३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जाजरकोट दरबारमा मालिका

भीमबहादुर सिंह

जाजरकोट — गत सातादेखि जाजरकोट दरबार परिसरमा ‘मालिका’ को छायांकन भइरहेको छ । ‘छोरीका लागि स्वर्णिम महाअभियान’ अन्तर्गत अभिनेत्री रेखा थापाले बनाएको उक्त फिल्ममा नारी उत्पीडनका कथावस्तुु समेटिएको छ ।

जाजरकोट दरबारमा मालिका

स्थानीय भेषभूषा र संस्कृति झल्किने दृश्यसहित २ सय ६८ वर्ष पुरानो जाजरकोट दरबारको प्रांगणमा ‘मालिका’ को छायांकन भएको छ । जाजरकोट र गोरखा राज्यको सम्बन्ध तथा नेपाल एकीकरणको सन्दर्भ झल्काउने उद्देश्यले ऐतिहासिक जाजरकोट दरबारमा मालिकाको छायांकन गरेको रहेकी रेखाले बताइन् । जाजरकोटकै १५ वर्षीया कमला वलीलाई रेखाले फिल्मको मुख्य पात्र बनाएकी छन् । ग्रामीण परिवेशकी किशोरीको कथा जीवन्त बनाउन कमलालाई मुख्य पात्र छनोट गरिएको अभिनेत्री रेखाले बताइन् । उक्त फिल्ममा रेखाले स्वयं पनि अभिनय गरेकी छन् ।

जीवन रूपान्तरण तथा सकारात्मक सोचका विश्व प्रशिक्षक नरबहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषयवस्तु महिला हिंसा र बालविवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ । फिल्ममा सबै नेपाली र भूगोललाई जोड्ने खालका गीत र दृश्य समेटिएको कार्कीले बताए ।

सामाजिक चेतना र छोरीका लागि स्वर्णिम नेपालको राष्ट्रिय संकल्प बोकेको ‘मालिका’ फिल्मले हिमाल, पहाड र तराईका नागरिकलाई एकताको सूत्रमा बाँध्न सहयोग पुर्‍याउने भावका गीत समेटेको छ । फिल्मका अन्य दृश्य जाजरकोटकै दल्ली, नेपालगन्ज र काठमाडौंमा छायांकन गरिने रेखाले बताइन् ।

जाजरकोटमा पहिलो पटक ठूलो पर्दाको फिल्म छायांकन भएको हो । जाजरकोटकै कलाकार, जाजरकोटकै विषयवस्तु र जाजरकोटमै छायांकन भइरहेको ‘मालिका’ व्यावसायिक मात्र नभई सामाजिक जागरणमा केन्द्रित रहेको रेखाले बताइन् ।

यस फिल्मको छायांकनले जाजरकोट दरबारको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने भएको छ ।

फिल्म छायांकनका लागि जाजरकोटका सबै ठाउँ निकै सुन्दर भएको रेखाले बताइन् ।

‘जाजरकोटको ऐतिहासिक चिनारी बोकेको जाजरकोट दरबारलाई दुनियाँसामु चिनाउनु फिल्मको अर्को उद्देश्य छ,’ उनले भनिन् ।

पहिलो पटक ‘ननएक्टर’ किशोरीलाई फिल्मको मुख्य पात्र बनाएर फिल्म छायांकन गरिएको कार्कीले बताए । फिल्मको मुख्य भूमिकामा रहेकी कमलाको अभिनय महिला हिंसा र बालविवाहविरुद्ध हुने उनले बताए ।

प्रकाशित : जेष्ठ २४, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?