३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

फजस्केपमा भोजपुरे भाका

सजना बराल

काठमाडौँ — युटयुबमा लोकप्रिय ‘फजस्केप डकुमेन्ट्री शृंखला’ को नयाँ भाग सार्वजनिक भएको छ । फज फयाक्ट्री समूहले भोजपुर पुगेर तयार पारेको उक्त म्युजिकल डकुमेन्ट्री शुक्रबार युटयुबमा अपलोड गरियो ।

फजस्केपमा भोजपुरे भाका

यात्रामा संलग्न संगीतकर्मी वर्त गन्धर्व, राजन श्रेष्ठ र रोहित शाक्यले बनाएको एउटा लोक–पप गीतलाई डकुमेन्ट्रीको मुख्य थिम बनाइएको छ ।

स्थानीय कलाकारसँगको सहकार्यमा सांस्कृतिक र परम्परागत रूपमा महत्त्वपूर्ण मानिएका संगीतबाट प्रेरित भई नयाँ सिर्जना गर्नु फजस्केप हो । राजधानीबाट भोजपुर पुगेको एउटा संगीतकर्मी टोलीले भेट्टाएको किराँती सभ्यता, गोर्खे खुकुरी, धातुका भाँडाकुँडा मात्रै हैन, पुरानो नेवार गाउँ र गन्धर्व जीवन आफैँमा युनिक छ ।

वर्त, राजन र रोहित जरायोटारस्थित माङदिङको गन्धर्व समुदायसँग अन्तरक्रिया गर्दै भोजपुर बजारबाट टक्सार पुगेका थिए । नौ जना प्राविधिक टोलीसहित भोजपुर डुलेका उनीहरूले किराँत, नेवार र गन्धर्वहरूको लोक जीवन नियाले । त्यहाँको स्थानीय भाषा/भाका बुझ्दै हिँड्दा ‘भोजपुर बजार...’ बोलको गीत नै सिर्जना गरे । ‘यसरी फिल्डमै गएर मैले पहिलो पटक म्युजिकको काम गरेँ,’ सारंगीवादक एवं गायिका वर्तले भनिन्, ‘उतै अस्थायी स्टुडियो बनाइएको थियो । सम्पूर्ण काम भोजपुरमै सकेर आयौं ।’

यसअघि सिन्धुपाल्चोक, वीरगन्ज र काभ्रे पुगेर फज फयाक्ट्री टोलीले ‘फजस्केप’ का लागि स्थानीयपन सहितको गीत र सांगीतिक डकुमेन्ट्री तयार पारेको थियो । यो शृंखलामा स्थानीय समुदाय र संस्कृतिबारे सिक्दै र परिचित हुँदै ती ठाउँमा आधारित संगीत सिर्जना गर्ने गरिएको छ । ‘हिमाल, पहाड, तराई तीनवटै भेकका लोक जीवन कभर गर्ने योजना थियो,’ फजस्केपका कन्टेन्ट एन्ड रिसर्च सुपरभाइजर न्हूज: तुलाधर भन्छन्, ‘पूर्वी पहाडको लोकजीवन प्रतिनिधित्व गर्न भोजपुर रोज्यौं ।

भारतको भोजपुरसँग झुक्किरहने भएकाले हाम्रो भोजपुरलाई स्थापित गर्न पनि यो जिल्ला छानेका हौं ।’ प्रदेश नम्बर १ मा पर्ने भोजपुर सांस्कृतिक र ऐतिहासिक रूपले महत्त्वपूर्ण रहेको फज फयाक्ट्रीको बुझाइ छ । त्यहाँको किराँती सभ्यता, गोर्खे खुकुरी र धातुका भाँडाकुँडा, टक्सारको पुरानो नेवार गाउँ, साहित्यिक माहोल र गन्धर्व जीवन आफैँमा युनिक रहेको न्हूज:ले बताए । ‘गाउँमा युवाहरू नभएकाले लोक संस्कृति मासिने क्रममा रहेछ,’ उनले भने, ‘हामी पुग्दा पाका स्थानीयहरू खुसी हुनुभयो । त्यहाँ भएका एकाध युवाले साकेला र लाखे नाचलाई निरन्तरता दिइरहेको पायौं ।’ फजस्केप समूहले १० दिन भोजपुर भ्रमण गरेको थियो ।

वर्तका अनुसार उनीहरूले माङदिङ गाउँको लोकप्रिय ‘सिमल बारुलै...’ भाकामा नयाँ शब्द राखेर गाएका छन् । यसको स्लो बिटलाई अलि फास्ट गराइएको छ भने लोकलाई पप शैलीसँग फयुजन गराएर नौलो संगीत सिर्जना तयार पारिएको छ । ‘सबैले रुचाऊन् भनेर रोहित सरले यस्तो गर्नुभएको होला,’ उनले भनिन्, ‘हाम्रो गीत एकदम फरक खालको छ ।’ आफ्नै जन्मथलो पुगेर त्यहाँको संगीतलाई नौलो तरिकाले प्रस्तुत गर्न पाएकोमा वर्त निकै खुसी छन् ।

प्रिन्स क्लाउस फन्डस् र ब्रिटिस काउन्सिलको सहायतामा निर्माण गरिएको सांगीतिक डकुमेन्ट्रीमा गीत बनाउँदाको सम्पूर्ण विवरण समेटिएको छ । स्थानीय जीवनशैली यसमा समेट्न खोजिएको छ । स्थानीय कलाकारसँगको सहकार्यमा त्यहाँको सांस्कृतिक र परम्परागत रूपमा महत्त्वपूर्ण मानिएका संगीतबाट प्रेररित भई नयाँ सिर्जना गर्नु फजस्केपको कन्सेप्ट हो । अमूर्त सांस्कृतिक सम्पदाको स्थिति र त्यस वरिपरिका विषयमा स्थानीय युवामाझ छलफल गर्न यो समूहले कार्यशाला पनि आयोजना गर्दै आएको छ । टोलीमा बर्खा वायोमी राई, हिमाल थापा, निरज चक्रधर, प्रसित स्थापितलगायत संलग्न छन् ।

प्रकाशित : असार ९, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?