कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बक्स अफिस कि ई–टिकेटिङ ?

काठमाडौँ — सरकारले साउन १ देखि लागू हुने गरी बक्स अफिस प्रणालीको घोषणा गरेलगत्तै फिल्मकर्मीमा खुसी र संशय दुवै देखिन थालेको छ । फिल्म व्यापार पारदर्शी हुने अवस्थाले सरोकारवाला निर्माता, वितरक तुलनात्मक रुपमा खुसी देखिएका छन् भने कतिपयले यसलाई रियल टाइम सेन्ट्रल डाटा कलेक्सन नहुने भएकाले बक्स अफिसभन्दा ई– टिकेटिङ मात्रै भएको टिप्पणी गर्न थालेका छन् ।

बक्स अफिस कि ई–टिकेटिङ ?

चलचित्र निर्माता संघ अध्यक्ष नवल खड्काले बक्स अफिसका लागि पहिलो कदम भए पनि पर्याप्त नभएको उल्लेख गरेका छन् । तर चलचित्र विकास बोर्डले भने बक्स अफिस नै भएको र यसमा शंका नगर्न सरोकारवालालाई अनुरोध गरेको छ । बक्स अफिसबारे फिल्मकर्मीको धारणा यस्तो छ :

चलचित्र विकास बोर्डले सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सीसीएमएस) मार्फत फिल्म दर्ता प्रक्रियादेखि प्रदर्शनसम्मको सम्पूर्ण प्रक्रिया सूचीकृत गर्न खोजिरहेको छ । फिल्मको व्यापारमा केन्द्रित रहने बक्स अफिस पनि यसैको एक भाग हो ।

अहिले नै बक्स अफिसमार्फत टिकेटिङ र रेभेन्यु हेरिएको छ । बोर्डले पछिल्ला दिनमा फिल्म दर्ता गर्न आउँदा नै सबै डाटा लिन्छ । अहिले नै भने सेन्सर जाँचपासका लागि सिफारिस लिन आउँदा बोर्डले बक्स अफिसका लागि आवश्यक डाटा लिनेछ । डाटा इन्ट्री गरिसकेपछि प्रदर्शकलाई बोर्डले उपलब्ध गराएको फिल्म र हलको कोडका आधारमा सम्बन्धित हलले सोज निकाल्नेदेखि बुकिङ खुल्ला गर्ने र टिकट बिक्री गर्ने काम गर्छ । अहिले सबै हलबाट रियल टाइममा डाटा कलेक्सन गर्न इन्टरनेटको क्षमता बढी चाहिने र ओभर लोड हुने जोखिम देखिएकाले आधा घण्टाको विन्डो पिरियड राखेका छौं । यसो गर्दा हलवालाले तलमाथि पार्ने सम्भावना एकदमै न्यून हुन्छ । यसमा सर्भर एडिट गर्न सकिने र कसले कुन समयमा लग इन गरेको थियो भन्ने सबै डाटा लिन सकिन्छ । दुई साताभित्रै हामी डाटालाई रियल टाइमको १५ मिनेटभित्रमा ल्याउनेछौं ।

निर्देशक समाज अध्यक्ष वा चलचित्र विकास बोर्डकै सदस्य हुँदा पनि मलाई फिल्मको पारदर्शी व्यापार हुनुपर्छ र हलवालाले निर्मातालाई चुरोटको खोलमा हिसाब देखाएर अपमानित व्यवहार र शोषण गरेको देख्दा यसलाई रोक्ने उपाय भनेको बक्स अफिस लागू नै हो भन्ने ठानेर मैले २०६९ पुस २ देखि बक्स अफिसको मुख्य मुद्दासहित चलचित्र विकास बोर्डकै प्रांगणमा आमरण अनशन बसेको थिएँ । लगातार चार दिन बसेपछि तत्कालीन सञ्चार मन्त्री राजकिशोर यादवले माग पूरा गराउने प्रतिबद्धतासहित अनशन तोडे । तर डेढ महिना बित्दा पनि कुनै प्रगति नभएपछि पुन: रिले अनशन बसेका थियौं । बक्स अफिस भएपछि कम्तीमा फ्लप नै भएका फिल्मले पनि आफ्नो सही हिसाब पाउनेछन् । अहिलेकै अवस्थामा बोर्डले बक्स अफिस भने पनि यो ई–टिकेटिङ मात्रै हो । पूर्ण छैन । यसको केन्द्रीय तथ्यांक राखिनुपर्छ । अनेक बहानामा ई– टिकेटिङमै सीमित गर्ने डर पनि छ । राज्य यसमा चनाखो हुनु आवश्यक छ ।

ई–टिकेटिङ मात्रै भन्न त मिल्दैन, तर अहिलेको अवस्थामा म्यानुपुलेसनको डर पनि उत्तिकै छ । चुनावी नारामा भनिएजस्तो फिल्मको बिजनेस घरमै बसेर प्रत्यक्ष हेर्न पाइन्छ भन्ने हैन । प्राविधिक हिसाबले पनि अहिले नै त्यो भार थेग्न सक्दैन । नियत सफा छैन भने अहिले पनि चलखेल हुन सक्छ । यदि नियत सफा नै हुने हो भने हामीलाई अहिले नै बक्स अफिस हार्ड एन्ड फास्ट रूपमा चाहिएको पनि थिएन । यसले गर्दा साना हलहरूमा पनि बक्स अफिसका लागि प्राविधिकदेखि उपकरण राख्नुपर्दा खर्चले धान्न नसकी बन्द हुने अवस्था देखिन्छ । देशका ७० प्रतिशत सिंगल स्क्रिनमा यो क्षमता छैनजस्तो लाग्छ । जसले गर्दा धेरै हल बन्द हुन सक्छन् । यदि बन्द भएनन् भने पनि बुझ्नुपर्छ, त्यहाँ आर्थिक चलखेल सुरु भएछ । अहिले नै बक्स अफिसका कारण हिसाब पारदर्शी हुँदा ५ लाख रुपैयाँ बढी आउला तर ४०–५० वटा हल बन्द हुँदाको घाटा के गर्ने ?

मेरो पालामा ९० प्रतिशत अघि बढिसकेको बक्स अफिसले पूर्णता पाएको छ । यसमा खुसी छु । तर केही संरचना परिवर्तन पनि गरिएको छ । मैले देशभरको डाटालाई बोर्डले कन्ट्रोल गर्ने गरी सञ्चालक समिति बनाउने तयारी गरेको थिएँ, जुन समितिमा निर्माता, वितरक, प्रदर्शक, समीक्षकसहितको पाँच सदस्य रहने भन्ने थियो । तर अहिलेको अवस्थामा डाटा बोर्डको अधीनमा नभई आन्तरिक राजस्व विभागमा गयो भन्ने लाग्छ । अहिलेको अवस्थामा यसलाई बक्स अफिस नभई ई–टिकेटिङ मात्रै हो भन्ने कुरा पनि एक प्रकारले सही हो जस्तो लाग्छ । तर जे भए पनि हामी फिल्म व्यवसायको हिसाबमा एक कदम अघि बढेकै छौं । परिस्थितिअनुसार परिमार्जन गर्दै लानुपर्छ ।

-प्रस्तुति : सुशील पौडेल

प्रकाशित : श्रावण ३, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?