कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बक्सअफिसपछि हल वर्गीकरण

विदेशी विज्ञापनमा डबिङ गरेर मात्रै बजाउन नपाइने, नेपाली कलाकारै खेलाएको हुनुपर्ने

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले मंगलबार बक्सअफिस प्रणालीको सुरुआत गर्दै अब फिल्महलहरूको वर्गीकरण गरिने बताएका छन् ।

बक्सअफिसपछि हल वर्गीकरण

चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा मन्त्री बाँसकोटाले सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) लगइन गरी उपत्यकाभित्रका हलहरुमा चलिरहेका फिल्महरुको व्यापार हेरे । बोर्डले साउन १ देखि उपत्यकाभित्रका ११ मल्टिप्लेक्ससहित २० हललाई बक्सअफिसको केन्द्रिय प्रणालीमा जोडेको हो ।


‘सबै कुरा बनिसक्न त हजारौं वर्ष लाग्न सक्छ, तर जहाँबाट सम्भव छ, पहिलो पाइला त्यहींबाट चाल्नुपर्छ । त्यसैले आजदेखि उपत्यकाभित्र बक्सअफिस लागू भएको छ,’ मन्त्री बाँसकोटाले बक्सअफिस अब देशभर नै लागू हुने जनाउ दिंदै थपे, ‘अब हामी फिल्महलहरुको पनि एक प्रकारको वर्गीकरण गर्नेछौं । मन्त्रालयको पनि आवश्यक सपोर्ट र बोर्डले पनि आवश्यक लगानी गरी हामी ती सबै ठाउँमा जान चाहन्छौं । यसको उद्देश्य नै लगानीकर्ता सुरक्षित बनून्, कलाकारहरु भोको पेट नहिंडून्, परिश्रमको मूल्य पाऊन् भन्ने हो । यस क्षेत्रमा आउने राजश्व राज्यले पनि पाओस् । समग्रमा यो एउटा फिल्म उद्योग बनोस् ।’


बोर्डका सदस्यसचिव महेन्द्रप्रसाद साँखीले सरोकारवालाहरुको सुझावसहित बनाइएको बक्सअफिस सफ्टवेयरलाई आन्तरिक राजश्व विभागको स्वीकृतीमा हलहरुमा लागू गरिएको बताए । उनले सफ्टवेयरको सुरक्षण र विश्वसनियताका लागि सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा तथ्यांक संकलन गरिने र त्यहींबाट हरेक फिल्मको व्यापार तथ्यांक तत्कालै हेर्न मिल्ने गरी सम्बन्धित फिल्मका निर्माता र वितरकलाई व्यवस्था मिलाइएको जानकारी दिए । मंगलबारदेखि उपत्यकाका क्युएफएक्स, बिग, क्युज, एफक्युब, बीएसआर, सिने डी सेफ, सिटीम्याक्स मल्टिप्लेक्ससहित गोपीकृष्ण, अष्टनारायण, गंगा, कलंकी, गुण, विश्वज्योती, बाराही, पृथ्वी, सिद्धार्थ हललाई बक्सअफिसको केन्द्रिय प्रणालीमा समेटिएको हो ।


मन्त्री बाँसकोटाले विज्ञापनमा क्लिन फिल्ड पनि छिटै लागू गराइने घोषणा गरे । भने, ‘अब हामीले अर्को नीति पनि लिएर आएका छौं । विदेशी कलाकार अभिनित विज्ञापनलाई डबिङ गरेर विज्ञापन बजाउने परिपाटी बन्द गर्दै छौं ।’ यसलाई लागू गराउन हुन्छ कि हुँदैन भन्नेमा विवाद र दबाब दुवै भएको उल्लेख गर्दै उनले थपे, ‘यस्तो दबाब भित्रको मात्रै नभई अन्तको पनि आउन सक्छ । तर सरकार नकामीकन काम गर्छ ।’


त्यसै गरी, उनले पत्रकारको १ करोड रुपैयाँसहितको वृत्तिकोष सोमबारदेखि कार्यान्वयनमा आइसकेको जनाउँदै आउँदो वर्ष त्यसलाई ३ करोड रुपैयाँमा पुर्‍याउने बताए । ‘फिल्म क्षेत्र नेपाली जनजीवन, संस्कृति, परम्परा र देशकै गौरवसँग जोडिएको हुन्छ,’ उनले भने, ‘त्यसैले यो क्षेत्रले सरकारबाट जे अपेक्षा गरेको छ, त्यो क्रमश: पूरा हुँदै जान्छ ।’

प्रकाशित : श्रावण १, २०७५ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?