३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘मैंरिमो नयाँ प्रयोग’

आश गुरुङ

लमजुङ — गुरुङ फिल्म ‘मैंरिमो’ (सम्झिरहेछु) हेरेका धेरैका आँखा रसाइरहेका देखिए । बेंसीसहरस्थित अन्नपूर्ण चलचित्र मन्दिरमा शनिबार दुई सो भएको थियो ।

‘मैंरिमो नयाँ प्रयोग’

बेंसीसहरकी लक्ष्मी गुरुङले फिल्म हेर्दा दाजुलाई सम्झेको बताइन् । परदेशमा पैसा कमाउँछु भनी गएका उनका दाजु जिउँदो नफर्केको सुनाउँदै उनले थपिन्, ‘मान्छे नै नफर्केपछि पैसाको कुनै मतलव हुँदैन । फिल्ममा त्यही देखियो, मनमा साह्रै बिझ्यो ।’

फिल्म प्रदर्शनका लागि पोखराबाट आएका नायक/सहनिर्देशक गमन घलेले उक्त फिल्म दर्शकले औधी रुचाएको दाबी गरे । ‘हाम्रो जनजीवन र वर्तमान समयसापेक्ष फिल्म बन्यो,’ उनले भने, ‘यो
गुरुङ फिल्मको इतिहासमा नयाँ प्रयोग थियो ।’

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले ‘मैंरिमो’ ले नेपाली समाजको यथार्थलाई चित्रण गरेको बताए । ‘विदेशिनु हाम्रो बाध्यता हो । अहिले गाउँका स्कुलमा विद्यार्थी छैनन् । अब युवालाई वैदेशिक रोजगारीमा जान नदिने वा गएकालाई गाउँ फर्काउने योजना बनाउनुपर्छ । अनि मात्रै गाउँघरमा विद्यार्थी टिक्छन्,’ उनले भने ।

गुरुङ फिल्मकर्मी शंकर गुरुङ ‘बतासे’ ले समाज र समुदायलाई झकझक्याउन गुरुङ फिल्मको धेरै हात रहेको बताए । ‘हामीले फिल्ममा समाजको यथार्थ चित्रण गर्दै आएका छौं,’ उनले भने । निर्माणाधीन गुरुङ फिल्म ‘मेदों’ (सिट्ठा) की नायिका योगिता गुरुङले ‘मैंरिमो’ मन छुने बनेको प्रतिक्रिया दिइन् ।

पोखरामा लगातार एक साता प्रदर्शन भएको ‘मैंरिमो’ ले बेंसीसहरमा एकै दिन करिब ६ सय दर्शक बटुलेको फिल्म प्रदर्शनका संयोजक खुसी गुरुङले बताइन् । गाउँका युवा विदेशिनु, सामुदायिक स्कुलमा विद्यार्थी अभाव हुनु, धनीवर्गका मानिस सहरमा बसाइँ सर्नु लगायतका विषयवस्तुले दर्शकलाई छोएको बेंसीसहरका बालाकृष्ण घलेले बताए ।

भोजबहादुर गुरुङ निर्देशित फिल्ममा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, इन्द्रसुबा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङको अभिनय देख्न सकिन्छ ।

प्रकाशित : जेष्ठ २८, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?