नेपथ्य शैलीमा ‘गाउँगाउँबाट उठ...’

काठमाडौँ — श्याम तमोटको रचना र संगीतमा गायक रामेश, रायन, मञ्जुललगायतले गाएको ‘गाउँ गाउँबाट उठ...’ लाई अब नेपथ्य ब्यान्डको भर्सनमा सुन्न सकिनेछ । समूहले हालै यसको भिडियो पनि सार्वजनिक गरेको छ । तमोटले लेखेको ‘संकल्प गीत’ का रूपमा लोकप्रिय सिर्जनालाई ब्यान्डले लामो समयदेखि आफ्ना कन्सर्टमा सुनाउँदै आएको थियो ।

नेपथ्य शैलीमा ‘गाउँगाउँबाट उठ...’

ब्यान्डले आइटयुन, गुगलप्ले र स्पोटिफाईजस्ता ‘भर्चुअल स्टोर’ बाट गीत सार्वजनिक गरेको छ । ब्यान्ड व्यवस्थापक नेपालयलको विज्ञप्तिअनुसार नेपथ्यको दसौं एल्बममा यो गीत समेटिनेछ । भिडियोमा ब्यान्डको स्टेज कार्यक्रमका दृश्यको कोलाज देखाइएको छ । ‘एउटा कन्सर्टमा हामीले यो गीत गाइरहँदा रामेश र मञ्जुल दाइ पनि हेर्न आउनुभएको थियो,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘गीतलाई तन्नेरीमाझ लोकप्रिय बनाइदिएको भन्दै हामीलाई प्रोत्साहित गर्नुुभयो ।’

पञ्चायतकालमा यस गीतले सन्देश प्रवाह गर्दै जनताको हकअधिकारका निम्ति भएका आन्दोलनलाई सांकेतिक रूपमा सघाएको थियो । जनस्तरमा यसको लोकप्रियता यसरी चुलियो कि विसं. २०४६ र २०६२ को आन्दोलनमा जताततै बजेको थियो । पहिलो जनआन्दोलनलगत्तै बनेको फिल्म ‘बलिदान’ मा समावेश गर्नका लागि यसको व्यवस्थित रेकर्ड भएको थियो । ‘नेपथ्यले यस गीतलाई शान्ति र शिक्षा अभियानमा प्रयोग गरेको देख्दा म असाध्यै प्रभावित भएको छु,’ गीतकार तमोटलाई उद्धृ्रत गर्दै नेपालय भन्छ, ‘उनीहरूको संगीत प्रस्तुत गर्ने मौलिक तरिकाले यो गीतलाई अझ फराकिलो श्रोता घेरामा पुग्न मद्दत गरेको छ ।’

प्रकाशित : श्रावण ३, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?