‘प्रेम गर्नेहरूले हेरिदिए पुग्छ’

सुशील पौडेल

काठमाडौँ — बायोपिक प्राय: सेलेब्रिटी वा प्रतिष्ठित व्यक्तिका लेखिन्छन्, बनाइन्छन् । सर्वसाधारणका कथा उनीहरूसँगै मरेर जान्छन् । कहानी सर्वसाधारणका सामान्य नै हुन्छन् भन्ने त हैन तर त्यसमा जनचासो नहुने डर हुन्छ । कतै यस्तै डर निर्देशक मिलन चाम्सलाई पनि त छैन ? यसै साता रिलिज हुने ‘बोबी’ मा ललितपुरका उमेश थापा र पोखराकी कविता गुरुङबीचको लभस्टोरीलाई उठाइएको छ ।

‘प्रेम गर्नेहरूले हेरिदिए पुग्छ’

मुना–मदन, लैला–मजनु वा रोमियो–जुलियटको प्रेमकथामा सम्मोहित हुँदै आएका दर्शकहरू आम रूपमा अपरिचित उमेश–कविताको लभस्टोरीप्रति कति उत्साहित होलान् ?

उक्त फिल्मका निर्देशक चाम्सलाई ‘यस्तो प्रश्नको रत्तीभर डर छैन’ ।

यति बेला उमेश र कविता नर्वेमा बस्दै आएका छन् । केहीअघि मात्रै निर्देशक चाम्स नर्वे भ्रमणका क्रममा कवितासँग भेटिए । कुरैकुरामा कविताले ठट्टा गरिन्, ‘दाइ, तपार्इं लभस्टोरी फिल्म बनाउनुहुन्छ । हामी बूढाबूढीको लभस्टोरी पनि कम्ता खतरा छैन है ।’ कविताको कुरा सुरुमा सामान्य ठट्टाकै रूपमा लिएका चाम्सले जब ‘कथा’ सुन्दै गए, दिमागमा चित्र चल्दै जान थालेछ । त्यहींबाट कविताको कथामा फिल्म बनाउने घोषणा गरेर स्वदेश फर्किए । मुख्य कलाकार पनि तय गरे, उमेश र कविता नै ।

‘मलाई आफ्नो कथा सुनाइरहँदा पनि कविता तारन्तार रोएकी थिइन् । लाग्यो, त्यो कथामा उनीहरूले जत्तिको फिल सायदै कुनै कलाकारले दिन सक्लान्,’ चाम्सले कान्तिपुरसँग भने । आखिर भएछ पनि त्यस्तै । सुटिङ दौरान यी दुईलाई सिनका बारेमा बताएपछि न संवादको जरुरी पथ्र्यो, न अवस्थाको । दुवै एकाएक फ्ल्यासब्याकमा जान्थे र मुडले उनीहरूलाई पछयाउँथ्यो । सुटिङमा सबैभन्दा धेरै आँसु झार्नेमा कविता भइछन् भने उमेश पनि थुप्रै पटक रोएछन् । ‘सुटिङभरि ग्लिसरिनको आवश्यकता नै परेन,’ चाम्सले थपे ।

कविता काकाको घरमा हुर्कंदै थिइन् । टमब्वाई पाराकी उनी केटी साथीको ग्याङ लिएर १८ वर्षे जोबन काटिरहँदा एक दिन हट्टाकट्टा ज्यानको लोभलाग्दो केटासँग स्विमिङ पुलमा देखादेख भयो । झन्डै दुई दशकअघिको उमेशसँगको भेट प्रसंग कोट्टयाउँदै कविताले सुनाइन्, ‘त्यो बेला मलाई उमेशको ज्यानले तान्यो ।’ तर उमेशले कवितालाई बालै दिएनन् । भनिन्, ‘उसका सबै साथीहरू आएर मसँग बोले, तर ऊ आएन । स्विमिङ पुलभरिकै हयान्डसम मै हुँ जस्तो एटिच्युड देखायो । पहिलो भेटमै झगडा परेको थियो ।’

कवितालाई पछि त्यही झगडा नै प्रिय लागेछ । घर पुगेपछि उमेशसँगको घटनाको यादले पिछा नै छोडेन । आखिर यो जोडी एक हजार रुपैयाँ सापटी मागेर भाग्ने अवस्थामा पुग्यो । धनी परिवारकी गुरुङकी चेली गरिब क्षेत्री परिवारमा एकाएक बुहारी भएर भित्रिइन् ।

त्यो बेलाको कविताको अवस्था अहिले सम्झँदा पनि उमेश भावुक हुन्छन् । ‘आफ्नै पाराको ड्रेसअप गरेर हिँड्ने केटी एकाएक धोती लगाएर घर लिप्नुपर्दा कस्तो भयो होला ? जबकि उनको घरमै तीनचार जना मान्छे काम गर्ने नै थिए । हामी केटा मान्छे त विदेश जान्छौं, पैसा पठाइदिन्छौं, हाम्रै पैसाले घर चलेको छ ठान्छौं, तर घर चलाउने त नारीले रहेछ,’ उमेशले भने, ‘त्यसैले यो फिल्म विदेशमा बसेर काम गर्ने दाजुभाइले पनि आफ्नो परिवारसँग बसेर हेर्नुपर्ने फिल्म हो जस्तो लाग्छ । सुटिङका दौरान मैले ती दृश्यहरू देखिरहँदा आफैंलाई पश्चात्ताप अनुभव भयो । फिल्म हेरेपछि विदेशमा बस्नेहरूलाई पनि बरु दु:ख गरौं तर पतिपत्नी सँगसँगै बसौं भन्ने लाग्छ । बोबी हेरेपछि उहाँहरूले पनि आफ्नी पत्नीलाई, आमाबुबालाई, परिवारलाई झन् बढी माया गर्नुहुन्छ होला, आदर गर्नुहुन्छ होला ।’

उमेशले ‘बोबी’ लाई आफू दुईबीचको प्रेमकथा भन्नुभन्दा प्रेमका लागि कविताले गरेको संघर्ष भन्न रुचाए । पत्नीलाई घर भित्र्याएर नर्वे फर्किएका उमेशले त्यस बेला पत्नीका दु:ख/पीडा जति सुनाइयो, त्यति बुझे । सुटिङ चलिरहँदा भने उनले पत्नीका रिल भोगाइलाई रियल ठानेर आत्मसात् गरे । ‘मेरा आँखा सुटिङमै खुले । सुन्नु र आफ्नै आँखाले देख्नुमा धेरै फरक हुने रहेछ । हामी सेटमै फ्ल्यासब्याकमा जान्थ्यौं । सुटिङमा धेरै पटक कन्ट्रोल गर्न नसकेर आँसु झरेको छ,’ उमेशले भने, ‘त्यो संघर्षको समय धेरै नराम्रा फिलिङ आएका थिए । मेरो कारण डल्लु (कविता) ले दु:ख पाई भने जस्तो मनमा आउँथ्यो । मेरी बूढी नै लच्छिनकी भएर हो कि, आखिर सबै कुरा राम्रो नै भएर गयो ।’

उनी पनि सायद कवितालाई माया गर्नैका लागि जन्मेका थिए, त्यसैले ‘नर्वेमा वार्षिक ९० लाख रुपैयाँको जागिर’ लत्याएर फर्के । ‘मलाई डल्लुसँगै बस्नु थियो, जसका लागि भनेर यत्रो दु:ख गरें, उनीहरूसँगै बस्न पाइनँ भने आखिर के काम ?’ पछि उनीहरू दुवै नर्वे नै गए ।

फिल्ममा विजय लामाले नायिकाको काकाको भूमिका खेलेका छन् । कविता उमेशसँग भाग्दा छोरीजस्तै गरी माया दिएका काकाको मनमा कत्रो पहिरो गयो होला ? विजयले अभिनय गरिरहँदा भने कविता साँच्चै दु:खी भइछन् । ‘त्यो बेला पोखराको सुटिङ छोडेर मलाई काकाको खुट्टा समाएर रुने चाहना भएको थियो,’ यसो भनिरहँदा उनको गला अवरुद्ध भयो । उमेशले पत्नीलाई सम्हाले । उनीहरूका १४ वर्षे छोरा पनि भावुक देखिए ।

‘तेरो छोरी पोइल गई भनेर अरूले काकालाई भन्दा उहाँको मनमा के बितेको थियो होला ? सुटिङमा उहाँ (विजय लामा) मा काकाकै झल्को पाएँ । त्यो सिनमा मलाई मात्र हैन, काकालाई समेत एकदमै गाह्रो भएको थियो ।’ कविताले यसो भनिरहँदा लामाले समर्थन जनाए । तैपनि कविताको मनमा गुनासो त बाँकी नै थियो । पोखिन्, ‘त्यत्ति हो, म आफूले मन पराएको मान्छेसँग भागेकी त थिएँ, तर उहाँहरूले त्यसलाई ठूलो इस्यु बनाएर आफ्ना लागि म मरेको भन्नुभएछ । त्यसपछि मैले पनि संकल्प गरें( ठिकै छ, कुनै दिन मैले पनि बाँचेर देखाइदिन्छु ।’

कविताले थपिन्, ‘यो फिल्म काकालाई देखाउन मन छ । त्यसपछि मेरी सासु र अरू परिवारलाई । ‘बोबी’ बाट मैले सबैभन्दा आशा गरेको कुरा, कुनै बेला हामीले हाम्रो फयामिलीलाई बुझाउन नसकेको कुरा र उहाँहरूले हामीलाई बुझाउन नसकेको कुरा फिल्मले देखाइदिन्छ कि ? फिल्म हेरेर मेरा काका धुरुधुरु नरोए पनि आँखामा आँसु छचल्कियो भने त्यो नै सफलता हुनेछ ।’

निर्देशक चाम्सले पनि थपिहाले, ‘यो फिल्ममा न स्टार छन्, न उमेश र कवितालाई नै हेर्न भनेर त्यति दर्शक आउलान्, फिल्मले पैसा कमाओस् वा नकमाओस्, उति मतलब छैन । प्रेम गर्नेहरूलाई यसले आफ्नै कथा भनिरहेको अनुभव दिन सक्यो भने फिल्म सफल भएको ठान्नेछु ।’

प्रकाशित : असार २८, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?