आलिया–रणवीर निकटता

कान्तिपुर संवाददाता

काठमाडौँ — रणवीर कपुर सिद्धहस्त अभिनेता हुन् भन्नेमा अब शंका छैन । तर अझै पनि उनी सफल अभिनेता हुन् भन्नेमा शंका छ । जति नै मिहिनेत गरेका भएपनि ‘बम्बे भेल्भेट’, ‘जग्गा जासूस’ जस्ता पछिल्ला फिल्मले रणवीरलाई बक्सअफिस सफलता चखाउन सकेनन् ।

‘म अचेल केही वर्षअघि जस्तो सफल छैन । कहिलेकाहीं तपाईंले राम्रै काम गरेपछि भाग्य चम्किन्छ भन्ने आशा राख्नुहुन्छ, तर सधैं त्यो नहुँदो रहेछ,’ दश वर्षभित्र १४ फिल्म दिएका रणवीरले एउटा अन्तर्वार्तामा भनेका छन् ।

रणवीरको करिअरको गति सुस्ताएपछि उनका समकालीन अभिनेताले यति बेला उनलाई धेरै पछि छोडिसकेका छन् । त्यसैले पनि बीचमा रणवीर सोसियल मिडियाबाट पुरै बेखबर बनेर काममा दत्तचित्त भई लागे ।

‘अहिले भने म सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सन्जु’ मा गरेको कामबाट खुब उत्साहित छु,’ दत्तको भुमिकामा विभिन्न गेटअप र हाउभाउमा आफुलाई प्रमाणित गरेका रणवीरले थपे, ‘राजकुमार हिरानीसँग काम गर्न पाउनु र त्यो रोल मेरा लागि अति नै ठूलो मौका थियो । म जे काम गर्छु त्यसले मेरो जीवनमा हिस्सा बनाएको हुन्छ । म मेरा चरित्रलाई घरसम्म ल्याउँछु र त्यसलाई काँटछाँट गर्ने गर्छु ।’

उनले आफु विषयबस्तुका कारणले नभई भोकका कारण फिल्म रोज्ने खुलासा गर्दै भने, ‘र, म एउटा फिल्मबाट अर्को फिल्ममा आबद्ध हुँदा मैले जे जानेको छु त्यो चटक्कै बिर्सेर फेरि सुरुदेखि लाग्छु ।’


आफुलाई अन्तर्मुखी बताउने रणवीरले सुनाए, ‘त्यसैले पनि मेरी आमा छोरो अभिनेता कसरी होला भनेर अचम्म मान्नुहुन्थ्यो । म कम बोल्छु र कन्फिडेन्स लेभल पनि कम छ । व्यक्तिगत रुपमा अति लजालु ।’


तिनै लजालु रणवीर यति बेला भने आफ्नो पछिल्लो लभ रिलेसनका मामिलामा भने खुलस्त हुन चाहेका छन् । केही वर्षअघिको दीपिका पादुकोणसँगको ब्रेकअपपछि कट्रिना कैफसँग उतारचढावपूर्ण प्रेम सम्बन्धमा रहँदै आएका रणवीर अहिले भने नायिका आलिया भट्टसँगको रिलेशनसिप स्टेटमेन्टले हट केक बनेका छन् ।

आलियासँगको डेटका बारेमा रणवीरले गसिप गर्न नचाहेको टिप्पणी गर्दै भने, ‘यो सम्बन्धले अझै सास फेर्ने समय मागिरहेको छ । केही भूमिका खोजिरहेको छ । कलाकारका रूपमा पनि र व्यक्तिगत रूपमा पनि आलियाबाट म अत्यन्तै प्रभावित छु । यति नै बेला हामी दुवैका लागि पनि यो नौलो चीज नै लागिरहेको छ । केही समय यसलाई अझ परिपक्व हुन दिनुस् ।’

उनले नयाँ साथीको आगमनले मुटु पनि नयाँ गतिमा धड्किने उल्लेख गर्दै भने, ‘प्रेमका पुराना तरिकाहरू फेरि नयाँ बनेर आउने रहेछन् । फेरि रोमान्टिक भइँदो रहेछ । तर मलाई लाग्छ, आज म धेरै सन्तुलनमा छु ।

म आफ्नो रिलेसनसिपलाई अझ बढी महत्त्व दिने भएको छु । धोकालाई पनि म सम्मान गर्छु जसले व्यक्तिलाई अझ परिपक्व बनाउन सघाउने रहेछ । केही वर्षदेखि मैले त्यही अनुभव गरिरहेको छु ।’

प्रकाशित : जेष्ठ २१, २०७५ ०९:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

द्वन्द्व बिर्साउन रोल्पा साहित्य सम्मेलन

काशीराम डाँगी

रोल्पा — विगतको सशस्त्र द्वन्द्व बिर्साउन र पर्यटकीय विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले आइतबारदेखि लिबाङमा बृहत् साहित्य सम्मेलन सुरु भएको छ । रोल्पा नगरपालिकाद्वारा आयोजित सम्मेलनको उद्घाटन ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले गरे ।

‘विगत भुलेर शान्तितिर’ लाग्ने अपेक्षासहित सम्मेलन गरिएको रोल्पा नगरपालिका मेयर पूर्ण केसीले बताए । उनले शान्ति स्थापनालाई संस्थागत सहयोग पुर्‍याउन साहित्य सम्मेलन आयोजना गर्ने निर्णय गरिएको बताए ।

ऊर्जामन्त्री पुनले विगत भुलेर शान्ति स्थापना गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । ‘अब विगत भुलौं र शान्ति प्रक्रियालाई उपलब्धिमूलक बनाउन योगदान गरौं,’ माओवादी सशस्त्र द्वन्द्वका एक लडाकु कमान्डरसमेत रहेका मन्त्री पुनले भने, ‘अब रोल्पाबाटै शान्ति र प्रगतिको सन्देश फैलाउनु छ । यसमा सबैको सिर्जनात्मक कार्यको खाँचो छ ।’

मन्त्री पुनले आफूहरूको नेतृत्वमा रोल्पाबाटै २०५२ फागुन १ देखि सुरु भई करिब दस वर्षसम्म चलेको माओवादी सशस्त्र विद्रोहका कारण शान्ति र प्रगति प्राप्त भएको दाबी गरे ।


मुलुकभरिका साहित्यकार रोल्पामा तीनदिने बृहत् साहित्य सम्मेलनका अवसरमा रोल्पामा राष्ट्रिय कविता प्रतियोगिता गरिएको छ । उक्त प्रतियोगितामा भाग लिन मुलुकभरिका साहित्यकार रोल्पामा भेला भएका छन् ।


सम्मेलन मूल आयोजक समितिका अध्यक्ष डीबी टुहुरेका अनुसार मुलुकभरिका १ सय ५० प्रतियोगीबाट छनोट गरिएका १५ कविले रचना वाचन गर्नेछन् । पाहुनाहरूलाई गुरुङगाउँ, माडीचौर र सातदोबाटोमा पुर्‍याएर रचना सुनाउने अवसर मिलाइएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७५ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT