एमी अवार्डको मनोनयनमा नेपाली

लेखनाथ — टेलिभिजनको ओस्कार अवार्ड मानिने एमी अवार्डका दुई विधामा नेपाली फिल्मकर्मी मनोनयनमा परेका छन् । डकुमेन्ट्री फिल्म ‘कुकुर तिहार’ (डग वर्सिप फेस्टिभल) बाट जसवन्तदेव श्रेष्ठ ‘एमी अवार्ड, २०१८’ को उत्कृष्ट निर्देशक र उत्कृष्ट न्यारेटरको विधामा मनोनयनमा परेका हुन् ।

एमी अवार्डको मनोनयनमा नेपाली

अमेरिकाको प्रतिष्ठित नेसनल एकेडेमी अफ टेलिभिजन आर्टस् एन्ड साइन्सेसले प्रदान गर्ने एमी अवार्डको ७० औं शृंखलाको मनोनयन बिहीबार सार्वजनिक भएको थियो ।


अवार्डको हर्टल्यान्ड च्याप्टरमा उनी यसअघिका दुई शृंखलामा मनोनयनमा परिसकेका छन् । सन् २०१६ मा ट्राभल सो ‘इन माउन्टेन नेसनल पार्क’ मा उत्कृष्ट उद्घोषक र सन् २०१७ मा टीभी सिरिज ‘जर्नी विथ ज्याज’ बाट निर्माताको विधामा मनोनयनमा परेका थिए । यसपल्ट उत्कृष्ट निर्देशकतर्फ उनीसहित पाँच जना मनोनयनमा छन् । उत्कृष्ट न्यारेटरको विधामा भने दुई जना मात्रै प्रतिस्पर्धामा छन् । आगामी सेप्टेम्बरमा अवार्डको नतिजा घोषणा हुनेछ ।


एमी अवार्डमा चार पल्टसम्म मनोनयनमा पर्दा खुसी लागेको जसवन्तले बताए । ‘नेपाली कलासंस्कृतिको विषयमा बनेको डकुमेन्ट्री अमेरिकी प्रतिस्पर्धामा पुग्नु नै हाम्रो सफलता हो,’ अमेरिकाबाट उनले भने, ‘यसले मलाई थप हौसला प्रदान गरेको छ ।’ उनी १५ वर्षदेखि अमेरिकामा रहेर फिल्म निर्माण, निर्देशन र अभिनयमा सक्रिय छन् । इन्टरनेट मुभी डाटाबेसका अनुसार चारपल्ट एमी अवार्डमा मनोनयनमा पर्ने उनी पहिलो नेपाली हुन् ।


काठमाडौंका उनले पोखरालाई केही समय आफ्नो कार्यक्षेत्र बनाएका थिए । पोखरामा रहँदा उनले म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम उत्पादनमा आफ्नो छुट्टै छाप छोड्न सफल भएका थिए । उनी अभिनय र निर्देशन गर्नुका साथै कथा पनि आफैं लेख्छन् । पछिल्लो समय अमेरिकामा उनी टेलिभिजन सोमा ढल्केका छन् । सर्ट फिल्मलाई आफ्नो मुख्य विधा बनाएका छन् ।

प्रकाशित : श्रावण २, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?