पनि त्यस्तै सफलता चुमेका छन् । राष्ट्रिय सभागृहमा बिहीबार आयोजित छायाछवि दसौं डी सिने अवार्डमा उनलाई ‘कृ’ फिल्मको भूमिका लागि सर्वोत्कृष्ट घोषित गरियो ।
‘यो अवार्ड मेरा लागि अवार्ड मात्र होइन,’ अनमोलले ट्रफी चुम्दै भने, ‘फिल्म क्षेत्रप्रतिको जिम्मेवारी पनि हो । सबैलाई थ्यांक यु भन्न चाहन्छु ।’ अनमोलकै ‘कृ’ लाई उत्कृष्ट फिल्म मानियो । उत्कृष्ट एनिमेसनमा ग्लेज इन्टरटेन्मेन्ट र छायांकारमा पुरुषोत्तम प्रधानलाई ‘कृ’ ले नै सफलता दिलायो ।
समारोहमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ स्वरूप सम्मानपत्र र २५ हजार रुपैयाँ प्रदान गरियो । सात वर्षको उमेरदेखि कला यात्रा थालेकी भुसालले नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ हुँदै ‘हिजो आज भोलि’, ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवनरेखा’ लगायत सयौं फिल्ममा अभिनय गरेकी छन् ।
विसं. २०७४ को अन्ततिर प्रदर्शनमा आएको ‘लिलीबिली’ फिल्मका निर्देशक मिलन चाम्सको काम उत्कृष्ट मानियो, उनले निर्देशनतर्फको ट्रफी घर लगे । सबैभन्दा लोकप्रिय फिल्म चाहिँ ‘छक्का पञ्जा २’ मानिँदा ‘ब्लाइन्ड रक्स’ र ‘मंगलम्’ लाई क्रमश: क्रिटिक्स र जुरी अवार्ड प्रदान गरियो । पुष्पल खड्काले क्रिटिक्सका तर्फबाट उत्कृष्ट अभिनेताको ट्रफी पाए भने मोहन निरौला, राजेन्द्र उप्रेती, डब्बु क्षत्री, सन्तोष श्रेष्ठ र शबनम मुखियाको निर्णायक टोलीले ‘संरक्षण’ फिल्मका निर्देशक पूर्णेन्द्र झालाई इन्करेजमेन्ट अवार्ड दियो । पब्लिक च्वाइस अवार्डमा ‘शत्रु गते’ ले बहुमत ल्याएको बताइयो ।
सर्वोत्कृष्ट अभिनेत्रीमा ‘पञ्चायत’ बाट नीता ढुंगानालाई अब्बल मानिँदा नव–अभिनेतामा सलिनमान बानियाँ र अभिनेत्रीमा जसिता गुरुङ सर्वोत्कृष्ट घोषित भए । ‘ए मेरो हजुर २’ का लागि झरना थापालाई नवनिर्देशकका रूपमा स्याबासी दिइयो । उत्कृष्ट खलपात्रको नाम सुनाउनुअघि नै दर्शकहरू प्रशान्त ताम्राकार भन्दै चिच्याएका थिए । तिनको अनुमान सही निस्कियो । उत्कृष्ट कथा विधामा ‘भुइँमान्छे’ का लागि नवराज बुढाथोकी र पटकथामा प्रदीप भारद्वाजले ‘लिलीबिली’ बाट अवार्ड हात पारे । निर्देशक दीपेन्द्र लामालाई उनको डेब्यु फिल्म ‘घामपानी’ ले उत्कृष्ट संवाद विधामा ट्रफी दिलायो भने यही फिल्मबाट पुष्कर गुरुङ उत्कृष्ट चरित्र अभिनेता घोषित भए । चरित्र अभिनेत्रीको विधामा मिथिला शर्माको नाम आयो ।
‘छक्का पञ्जा २’ की वर्षा राउत र ‘ए मेरो हजुर २’ का सलोन बस्नेत सहायक भूमिकामा अब्बल ठहरिए । फिल्म सम्पादक मित्रदेव गुरुङले ‘मंगलम्’ मा गरेको कामको सराहना भइरहँदा ‘रुद्र’ बाट हिमाल केसी उत्कृष्ट द्वन्द्व निर्देशक चुनिए । बालकलाकार कुशाग्र भट्टराईलाई ‘पिँजडा ब्याक अगेन’ फाप्यो । केदार घिमिरे ‘माग्नेबूढा’ ले उत्कृष्ट हास्यकलाकार विधामा बाँकी चारलाई निराश पारे ।
‘लिलीबिली’ को पाश्र्व संगीत उत्कृष्ट मानिएपछि एलिश कार्कीको भागमा ट्रफी आइपुग्यो । सुनयमान श्रेष्ठलाई ‘संरक्षण’ बाट उत्कृष्ट ध्वनि मिश्रण विधामा अवार्ड दिइरहँदा यही फिल्मको ‘सम्झनाको सारंगी...’ गीतका लागि धीरेन्द्र प्रेमर्षिलाई उत्कृष्ट गीतकार घोषित गरियो । उत्कृष्ट गायकमा सुगम पोखरेल र गायिकामा बिन्दु परियारको नाम आयो । संगीतकारमा ‘कुटुमा कुटु...’ गीतका लागि राजनराज शिवकोटी उत्कृष्ट मानिएपछि यही गीतमा नृत्य निर्देशन गरेका कविराज गहतराजले पनि ट्रफी हात पारे ।
समारोहमा अभिनेत्री मौसमी मल्ल र फिल्मकर्मी नरेन्द्र महर्जनलाई चलचित्र रजत सम्मान प्रदान गरियो । सञ्चारकर्मी श्याम अर्यालले चलचित्र पत्रकारिता पुरस्कारस्वरूप १० हजार रुपैयाँ पाए ।
प्रकाशित : जेष्ठ ११, २०७५ ०९:२२