कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कहाँ गयो असारे भाका !

प्रकाश अधिकारी

सुर्खेत — बर्खा लाग्यो कि चन्द्रबहादुर राना चुकचुकाउने गर्छन् । बर्खा अर्थात् रोपाइँको बेला । २०–३० वर्षअघि यो बेला खेतखेतमा धान मात्रै रोपिँदैनथ्यो, असारे भाका पनि घन्काइन्थ्यो । पञ्चेबाजासहितको भाकाले रोपाइँलाई उत्सवकै ढाँचाको बनाउने गर्थ्याे ।

कहाँ गयो असारे भाका !

‘अब असारे गीत गाइन छाडे,’ लेकबेंसी नगरपालिका–७ का राना भन्छन्, ‘संस्कृति लोप हुनु दु:खद कुरा हो । असारे भाका त कथाजस्तै बने । मलाई पनि अहिले त्यति याद छैन, उति बेला गाउँदै हिलो छ्यापाछ्याप गरिन्थ्यो, खुबै रमाइलो हुन्थ्यो ।’

साँच्चै, अचेल असारे भाका गाउनेहरू भेट्नै मुस्किल पर्छ । पुराना पुस्ताकाले पनि भाका भुल्नै थालिसके । वरिष्ठ संस्कृतिकर्मी प्रेमदेव गिरीका अनुसार, असारे भाकाले खेतमा रोपार र बाउसेहरूको थकान मेटाउन मद्दत पुर्‍याउँथ्यो । रोपाइँको माहौललाई थप मिठास बनाइदिन्थ्यो ।

‘असारे भाका कृषि प्रणालीसँग जोडिएको एउटा संस्कृति थियो, समय–प्रविधि र पुस्ता हस्तान्तरणसँगै यो पनि लोप हुन पुग्यो,’ गिरी भन्छन्, ‘किसानले नै असारे भाका संरक्षणका लागि चासो दिनुपर्ने हो, हुन सकेन । नयाँ पिढीलाई झन् असारे गीत गाउनै आउँदैन । सञ्चार प्रविधिमा भित्रिएको आधुनिकताका कारण नयाँ पिढीले मौलिक भाका, गीत–संगीत सबै भुल्दै गएको छ । कुनै पनि संस्कृति हराउनु भनेको राष्ट्रका लागि ठूलो क्षति पुग्नु हो ।’

असारे भाका खेतबारीमा त सुनिन छाड्यो नै, अचेल रेडियो र टीभीहरूतिर पनि सुनिँदैन । बजारले जे सुन्न र हेर्न खोज्छ, त्यसकै पछि लाग्दा यस्तो भएको संस्कृतिकर्मी गिरीको बुझाइ छ । खेतमा बालीनाली लाउने होइन, घर ठडयाउने प्रतिस्पर्धाले पनि यस्तो नकाम गरेको उनी बताउँछन् ।

राना रोपाइँलाई एकदिने फेसन बनाएर मात्रै संस्कृतिको जगर्ना नहुने बताउँछन् । ‘असार १५ गते सारा देशले हिलो खेल्दैमा परम्पराको संरक्षण हुँदैन,’ उनी भन्छन् ।

रानाका अनुसार, असारे भाका गुन्जिन छाडेपछि अरू चलन पनि मासिँदै गएका छन् । रोपाइँका बेला गोरुहरूलाई हिलोको अक्षता लगाइदिने, जोत्ने काम सकिएपछि गोरुहरूलाई नुहाइदिने, खलेमुंग्रो अर्थात् भकारी गाड्ने जस्ता चलन अचेल प्राय: कतै देख्न पाइँदैन ।

रोपाइँ कम हुनु, पहाडका खेतमा काम गर्ने मान्छे नपाइनु र नयाँ पिँढीका युवायुवतीले असारे भाका भुल्दै जानुले असारको महिमा नै समाप्त हुन थालेको सुर्खेतका वरिष्ठ कलाकार भीमबहादुर कार्की बताउँछन् ।

संस्कृतिकर्मी गिरी सचेत गराउँछन्, ‘आफ्नो संस्कृतिलाई माया नगर्दाको प्रतिफल साह्रै नराम्रो हुन्छ ।’

प्रकाशित : श्रावण १, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?