कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

झरीको मौसम, झरीकै गीत

काठमाडौँ — नेवार समुदायमा ऋतुपिच्छेका गीत गाउने चलन छ । बर्खायाममा रोपाइँसम्बन्धी ‘तुक्या: ज्या:...’ गाइन्छ । अन्य समुदायले पनि झरीलाई गीतमा उतार्ने गरेका छन् । विश्वसंगीतमै झरी विम्बका रुपमा छ । हामीकहाँ झरीबारे प्रशस्त गीत बनेका छन् । यति बेला बर्खाले कतिपय ठाउँमा दु:ख दिइरहे पनि झरीका गीत सुन्दाको आनन्द भिन्न छ । केही लोकप्रिय झरी गीत यस्ता छन् :

झरीको मौसम, झरीकै गीत

झमझम पानी पर्‍यो...
शब्द : माधवप्रसाद घिमिरे
संगीत/स्वर : मास्टर रत्नदास प्रकाश
राष्ट्रकवि माधवप्रसाद घिमिरे मास्टर रत्नदास प्रकाशलाई आफ्ना गुरु मान्छन् । उनैले आफूलाई गीत लेख्न सिकाएको घिमिरेले स्विकार्ने गरेको प्रकाश सायमी बताउँछन् । १९९८ सालमा रत्नदासले ‘झमझम पानी पर्‍यो...’ को सन्दर्भमा घिमिरेलाई सम्झाएका हुनाले कविवरले उनलाई गुरु मान्ने प्रकाशको भनाइ छ । ‘झमझम...’ घिमिरेको पहिलो रेकर्डेड गीत हो ।

साउनको झरी बनी...
शब्द : दीपक जंगम
संगीत र स्वर : नारायण गोपाल
नारायणगोपालले संगीत तयार गरिसके पनि शब्द अभावमा गाउन पाएका रहेनछन् । ‘गीतियात्रा भाग १’ एल्बममा समाविष्ट गर्न उनले विभिन्न गीतकारलाई ट्युन पनि सुनाएका रहेछन् । तर, भने जस्तो भइरहेको थिएन । त्उनले दीपक जंगमलाई ट्युन सुनाएछन् । ‘मैले कोशिश गर्छु भनेँ’, गीतकार/संगीतकार दीपक जंगम २०४४ सालतिर फर्कन्छन्, ‘अनि स्थायी र अन्तरा लेखेर सुनाएँ । उहाँले चित्त बुझाएपछि बीचको भाग केही दिनपछि लेख्छु भनेँ ।’ जंगमले हप्ता–दस दिनपछि बाँकी हरफ लेखिभ्याए । सबै समेटेर गीत रेकर्ड गरियो ।

साउने झरीमा...
शब्द : कुसुम गजमेर
संगीत : रञ्जित गजमेर
स्वर : आशा भोसले
सिक्किमको कञ्चनजंघा फिल्म्सले बनाएको ‘लाहुरे’ फिल्मका लागि कुसुम गजमेरलाई गीत लेख्न भनिएछ । फिल्मको सन्दर्भ बुझेपछि उनले बम्बईमै बसेर ग्रामीण जनजीवन झल्किने गीत रचिन् । उनका संगीतकार पति रञ्जितले योसँगै ‘फेरि आयो त्यो कालो रात...’ र ‘झझल्को लिएर आएछ सावन...’ रेकर्ड गराए । यी गीत बम्बईको वेस्टर्न आउटडोर स्टुडियोमा रेकर्ड गरिएका थिए । ‘लाहुरे’ फिल्म चाहिँ सिक्किमको मानखिममा छायांकन गरिएको थियो ।

असारे महिनामा...
शब्द र संगीत : तुलसी गजमेर
स्वर : छुजन डुक्पा
सन् १९८१ मा रेडियो नेपालमा रेकर्ड भएको यो गीत छुजनको पहिलो र अन्तिम गीत पनि हो ।
रोचक तथ्य के छ भने, यसको कोरस अरुणा
लामाले गाएकी थिइन् । ‘तुलसी गजमेरका दाइ अर्जुनले गीतका केही अंश लेखेका रहेछन्’, प्रकाश सायमी भन्छन्, ‘अर्जुन यसमा अरुणाकै स्वर राख्न चाहन्थे । गायिका बिरामी भएकाले छुजनलाई
गाउन दिइयो । तर, अरुणा लामाले कोरस गाएर सहयोग गरिदिनुभयो ।’
सिमसिमे पानीमा...
शब्द, संगीत, स्वर : रेखा शाह
२०४९ सालमा यही गीतमार्फत रेखा शाहले राष्ट्रव्यापी लोकगीत प्रतियोगिता जितेकी थिइन् । ‘दाङमा छँदै शब्द र भाका संकलन गरेकी थिएँ,’ शाह भन्छिन्, ‘पछि अलिअलि मोडिफाई गरेँ । यसले मलाई प्रतियोगितामा पहिलो स्थान दिलायो ।’ गायिकाले बीचमा अरेन्जमेन्ट फेरेर गीतलाई रिमेक गरेकी छन् ।

पानीको रिमझिम वर्षातको बेला...
शब्द : गगन विरही
संगीत : राम थापा
स्वर : प्रकाश श्रेष्ठ
आधुनिक शैलीको यो गीत गाउँदाताका प्रकाश श्रेष्ठले पानीसम्बन्धी थुप्रै गीत लगालग बजारमा ल्याइरहेका थिए । ‘फेवातालको आँगनमा लैलै...’, ‘तिमीसँगै डुंगामा...’ जस्ता गीतहरूकै लहरमा उनले यो पनि गाएका थिए । प्रकाश सायमी भन्छन्, ‘त्यो बेला म्युजिकमा इफेक्ट दिने चलन भर्खर सुरु भएको थियो । यसमा पनि चट्याङ, आकाश गडगडाएका आवाजहरू इफेक्टका रूपमा राखिएको छ ।’

ए झरी...
शब्द : डा. अरुण सायमी
संगीत : शम्भुजित बाँस्कोटा
स्वर : नवीन के भट्टराई
झन्डै पन्ध्र वर्षअघि नवीनले ‘द ब्लु’ एल्बममा यो गीत समावेश गरेका थिए । डा. सायमीको यो पहिलो गीति रचना भएको नवीन बताउँछन् । ‘उहाँसँग हाम्रो पारिवारिक चिनजान थियो,’ उनी भन्छन्, ‘आफूले लेखेको पहिलो गीत मलाई गाउन दिनुभयो ।’ झरीसम्बन्धी गीत रेकर्ड गर्दाको क्षण सम्झँदा नवीन जहिले पनि छक्क पर्छन् । उनका अनुसार गीत रेकर्डिङ सकेर राति स्टुडियोबाट निस्किँदा दर्केपानी परेको थियो ।

झरी परेको दिन...
शब्द : नवदीप राजभण्डारी, बबिन प्रधान
संगीत : नवदीप
स्वर : बबिन प्रधान
१९९२ को जुलाई ३१ मा रसुवाको घ्याङफेदीमा थाई एयरको विमान दुर्घटना हुँदा ९९ यात्रु र १४ विमान कर्मचारीको ज्यान गएको थियो । त्यो दुर्घटनालाई लिएर निराश बनेका नवदीप र बबिनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न गीतको सहारा लिए । ‘त्यो बेला झरी परेको हुनाले यसैलाई बिम्ब बनायौं,’ बबिन सम्झन्छन्, ‘कतिले हाम्रा आफन्त पो दुर्घटनामा परे भन्ठानेछन् । भाग्यवश, त्यस्तो भएको थिएन ।’ बबिनको पहिलो एल्बम ‘बबिन प्रधान १९९३’ मा
रहेको यो गीतलाई उनले हालै रिअरेन्ज गरेका छन् ।

पानी पर्‍यो सरर...
शब्द, संगीत र स्वर : विपुल क्षत्री
दार्जलिङका नेपाली भाषी गायक विपुलले मनसुन आफ्ना लागि प्रेरणा रहेको बताएका छन् । युट्युबमा उपलब्ध विवरणमा उनी लेख्छन्, ‘टिनको छानामा पानी पर्दाको आवाज... मैले सुनेको प्रिय ध्वनि हो ।’ दार्जलिङको झरी आफूलाई विशेष लाग्ने पनि उनले उल्लेख गरेका छन् । विपुलले सन् २०१४ मा सार्वजनिक गरेको पहिलो एल्बम ‘स्केचेज अफ दार्जलिङ’ मा योसहित पाँच गीत अटाएका छन् ।

प्रस्तुति : सजना बराल

प्रकाशित : असार ३२, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?