२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘भाग्यले बाँचेकाहरु’ले रुवाए दर्शक

आश गुरुङ

यूएई — चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले यूएईमा नेपालीको मन जितेको छ । २०७२ को भूकम्पमा परेर मुस्किलले ज्यान बचाएकाहरुमा केन्द्रित उक्त वृत्तचित्र आबुधाबी, शारजाह र दुबईमा प्रदर्शन गरिएको हो ।

‘भाग्यले बाँचेकाहरु’ले रुवाए दर्शक

प्रदर्शनी यात्राको सुरुआत शुक्रबारदेखि आबुधाबीको मजदुर क्याम्प नजिक मुसाफाको अलअहलिया अस्पतालको सभाहलबाट गरिएको थियो । कार्यक्रमलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोनमार्फत सम्बोधन गरे । लमजुङ समाज यूएईको स्थानीय आयोजना, तमू प्ये ल्हु संघ यूएई शाखा लगायतको सहयोगमा भएको प्रदर्शनमा वृत्तचित्र हेर्ने अधिकांश नेपाली भक्कानिएको समाजका अध्यक्ष महेश पराजुलीले बताए ।


‘आफ्नो गाउँ दुखेको कथा जस्ताको त्यस्तै देख्न पर्दा आँसु थाम्नै सकिएन’ सोलुखुम्बुकी सञ्जिता गुरुङले भनिन् । उनी भाग्यले बाँचेकाहरु हेर्न आबुधाबीदेखि झन्डै ५ घण्टा टाढा अलऐन हुँदै ओमान सिमानाबाट आबुधाबीको मुसाफा आएकी थिइन् । कार्यक्रम व्यवस्थापक अर्जुनबहादुर गौलीका अनुसार तीनवटा सहरमा देखाइए पनि यूएईका सातवटै प्रान्तमा रहेका नेपाली भाग्यले बाँचेकाहरु हेर्न आएका थिए ।


वृत्तचित्र प्रदर्शन गरिएको दुबई र शारजाहमा हेर्ने दर्शक पनि उसै गरी भक्कानिएको कार्यक्रम संयोजक एवं लमजुङ समाज यूएईका उपाध्यक्ष बाबुराम सापकोटाले बताए । ‘वृत्तचित्र हेर्दा धेरैका आँखा रसाए । धेरैका आँखा ओभानो थिएनन्’ उनले भने । समाजका महासचिव शिवजंग गुरुङका अनुसार ३ वटै सहरमा देखाइएको भाग्यले बाँचेकाहरु राजदूतको आग्रहमा दुतावासमै प्रदर्शन गरियो । वृत्तचित्र हेर्ने आम श्रमिक मात्रै होइन, दूतावासका अधिकारी समेत एकसाथ भक्कानिए ।


सोमबार आबुधाबीमा रहेको नेपाली दूतावासको सभाहलमा भएको शो मा कार्यवाहक राजदुत सागरप्रसाद फुँयाल, द्वितीय सचिव विष्णु अधिकारी, श्रम सहचारी मोतिराम भुसाललगायतका आँखा रसाए । गृहजिल्ला गोरखा र त्यसमा पनि देशले भोगेको पीडा आफू कार्यरत देशको नियोगमै हेर्दा आँसु थाम्न नसकेको द्वितीय सचिव अधिकारीले बताइन् । उक्त शोमा आबुधाबीको एउटा स्थानीय विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका चन्द्रकला राई आफ्नो देश दुखेको र नेपालीको शीर जस्तो धरहरा ढलेको देखेर भक्कानिइन् । ‘देशले पाएको क्षति तुलना गर्न नै नसकिने रहेछ । आफ्नै आँखाले भाग्यले बाँचेकाहरु देख्न पाउँदा आँसु थाम्न नसकेको उनले बताइन् ।


दूतावासद्वारा प्रशंशापत्र प्रदान


बेलायतलगायत अन्य देशका संसद्‍मा समेत देखाइसकिएको र विभिन्न १७ वटा अन्तर्रास्ट्रिय अवार्डसम्म पाएको तथा संसारभर नेपाललाई पहिचान गराउन सफल भएको भन्दै वृत्तचित्रका निर्देशक गणेश पाण्डे तथा निर्मात्री शारदा गैरेलाई दूतावासले प्रशंसापत्र प्रदान गरेको छ । प्रशंसापत्र प्रदान गर्दै कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले सरकारले सन् २०२० लाई भिजिट वर्षको रुपमा मनाउन लागेकोले आगामी दिनमा नेपालको पर्यटक प्रवर्द्धनमा समेत सहयोग पुग्ने खालका सामाग्री निर्माण गर्न सुझाए ।


वृत्तचित्र प्रदर्शनका लागि निर्देशक पाण्डे र निर्मात्री गैरे साथै पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष एवं कान्तिपुरकर्मी आश गुरुङ यूएई आएका थिए । तीनै जनालाई लमजुङ समाज यूएईले ताम्रपत्र द्वारा सम्मान गरेको छ । यस्तै, दुबईमा प्रदर्शन गर्दा तमु प्ये ल्हु संघ यूएई शाखा र व्यक्तिगत रुपमा प्ये ल्हु संघ यूएई शाखा महिला प्रमुख मीरा गुरुङले सम्मान गरिन् । ‘यूएईमा वृत्तचित्र पुन: प्रदर्शन गर्न धेरैले अनुरोध गरेको र सम्भव भए फेरि पनि प्रदशन गर्नेछौं’उनले भनिन् ।


भाग्यले बाँचेकाहरू यूएईसहित विश्वका ३२ मुलुकका ७५ भन्दा धेरै ठाउँमा देखाइसकिएको निर्देशक पाण्डेले बताए ।

प्रकाशित : असार ६, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?