१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वर्ल्डकप गान

काठमाडौँ — फुटबल विश्वकप आयोजक फिफाले यसपालि तीनवटा गीत थिम सङ (एन्थम)का रुपमा छानेको छ । ‘लिभ इट अप...’, ‘कलर्स...’ र ‘पोजेटिभो...’ बोलका गीतमार्फत खेलाडीको मनोबल उकास्नुका साथै विश्वकपको रौनक बढाउन खोजिएको छ ।

वर्ल्डकप गान

फिफाले सन् १९६२ देखि प्रचारप्रचासारका लागि पनि थिम सङ प्रयोग गर्दै आएको छ । अहिलेसम्मका बेस्ट वर्ल्डकप सङ कुनकुन होलान् ?

लिभ इट अप...
तीन देशका कलाकार मिलेर गाएको गीत हो यो । पुर्टो रिकोका निकी ज्याम, अमेरिकाका विल स्मिथ र कोसोभोकी इरा इस्ट्ेरफीको स्वर यसमा समाविष्ट छ । हाल जारी फिफा विश्वकपका तीन थिम सङमध्ये एक हो, जुन समापन समारोहमा प्रस्तुत गरिनेछ । जमाइकाको स्का वा रेगी बिटमा तयार पारिएको गीतमा एकबारको जिन्दगी निस्फिक्री बाँचौँ भन्ने भाव समेटेको छ ।

वाका वाका...
कोलम्बियन गायिका साकिरालाई वल्र्डकपकी क्विन भन्ने गरिएको छ । उनले सन् २०१० मा गाएको यो गीत अहिलेसम्मकै सर्वाधिक चर्चित थिम सङ मानिन्छ । यसमा गायिकालाई अफ्रिकी ब्यान्ड ‘फ्रेस्लिग्राउन्ड’ ले सघाएको थियो । आठ वर्षभित्र यसको युटयुब भ्युज २ खर्ब पुग्न लागेको छ । रोचक कुराचाहिँ यो अझै पनि दिनको १० लाखपटक हेरिने तथ्यांक छ ।


द कप अफ लाइफ...
सन् १९९८ मा फ्रान्समा आयोजित फिफा वल्र्डकप समारोहमा रिकी मार्टिनले यो गीत गाएका थिए । त्यसको वर्ष दिनपछि ग्रामी अवार्डमा पनि सुनाए जुन ऐतिहासिक बन्न पुग्यो । त्यो बेला विश्वभर लोकप्रिय बनेको गीतले ल्याटिन विधा माथि उकास्न खुब सघायो । यसको ‘आले, आले आले...’ कोरस श्रोताको मुखमुखमा झुन्डिन सफल भएको थियो । यसमा डेस्मन्ड चायल्ड र रवि रोजाका शब्द छन् ।

वेभिङ फ्ल्याग...
सोमाली नागरिकको स्वतन्त्रताका लागि गाइएको यो गीत पछि विश्वकप फुटबलको एन्थम सङ बनाइयो । यसका लागि सोमाली मूलका क्यानडियन गायक केनानले नयाँ भर्सन तयार पारेका थिए । यसमा रेगी र पश्चिमा बिटको फयुजन गराइएको छ । सन् २०१० मा हाइटीमा महाभूकम्प गएका बेला त्यहाँका स्थानीय कलाकारले यही गीत गाएर राहत र चन्दा संकलन गरेका थिए ।


वि आर द च्याम्पियन्स...
विश्वकपकै लागि भनेर तयार पारिएको यो गीत बेलायती रक ब्यान्ड ‘क्विन’ ले प्रस्तुत गरेको थियो । ब्यान्डकै लिड भोकलिस्ट फ्रेडी मर्करीले शब्द रचेका थिए । फुटबल मात्र नभएर एकताका जुनसुकै खेल समारोहमा यो गीत घन्काउने गरिन्थ्यो । रक विधाको गीतलाई क्विनका क्लासिक सङमध्ये एक मानिन्छ । सन् १९९४ मा बनेको गीत सन् २००९ मा ग्रामी हल अफ फेममा समावेश गरिएको थियो ।

डेयर (ला ला ला...)
‘हिप्स डन्ट लाई...’ र ‘वाका वाका...’ पछि साकिराको ‘ला ला ला...’ विश्वकपको थिम सङ बन्न पुग्यो । ‘वाका वाका...’ बाहेकका गीत उनले आफ्नो व्यक्तिगत एल्बमका लागि तयार पारेकी थिइन् । डान्स–पप विधाको ‘ला ला ला...’ लाई ड्रमको ढङढङमार्फत् ऊर्जाशील बनाउन खोजिएको छ । भिडियोमा साकिराका ब्वाइफ्रेन्डसमेत रहेका स्पेनी खेलाडी जेरार्ड पिकेदेखि लियोनल मेसी, नेयमार, जेम्स रोड्रिगेजजस्ता फुटबलर देखिन्छन् ।


एल रक डेल मुन्डियल...
सन् १९३० बाट सुरु भएको फिफा विश्वकपको ३२ वर्ष बितेपछि मात्र यस्ता एन्थम सङ प्रचलनमा आएका हुन् । सन् १९६२ मा चिलीको ब्यान्ड ‘लस राम्ब्लर्स’ ले गाएको यो गीत नै विश्वकपको पहिलो थिम सङ हो । रक एन्ड रोल शैलीको गीतलाई सन् २०१४ मा बिलबोर्डले ‘बेस्ट सकर सङ्स’ को सूचीमा राखेपछि ब्यान्डले एकपटक फेरी म्युजिकल टुर सुरु गरेको थियो । तीन महिनाअघि मात्र ब्यान्डका दुई सदस्यको कार दुर्घटनामा मृत्यु भएको थियो ।

स्रोत : बिलबोर्ड

प्रकाशित : असार ३, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?