२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

विश्वकप फुटबल: कलाकार चासो

होस्टलमा बसेर पढदा लहैलहैमा अर्जेन्टिना रोज्ने टिममा परेकी थिएँ । त्यही दिनदेखि अर्जेन्टिनाको पक्षमा छु । टिम चेन्ज गर्न मन लागेकै छैन ।केकी अधिकारीअभिनेत्री

काठमाडौँ — विश्वकप फुटबल सुरु हुन केही दिनअघि नै अभिनेत्री केकी अधिकारीले फेसबुकको प्रोफाइल पिक्चर अपडेट गरिन् । तस्बिरमा अर्जेन्टिनाको जर्सी लगाएकी उनले विश्वकपको ट्रफी चुम्दै पोज दिएकी छन् ।

विश्वकप फुटबल: कलाकार चासो

उनको प्रोफाइल पिक्चरमा अर्जेन्टिनाकै समर्थन जनाउनेहरूले तस्बिरसहितका कमेन्टहरू छोडेका छन् । त्यसमा लाइक र कमेन्ट गर्ने क्रम जारी नै छ ।

केकीले चाहिँ किन अर्जेन्टिना नै रोजिन् ? उनले भनिन्, ‘यसबारे मेरो रोचक संस्मरण छ ।’ सम्झना स्कुले जीवनको हो । ‘होस्टलमा बसेर पढदाको समय वल्र्डकप भिन्नै पर्वजस्तै मनाउँथ्यौं,’ उनले भनिन्, ‘कोको कुनकुन टिममा बस्ने भन्ने चलन थियो । मलाई केही थाहा थिएन । लहैलहैमा अर्जेन्टिनाको टिममा बस्न पुगें ।’ त्यही दिनदेखि उनी अर्जेन्टिनाको पक्षमा उभिइन्, त्यो अहिलेसम्म जारी छ । ‘अर्को टिम चेन्ज गर्न मन लागेकै छैन,’ उनले भनिन् ।

फुटबल उनलाई रमाइलो खेल लाग्छ । घरमै आफन्तहरूसँग विश्वकप हेर्नुको मजै बेग्लै हुने उनको अनुभव छ । तर, यो पटकको विश्वकपका अन्तिम दिनहरूमा भने उनी अस्ट्रेलियामा हुनेछिन् । फिल्म प्रदर्शनका लागि अस्ट्रेलिया जाने तयारीमा रहेकी उनले उतैबाट परिवारसँग बसेर विश्वकप फुटबल हेरेको क्षण मिस गर्नेछिन् ।

हास्य अभिनेता केदार घिमिरे (माग्नेबूढा) लाई पनि ‘वल्र्डकप फिभर’ ले छोएको छ । यसलाई दर्साउन उनले केही समयपहिले नेताहरूसँग खेलेको फुटबलको तस्बिर अपलोड गरे । लेखेका छन्, “यो चोटिको वल्र्डकप कसले जित्ला ?’ भनेर सोधेरै हैरान पार्‍या छन् । मैले यही टिमले जित्छ भन्दया छु ।”

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता विष्णु पौडेल, वर्षमान पुन लगायतसँग उनी फुटबल जर्सीसहित उभिएका छन् । ‘सबैले तस्बिर राख्ने होडबाजी गर्न थाले,’ केदारले भने, ‘सामाजिक सञ्जालमा तस्बिर राखेर कुन देशले जित्छ भन्दै तर्क–वितर्क गर्नुभन्दा आफ्नै मुलुकभित्र खेलेको ऐतिहासिक फुटबलको तस्बिर राखें । हल्का रमाइलो नि !’

खासमा भन्ने हो भने उनले फुटबलको नियम राम्रोसँग बुझेकै छैनन रे । ‘गोल हानेको र कति हानेको त्यति मात्रै थाहा पाउँछु,’ उनले भने, ‘अरू नियम खासै थाहा छैन, तर हेर्न रमाइलै लाग्छ ।’

उता अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले जर्सी लगाएको तस्बिरमाथि ट्रोल नै बनेको छ । दीपकले अर्जेन्टिनाको र दीपाले ब्राजिलको जर्सी लगाएको तस्बिर ट्रोलमा हेर्न सकिन्छ । दीपकले ‘म पनि मिस गर्छु’ भन्दै विश्वकप फुटबलप्रति चासो देखाएका छन् ।

प्रकाशित : असार १, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?