हामी एक हौं...

ललितपुर — एकताको कुरा अचेल धेरै सुनिन्छ । दुई ठूला कम्युनिस्ट पार्टी एक भएर देशको काँचुली फेर्ने आह्वान गरिरहेका छन् । वाम एकताको तरंग आउनुभन्दा महिनौंअघि रक संगीत क्षेत्रमा एकताले मूर्त रूप पायो ।

हामी एक हौं...

नेपालका झन्डै एक दर्जन रक स्टार ‘प्रोजेक्ट वान’ ब्यान्डमा जुटेका थिए । अहिले सोही ब्यान्ड कन्सर्ट गर्दै हिँडिरहेको छ ।


ब्यान्डले शनिबार ललितपुरको जाउलाखेल ग्राउन्डमा प्रस्तुति दियो । साँझ ६ बजेबाट सुरु भएको ‘अर्ना प्रोजेक्ट वान लाइभ इन कन्सर्ट’ मा ब्यान्डका मौलिक गीतसँगै भोकलिस्टहरूले आ–आफ्ना चर्चित गीतसमेत सुनाउन भ्याए । कम्तीमा बीस गीत प्रस्तुत गर्ने योजना रहे पनि प्रहरीको दबाबमा कन्सर्ट छोट्याउनुपरेको भोकलिस्टमध्येका एक निरन शाहीले बताए ।


‘पुलिसले रोकिदियो,’ उनले भने, ‘अबेरसम्म गर्न नमिल्ने बताइयो । एकै चोटि अन्तिमतिरका गायौं ।’ कन्सर्ट छोटो हुन गएकोमा अलि खल्लो महसुस भएको उनले बताए ।


कन्सर्टमा ‘खेल, खेल...’, ‘म नेपाली...’, ‘बर्न...’, ‘हामी एक हौं...’ जस्ता ब्यान्डका नयाँ गीतमा दर्शकश्रोता झुमे । निरनले आफू संलग्न ‘अनुप्रस्थ’ ब्यान्डको ‘दिन यस्तो पनि थियो...’, ‘ह्वाट टु डु काठमाडौं...’ लगायत गीत प्रस्तुत गरे । तीमध्ये केहीमा उनलाई ‘द स्याडोज नेपाल’ ब्यान्डका गायक स्वप्नील शर्माले साथ दिएका थिए ।


स्वप्नीलले द स्याडोज नेपालको गीत ‘म हुँ प्रकृति...’ सुनाउँदा त्यसमा रवीन तामाङ र निरनको पनि स्वर सुनियो । रवीनको गीतमा मुक्ति र स्वप्नीलहरूले आवाज सेयर गरे । यीमध्ये कतिपय गीतको रि–अरेन्ज्ड भर्सन कार्यक्रममा प्रस्तुत गरिएको थियो ।


‘यस्तो पहिलोपल्ट भयो,’ गायक स्वप्नीलले भने, ‘हामीले एकअर्काको गीत मिक्स्ड गरेर गाउन पायौं । यो खालको सहकार्य हुनु आवश्यक छ ।’ रकभित्रका विभिन्न विधाका संगीतकर्मी एक भएर प्रस्तुत हुँदा धेरैले राम्रो मानेको उनको अनुभव छ ।


गितारिस्ट हरि महर्जनले पनि प्रोजेक्ट वानमा आबद्ध हुँदा रमाइलो अनुभव भइरहेको बताए । ‘हामी पहिले–पहिले यत्तिकै ज्याम अप गथ्र्यौं,’ उनले भने, ‘यसरी औपचारिक रूपमा एकजुट हुँदा झनै इन्ट्रेस्टिङ हुँदोरहेछ ।’ यसअघि बुटवल, चितवन, धरान, बनेपा, झापालगायत सहरमा समूहले कन्सर्ट गरेको थियो ।

हरिले भने छोटै भए पनि काठमाडौंको कन्सर्ट भव्य भएको अनुभव गरेछन् ।


प्राविधिक रूपमा स्तरीय कन्सर्टमा आफूहरूले चाहेजस्तै प्रस्तुति दिन पाएको बताए । साँझ ६ बजे सुरु भएको कन्सर्ट डेढ घण्टामै सकिएको थियो । मुक्ति, रवीन, स्वप्नील र निरनको गायनलाई हरि महर्जन र शरद श्रेष्ठले गितार, रोशन कंसाकारले बेस अनि निखिल तुलाधरले ड्रम्समा साथ दिएका थिए ।


‘प्रोजेक्ट वान’ स्थापना गर्ने ब्यान्डवागन बाइ पोजेटिभ भाइब्सले नै कन्सर्ट आयोजना गरेको थियो । कन्सर्टको अन्त्यमा समूहले ‘हामी फेरि उठ्ने छौं...’ सुनाएको थियो । यही गीतको थिममा पछिल्ला केही वर्षदेखि कन्सर्ट भइरहेको छ । ‘एक न एक दिन हामी अवश्य उठ्नेछौं,’ मुक्तिले अन्त्यमा यस्तो भनिरहँदा रवीनले थपे, ‘आजलाई धन्यवाद, सुरक्षित रहनुहोला ।’ ।

प्रकाशित : जेष्ठ २१, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?