स्वतन्त्र संगीत

‘सरकारले सांस्कृतिक उत्थानमा ध्यान दिएको छैन । पुराना कुरा जोगाउनेदेखि नयाँ सिर्जना प्रवद्र्धनसम्ममा सरकार सजग हुनुपर्छ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — सिर्जना र संस्कृतिको सम्मानका लागि जुन २१ (अर्थात्, आजको दिन) लाई विश्व संगीत दिवसका रूपमा मनाउने गरिएको छ । सन् १९८२ मा फ्रान्सका तत्कालीन संस्कृतिमन्त्री ज्याक लाङ र संगीतकर्मी मौरिस फ्लुरेटले घोषणा गरेको यो दिवसलाई फ्रेन्चहरू ‘फेत डे ला म्युजिक’ नाममा मनाउँछन् ।

हाल १२० देशका ८ सयभन्दा बढी सहरमा यो दिवस मनाउने गरिएको छ । अमेरिका, फ्रान्सलगायत केही देशमा यस दिन जतिसुकै चर्को स्वरमा पनि गीत गाउन र बजाउन पाइन्छ । कसैलाई डिस्टर्ब होला भनेर आत्तिनु पर्दैन । संगीतकर्मी र संगीतप्रेमीलाई विशेष छुट दिइएकाले सुरक्षा निकाय लचिलो बनिदिन्छ । धेरैले नि:शुल्क कन्सर्ट गर्छन् भने संगीतकर्मीका प्रतिलिपि अधिकार र अन्य सरोकारका विषयमा पनि यस दिन छलफल गर्ने चलन छ ।

संगीत दिवस अवसरमा पछिल्ला वर्ष हामीकहाँ पनि बाक्लै कार्यक्रम हुन थालेका छन् । विश्व संगीतमा पहिचान स्थापित गर्न नसके पनि नेपाली संगीतकर्मीले विश्वभर आफ्ना अडियन्स तयार पार्न सक्ने स्थिति आइपुगेको भन्दै संगीतकार कालिप्रसाद बास्कोटाले खुसी व्यक्त गरे । ‘हामी विश्व संगीतको हिस्सा बन्ने दिन चाँडै आउला,’ कालिप्रसादले भने, ‘तर, त्यसका लागि हामीले हाम्रो सांगीतिक प्रस्तुति सुधार्न आवश्यक छ । नेपालीपन झल्किने गीतले मात्र विदेशीको ध्यान खिच्छ ।’ सांस्कृतिक विविधतालाई संगीतमा उतार्न नसक्नु हाम्रो कमजोरी भएको उनले बताए । ‘विभिन्न विधाका गीत पालैपालो हिट भइरहेका छन्,’ उनले भने, ‘कुनै एउटा विधा ट्ेरन्डमा रहिरहन सक्दैन अचेल ।’

Yamaha

युटयुब, साउन्ड क्लाउड, स्पोटीफाई, भिमियोजस्ता डिजिटल प्लेटफर्म हामीकहाँ व्यवस्थित भइसकेका छैनन् । युटयुब चर्चित भए पनि रोयल्टी र कपिराइटका विषयमा नेपालले एकमुस्ट अधिकार पाइसकेको छैन । तसर्थ, बिचौलिया मौलाउनेदेखि अनुमतिबेगर बनाइने कभर भिडियोमार्फत स्रष्टाको अधिकार खोस्ने काम भइरहेका छन् । तर, यस्ता विकृति बिस्तारै पाखा लाग्नेमा सर्जकहरू आशावादी छन् । संगीतमा भइरहेका अनेक पहल, प्रयास र प्रयोगले तिनलाई सकारात्मक बनाएको छ ।

नेपाली संगीतलाई विश्वस्तरमा पुर्‍याउन संगीतकर्मीको एकल प्रयास पर्याप्त नहुने गायिका अभया सुब्बाले बताइन् । ‘सरकारले सांस्कृतिक उत्थानमा ध्यान दिएको छैन,’ उनले भनिन्, ‘पुराना कुरा जोगाउनेदेखि नयाँ सिर्जना प्रवद्र्धनमा सरकार सजग हुनुपर्छ ।’ संगीतसम्बन्धी पूर्वाधार विकासमा सक्रियता देखाउनुका साथै अन्तर्राष्ट्रिय संगीत महोत्सव आयोजना गर्नुपर्ने र कल्चरल एक्सचेन्जका कार्यक्रम हुनुपर्नेेमा उनले जोड दिइन् ।

अभयाका अनुसार अहिले जेजति प्रगति भइरहेको छ, सबै कलाकारको व्यक्तिगत प्रयासमा भइरहेको छ । उनले आस्था तामाङ मास्के, प्रबल गुरुङलगायतको उदाहरण दिँदै भनिन्, ‘उनीहरू आफ्नै कोसिसमा अघि बढे । म पनि वुमन इन कन्सर्टमार्फत महिला आर्टिस्टलाई एक्सपोज गर्न खोज्दै छु । स्टार्ट लोकल, गो ग्लोबल भन्ने मान्यतासाथ काम गरिरहेकी छु ।’ आपसी समन्वय आवश्यक रहेको भन्दै उनले साथ दिन तयार हुनेहरूको जमात पत्ता लगाउनु पनि हाम्रो कर्तव्य रहेको बताइन् ।

लोक गायक पशुपति शर्मालाई भने मौलिकतासहितका गीतको प्रचारप्रसारमा मिहिनेत गरे नेपाली संगीत विश्वस्तरमा पुग्न सक्छ भन्ने लाग्छ । उनले हामीकहाँ विश्वलाई आकर्षित र अचम्मित पार्नुका साथै मुग्ध बनाउन सक्ने लय, धुन र संगीत पद्धति रहेको बताए । उनले भने, ‘हाम्रो संस्कृति उत्कृष्ट छ । तर, हामीले चिन्न सकेका छैनौं ।

युटयुबमा झन्डै दुई लाख सब्क्राइबर रहेका र्‍यापर गिरीश खतिवडा अहिलेको समयलाई सुनौलो मान्छन् । यो बेला संगीत उत्पादन र वितरणमा रोकछेक गर्ने कुनै ‘गेटकिपर’ नरहेको भन्दै उनले हाम्रा लागि सही समय आएको बताए । ‘राणाशासन, पञ्चायतजस्ता अँध्यारा दिन हामीले धेरै झेल्यौं,’ उनले भने, ‘त्यसले गर्दा कला क्षेत्र विस्तार हुन पाएन । अब त केहीको छेकबार छैन । हाम्रो संगीत स्वतन्त्र छ ।’

हाम्रा मादल र मुर्चुङ्गा चाँडै संसारभर घन्किने भन्दै गिरीशले यसका लागि कहीँ न कहीँ कोही न कोही नेपालीले पहल गरिरहेको हुनुपर्ने बताए । ‘अहिले पनि कति ठूलठूला गायकगायिकाका गीतमा हाम्रा लोक बाजा बजेका छन्,’ उनले भने, ‘त्यसको पछाडि कसको हात थियो भन्ने नदेखिएको मात्र हो । तर, ती संगीतकर्मी बिस्तारै अगाडि आउनेछन्, यो पक्का हो ।’

प्रकाशित : असार ७, २०७५ ०८:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लिम्बू कथामा ‘उन्यू’

कान्तिपुर संवाददाता

काँकडभिट्टा — झापाको मेचीनगरको परिवर्तन थिएटरले ‘उन्यू’ को मञ्चन गरेको छ । विमला चिमरियाको लेखन र सम्झना सुब्बाको निर्देशन रहेको उक्त नाटकमा एउटी ग्रामीण महिलाको पीडादायी कथा भन्न खोजिएको थियो ।

पाँचथरको लिम्बू समुदायकी महिलाले जीवनमा भोगेका दु:ख र हन्डरलाई नाटकमा प्रस्तुत गरिएको थियो ।

पालम नाच्दानाच्दै अन्तरजातीय बिहे गरेकी रिते (सम्झना सुब्बा) को कथा हो— ‘उन्यू’ । बाबुआमाको आँखा छलेर ‘अजात’ सँग बिहे गर्छे । तर, दिनहुँ मातेर आउने पति (गणेश बस्नेत) ले उसलाई धेरै मानसिक र शारीरिक यातना दिन्छ । त्यति मात्रै होइन, अन्त्यमा दोस्रो बिहे नै गर्छ । त्यसपछि पति छाडेर रिते माइतीको शरणमा पुग्छे ।

तर, माइतीमा पनि बुवा (लोमस पौडेल) ले अजातसँग बिहे गरेकी भन्दै घरमा ढिम्किनै दिँदैन । माइतीमा पनि साथ नपाएपछि सानी छोरी (शशिका गहतराज) लाई च्यापेर सहर छिर्छे, भाग्य खोज्न । काम खोज्दै सहरका गल्लीगल्ली चहारे पनि भनेजस्तो काम पाउँदिन । काम पाएका ठाउँमा पनि पटकपटक दुव्र्यवहारको सिकार हुन्छे । अन्तत: थोरै लगानीमा चिया पसल थापेर बस्छे । ‘उन्यू’ एउटी त्यस्ती महिलाको कथा हो, जो विभिन्न दु:ख, हन्डर, यातना, दुव्र्यवहार र परिवारको अपहेलना सहेर पनि बाँचेकी छे ।

नाटकमा कविता नेपाल, लीला विष्ट, अभिषेक गड्तौला, एञ्जल खडका, प्रतीक्षा आचार्य, दिनेश राजवंशी, दिवस लामिछाने र पूजा आचार्यको अभिनय थियो । भूमिका सुब्बा र स्वस्तिका लिम्बूको समूहले पालम नृत्यमार्फत नाटकमा साथ दिएका थिए ।

प्रकाशित : असार ७, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT