१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘प्रिन्स र प्रिन्सेस’ होड

राजेन्द्र मानन्धर

दोलखा — सुन्दरता र क्षेमता प्रदर्शनसँग सरोकार राख्ने कार्यक्रमहरु सहर हुँदै हिमाली जिल्लामा समेत आयोजना हुन थालेको छ । 

‘प्रिन्स र प्रिन्सेस’ होड

आधुनिक समाजको उपज ठानिने उक्त कार्यक्रम हिमाली जिल्ला दोलखा सदरमुकाम चरिकोटमा तामझामपूर्वक सम्पन्न भएको छ ।


‘लिटल प्रिन्स एण्ड प्रिन्सेस टयालेन्ट सो २०१८’ नाम दिइएको कार्यक्रमलाई दोलखामा पहिलो भनेर घोषणा गरिएको छ । उक्त कार्यक्रमलाई भीमेश्वर नगरका मेयर भरत केसीले उद्घाटन गरे । साथै, उनले भने, ‘दोलखामा पहिलो पटक आयोजना गरिएको कार्यक्रमले सम्वृद्ध भिमेश्वर नगरको परिकल्पनालाई सहयोग पुग्छ ।’


बालबालिकामा रहेको अन्तरनीहित प्रतिभाको पहिचान र क्षमता देख्दा नगरको भावी पुस्ताप्रति धेरै आशा लागेको उनले बताए । एक कक्षादेखि चार कक्षासम्म जुनियर र पाँच कक्षादेखि आठ कक्षासम्म सिनियर समुहमा राखेर प्रतियोगिता गरिएको थियो ।


जुनियर १७ जना र सिनियर १४ जना सहभागीले एकले अर्कोलाई माथ खुवाउनेगरी क्षेमता प्रदर्शन गरे । पोषाक र मेकअपले बदलिदो आधुनिक सहरीकरणको झल्को दिन्थ्यो नै, उच्चस्तरको सशक्त क्षमता प्रदर्शनले दर्शकलाई मध्यरातसम्म कार्यक्रमस्थलमै बसिरहन बाध्य पारेको थियो ।


क्याटवाक क्षेमताको एउटा विधा हो । उक्त विधा सम्पादन गर्दा केटाकेटीले युवा उमेरको प्रतिनिधित्व गरे झै देखिन्थ्यो । मञ्चमा उभिएर माइकलाई ओठको अन्तरमा राख्दै प्रश्नको कुटनीतिक उत्तरहरु दिइरहँदा दर्शक दीर्घाबाट तालि बज्रिन्थ्यो । भाषण गर्न माहिर देखिन्थे भने नाच्नुमा खली लाग्थ्यो ।


बालबालिकाको लिखित जवाफ र त्यसलाई प्रस्तुत गर्ने आकर्षक तरिकालाई दर्शकले मज्जा लिएका थिए । अधिकासं सहभागीका अभिभावकहरु थिए ।


सम्प्रिता घिमिरेले सिनियर केटीतर्फको प्रिन्सेसको उपाधि जितिएको घोषणा हुँदा अभिभाकहरुले मन्चमै गएर खुसी प्रकट गरे । सिनियर केटातर्फ टसी शेर्पा भए । प्रिन्स उपाधी जित्ने टसी हिमाली गाउँबाट उनले प्रतिनिधित्व गरेका थिए ।


जुनियरतर्फको लिटिल प्रिन्सको उपाधि अग्रिम प्रसाइँले प्राप्त गरे । केटीतर्फ विजेश्ना घिमिरे लिटिल प्रिन्सेस भइन् । दुवै जुनियरहरुको प्रस्तुति आश्चर्य लाग्दा रामाइला थिए । उक्त कार्यक्रममा भाग लिइरहेका बालबालिकामा बानी, व्यवहार, क्षमतामा फरक हुँदै गएका र त्यसबाट आफूहरु सन्तुष्ट भएको अभिभावकहरुले प्रतिकृया दिएका छन् ।


जिल्लामा हालै स्थापित इन्ष्टिच्युट अफ ब्राइट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रममा ग्रामीण भेगका बालबालिकासमेत प्रतिस्पर्धी थिए । कतिपय सव टाइटल विधामा ग्रामीण भेगका प्रतिनिधिले बजारक्षेत्रमा हुर्किरहेकालाई उछिनेका थिए ।


अन्य कार्यक्रमहरुमा पनि व्यवस्थापन र कलाकारहरु व्यवयायिक रुपले उपस्थिति गराउने ब्राइट इभेन्टका अध्यक्ष राजन बुढाथोकीले बालबालिकालाई प्रतिस्पर्धी बनाउने उक्त कार्यक्रम समयको माग भएको वताए ।


अपरान्ह चार बजेदेखि मध्यरातसम्म कार्यक्रम हेरेर निस्किएकी नेपाल पत्रकार महासंघ दोलखा शाखा सचिव विनिता शिवाकोटीले बालबालिकाका प्रस्तुतिले कार्यक्रम छाडेर हिड्ँन मन नै नलागेको बताइन् ।


विरलै रातको समयमा हुँने कार्यक्रमहरु त्यति लामो समय नबसेको अनुभव बोकेका धेरै दर्शकहरु मध्यरातसम्म केटाकेटीको हाउभाउ र क्षमताबाट मनोरञ्जन लिइरहेका थिए ।


सहरतिर हुने यस्ता कार्यक्रहरुमा समर्थक र विरोधीहरु दुवै हुन्छन् । आधुनिकतातर्फ उन्मुख पहाडी सदरमुकाम चरिकोटकामा आयोजित उक्त कार्यक्रमलाई पनि रोक्नुपर्ने सम्मका दबाब आएको आयोजकले बताएको थियो ।

प्रकाशित : असार २३, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?