१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

“फिल्ममा पनि सिन्डिकेट छ”

‘गाजाबाजा’ फिल्मका निर्देशक भन्छन्— कामै गर्न नसक्ने जस्तो भइसकेको थिएँ म । ‘गाँजा’ शब्दले गलत सन्देश प्रवाह गर्छ भनेर चलचित्र विकास बोर्डले फिल्मको नामै दर्ता गर्न मानेन । त्यसपछि हामी अदालत गयौं, त्यहाँ पनि वर्षौं झुलाए ।

काठमाडौँ — पछिल्लो समय सिन्डिकेटको कुरा धेरै उठिरहेको छ । यातायातमा झैं सरकारले हरेक क्षेत्रको सिन्डिकेट तोडिछाड्ने दाबी पनि गरेको छ । यस्तोमा गीतसंगीत र फिल्ममा पनि सिन्डिकेट व्याप्त रहेको भन्दै कलाकर्मीले यतातिर पनि ध्यान दिन आग्रह गरेका छन् ।

“फिल्ममा पनि सिन्डिकेट छ”

‘नयाँ मान्छे फिल्म क्षेत्रमा नआओस् भन्ठान्छन्,’ निर्माता दीपेन्द्र रेग्मी भन्छन्, ‘पुरानोकै दासत्व चलिरहोस् भनेर नयाँलाई निरुत्साहित पार्ने काम हुन्छ ।’ दीपेन्द्रले आफ्नो पछिल्लो फिल्म ‘गाजाबाजा’ को प्रसंगमा यस्तो बताएका थिए ।


नामकै कारण सुरुमा फिल्म खिच्ने अनुमतिसमेत नपाएको र पछि धेरै ठाउँमा सेन्सर गर्दै एडल्ट सर्टिफिकेट दिएर पनि प्रदर्शनका बेला ‘गेम’ खेलिएको ‘गाजाबाजा’ निर्देशक गणेशदेव पाण्डेको भनाइ छ । ‘कामै गर्न नसक्ने जस्तो भइसकेको थिएँ म,’ उनले भने, ‘गाँजा शब्दले गलत सन्देश प्रवाह गर्छ भनेर चलचित्र विकास बोर्डले फिल्मको नामै दर्ता गर्न मानेन । त्यसपछि हामी अदालत गयौं, त्यहाँ पनि वर्षौं झुलाए ।’


चलचित्र विकास बोर्डका पदाधिकारीहरू मानसिक रूपमा भ्रष्ट रहेको निर्देशक पाण्डेले बताए । तिनले फिल्म नै नहेरी निर्माण रोक्न खोज्नेदेखि सेन्सर गर्नुको कारण सोध्दा ‘फिल्म मन परेन’ भन्ने प्रतिक्रिया दिएको निर्माता रेग्मीको भनाइ छ । ‘फिल्ममा त सेन्सरसिप छँदै छ, निर्माणमै पनि सेन्सरसिपसमेत गर्न खोजिन्छ,’ रेग्मीले भने, ‘नयाँ मान्छेलाई रोक्न खोज्नु सेन्सरसिप हो ।’ निर्देशकको अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको देखेपछि आफूले साथ दिनु आवश्यक ठानेर निर्माताका रूपमा जोडिएको रेग्मीले बताए ।


अनेक लफडा झेलेपछि अन्तत: गएको फागुनमा फिल्म प्रदर्शन भएको थियो । प्रदर्शनका बेला वितरकले डकुमेन्ट हस्ताक्षर गरेपछि पनि यसबाट हात झिकेको गणेशले बताए । ‘तत्कालीन सञ्चारमन्त्री सुरेन्द्र कार्कीदेखि अन्य धेरैलाई भेटयौं,’ उनले भने, ‘‘हामीसँग भेटा सबैले ‘गलत भएछ’ भन्नुहुन्थ्यो । तर, पछि उहाँहरूकै ब्रेनवास गरिदिन्थे ।’ सर्वथा गलत नियतले फिल्ममाथि हस्तक्षेप गरिएको उनको बुझाइ छ । यही फिल्म बिहीबार मार्टिन चौतारीमा ‘फिक्सन फिल्म शृंखला’ मा प्रदर्शन गरिएको थियो ।


एक हप्तामै स्क्रिप्ट लेखेर महिना दिनमा फिल्म खिचिभ्याएको निर्माण टोलीले अवगत गरायो । फिल्म गुरिल्ला शैलीमा खिचिएको र यसमा मेकअप र कृत्रिम प्रकाश प्रयोग नगरिएको गणेशले बताए । ‘फिल्म खिच्दै छौं भन्ने कुरा हामीले सर्वसाधारण थाहा दिएनौं,’ उनले भने, ‘चक्कु देखाएको सिनहरू खिच्दा पब्लिकले पुलिस बोलाएछन् । तिनले फिल्म खिच्ने अनुमतिपत्र मागे । नामै दर्ता नभइरहेका बेला हामीसँग अनुमति पत्र थिएन । अर्को दु:ख झेल्नुपर्‍यो ।’


फिल्म गरिरहँदा नेपालको कर्मचारीतन्त्र र समग्र व्यवस्थापनकै चरित्र बुझ्न पाएको उनले बताए । फिक्सन शृंखलामा फिल्म प्रदर्शनपश्चात् गणेश र दीपेन्द्रसँगै कलाकार अनुपम शर्मा र अर्की निर्माता गोमा विष्टले दर्शकसँग भलाकुसारी गरेका थिए । ‘यो फिल्मले के प्रतिनिधित्व गर्न खोजेको हो ?’ दर्शकको यो जिज्ञासामा गणेशले भने, ‘त्यस्तो भयानक केही गरेको छु भन्दिनँ । तर, एउटा प्रयोग हो मेरो ।’ विषयगत अध्ययन अलि कम भएको हो कि भन्ने आशयको प्रतिक्रियालाई भने उनले अन्यथा लिएनन् ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?