युटयुबमा फिल्म

कमाइ मनग्गे -फिल्म निर्माता र एग्रिगेटरबीच मुनाफा बाँडफाँडमा हानथाप
एग्रिगेटरहरू प्रि–सेल मात्र रुचाउनुहुन्छ । हामीले सुरुमै फिल्मको डिजिटल राइट बेच्नुपर्छ । पछि बाँडफाँड गर्ने गरी कुनै निर्माता र एग्रिगेटरबीच सम्झौता भएको छैन । - गोविन्द शाही, निर्माता
दुवै पक्षलाई सुरुमा उत्तिकै रिस्क हुन्छ । फिल्म चल्छ भन्नेमा हामी ढुक्क हुँदैनौं, फिल्म धेरै चले के होला भन्नेमा निर्माताहरू ढुक्क हुनुहुन्न । यो गेम यस्तै हो । - जनक तामाङ, हाइलाइट्स नेपाल
सजना बराल

काठमाडौँ — फिल्म प्रचारका लागि अचेल डिजिटल प्लेटफर्म प्रयोग गर्ने चलन बढदो छ । सामाजिक सञ्जाल, भिडियो सेयरिङ साइट र एपमार्फत फिल्मसम्बन्धी जानकारी बाँडेको देखिन्छ । रोड सो, भित्ते पोस्टर, स्कुल/कलेज भ्रमण जस्ता परम्परागत शैली पनि थोरबहुत यथावत् छन् । माइकिङ गर्दै फिल्मको रिलिज मितिदेखि अन्य विवरण सुनाउने चलन चाहिँ अब मासिए बराबर छ ।

युटयुबमा फिल्म

डिजिटल प्रचारमा फिल्मको प्रोमो/टिजर, गीत र ट्ेरलरमार्फत दर्शकको ध्यान खिच्ने काम गरिन्छ । तिनलाई युटयुब, रेडियो, टेलिभिजन र हलहरूमा वितरण गरिन्छ । फिल्मका डिजिटल अधिकार धनीले अनलाइन पोर्टल र मोबाइल एप्लिकेसनमार्फत पनि फिल्मको विज्ञापन गरिरहेका हुन्छन् । अर्कातिर, पहिलेझैं ‘म्यानुअल्ली’ प्रचारप्रसार गर्ने काम पनि सँगसँगै भइरहेको हुन्छ । सामान्य किसिमको प्रचारका लागि समेत १०–१२ लाख रुपैयाँ खर्च हुने निर्माताहरू बताउँछन् ।

‘कोही अभिनेता/अभिनेत्री रेस्टुरेन्टसँग मिलेर ग्राहकलाई खाना डेलिभर गराइरहेका हुन्छन् भने कोही टोलटोलमा पुगेर म्युजिकल कार्यक्रम गर्छन्,’ निर्माता/निर्देशक असीम शाह भन्छन्, ‘प्रचारका आआफ्नै तरिका छन् ।’ फिल्मलाई व्यावसायिक रूपमा सफल बनाउन निर्माताले प्रमोसनमा बढीमा ३० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको उनको भनाइ छ ।

अचेल कस्तो भएको छ भने, प्रमोसनल सामग्री (गीत, ट्रेलर, टिजर आदि) बाट पनि आकर्षक आम्दानी हुन्छ । जस्तो कि, असीमकै फिल्म ‘दुई रुपैयाँ’ को प्रमोसनल सङ ‘कुटुमा कुटु...’ सर्वाधिक चल्यो । हालसम्म युटयुबमा यसको करिब ७ करोड भ्युज छ । १ करोड भ्युज हुँदा ५ लाखदेखि १० लाख रुपैयाँसम्म कमाइ हुने उनले बताए । ‘हामीले हाइलाइट्स नेपाललाई ९० लाखमा फिल्मको डिजिटल र इन्टरनेसनल राइट बेचेका थियौं,’ असीम भन्छन्, ‘उहाँहरूले गीतबाटै डिजिटल राइट किन्दाको लगानी उठाउनुभयो । यसलाई उहाँहरूको गुडलक मानौं ।’

युटयुबमा फिल्मसम्बन्धी कन्टेन्ट राख्ने हाइलाइट्स नेपाल, बूढासुब्बा डिजिटल, ओएसआर डिजिटल, म्युजिक नेपालजस्ता च्यानलले प्राय: सुरुमै फिल्मको सम्पूर्ण डिजिटल राइट किन्ने गरेका छन् । यसो गर्दा कहिले फाइदा त कहिले घाटा हुने गरेको बूढासुब्बाका नवराज गिरी बताउँछन् । ‘घाटालाई नाफा भएको फिल्मले कभर गरिदिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘सम्पूर्ण राइट्स किनेको छ भने नाफा सबै हाम्रो हुन्छ । पछि बाँडफाँड गर्ने सहमति छ भने त्यहीअनुसार हिसाब गर्छौं ।’

प्राय: २५ लाखदेखि ३० लाख रुपैयाँसम्ममा युटयुब एग्रिगेटर्सलाई फिल्मको डिजिटल अधिकार बेच्ने गरिएको निर्माताको भनाइ छ । एग्रिगेटर्सले सुरुमै फिल्म किन्ने सर्त मान्ने तर पछि बाँडफाँड गर्ने सर्तचाहिँ नमान्ने गरेको गोविन्द शाही बताउँछन् । ‘लिलीबिली’, ‘लभसभ’, ‘आभास’ जस्ता फिल्मका निर्माता शाही आफूहरू मारमा परेको ठान्दा रहेछन् । भन्छन्, ‘उहाँहरू प्रिसेल मात्र रुचाउनुहुन्छ । हामीले सुरुमै फिल्मको डिजिटल राइट बेच्नुपर्छ । पछि बाँडफाँड गर्ने गरी अहिलेसम्म कुनै निर्माता र युटयुब च्यानलबीच सम्झौता भएको छैन । हामी सुरुमै डिजिटल राइट बेच्न बाध्य छौं ।’

हाइलाइट्स नेपालका महाप्रबन्धक जनक तामाङ भने निर्माताहरूले गुनासो गर्नु व्यर्थ रहेको बताउँछन् । आफूहरूले कसैसँग जबरजस्ती गर्ने नगरेको दाबी गर्दै उनी भन्छन्, ‘दुई पक्षको समझदारीमा काम हुन्छ । दुवै पक्षलाई सुरुमा उत्तिकै रिस्क हुन्छ । फिल्म चल्छ भन्नेमा हामी ढुक्क हुँदैनौं, फिल्म धेरै चले के होला भन्नेमा उहाँहरू ढुक्क हुनुहुन्न । यो गेम यस्तै हो ।’ सुरुमै डिजिटल राइट नकिनिएका फिल्ममा ८०:२० को सम्झौता हुने उनको दाबी छ । यसको अर्थ हो— मुनाफाको ८० प्रतिशत निर्मातालाई र २० प्रतिशत युटयुब च्यानललाई ।

निर्मातासमेत रहेका अर्का फिल्म निर्देशक विकास आचार्यले चाहिँ आफूले युटयुब कम्पनी (एग्रिगेटर्स) सँग बार्टरमा सम्झौता गर्ने गरेका छन् । उनी फिल्मको प्रचारप्रसारको जिम्मा डिजिटल राइटहोल्डरलाई दिँदा रहेछन् । ‘यति गरेपछि मेरो पब्लिसिटी खर्च जोगियो,’ उनी भन्छन्, ‘राइट बेचेपछि उहाँहरूले त्यसबाट कति आम्दानी गर्नुहुन्छ भन्नेसँग मेरो सरोकार रहेन ।’

शाहीलाई भने खासमा युटयुब च्यानल र निर्माताबीच आधाआधा हिसाबले बाँडफाँड हुनुपर्छ भन्ने लाग्छ । ‘हामीकहाँ सिस्टम नै बसेको छैन,’ उनी भन्छन्, ‘कि त आफ्नै च्यानलबाट प्रमोसन गर्नुपर्‍यो कि, युटयुब कम्पनीहरू जे भन्छन् त्यही मान्नुपर्‍यो ।’ च्यानलहरूले ९९ वर्ष अर्थात् सधंैका लागि डिजिटल राइट किन्ने गरेकोप्रति पनि निर्माताको चित्त दुखाइ छ ।

बूढासुब्बाका गिरी आफूहरूले सुरुमा ‘अस्तित्व रहुन्जेल’ का लागि फिल्मको अधिकार किन्ने गरे पनि अचेल निर्मातासँग सल्लाह गरेर निश्चित अवधिका लागि मात्र डिजिटल अधिकार लिने गरेको दाबी गर्छन् ।

प्रकाशित : श्रावण १, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?