कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फिल्म सिटी गण्डकीमा’

लेखनाथ — दोलखामा फिल्म सिटी पुगेपछि सेलाएको पोखराको प्रसंग प्रधानमन्त्रीको अभिव्यक्तिपछि पुन: उप्किएको छ । गण्डकी प्रदेशसभाको बैठकलाई बिहीबार पोखरामा सम्बोधन गर्ने क्रममा उनले फिल्म सिटीको सन्दर्भ ल्याए ।

‘फिल्म सिटी गण्डकीमा’

प्रधानमन्त्रीले पोखरालाई आधार बनाएर गण्डकी प्रदेशमै फिल्म सिटी निर्माण गर्ने योजना सुनाए । फिल्म सिटीको सम्भाव्यता अध्ययन गर्न एउटा भारतीय टोली शनिबार नेपाल आउन लागेको उनले बैठकमै बताए । उनका अनुसार टोलीमा भारतीय फिल्मकर्मी, कलाकार एवं सांसदसमेत हुनेछन् ।

चर्चित फिल्म निर्देशक सुवास घई नेतृत्वको टोलीले गण्डकी प्रदेशमा फिल्म सिटीका लागि उपयुक्त स्थान हेर्ने छ । ‘फिल्म सिटीको लागि यसै भेगका ठाउँ हेर्नुस् भनेको छु,’ उनले भने, ‘किनभने फिल्म सिटी सबैभन्दा उपयुक्त हुने गण्डकीमै ठानेको छु ।’ टोलीलाई तनहुँ र गोरखा, मस्र्याङ्दी नदी आसपास, विमलनगर, पालुङटारलगायत स्थान हेर्न सुझाएको उनले बताए ।

फिल्म सिटी बनाउँदा मुस्ताङ र मनाङ फिल्म सुटिङको असाधारण थलो हुने उनले उल्लेख गरे । ‘फिल्म सिटी भयो भने दुई वर्षभित्र आधा मुम्बई यहाँ सर्छ,’ उनले भने, ‘मुम्बईमा समुद्र मात्रै देख्न पाइने हो । यहाँ हिमाल, ताल सबै देख्न पाइन्छ । रेगिस्तानजस्तो मुस्ताङ खिच्न पाइन्छ । यत्तिकै अमिताभ बच्चन आएका होइनन् ।’

उनले असोज–कात्तिकमा भारतका चर्चित कलाकार नेपाल ल्याएर भव्य कार्यक्रम गर्ने सरकारको योजना रहेको पनि सुनाए । प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले भने, ‘त्यो कार्यक्रम तपाईंहरूले यहाँ आयोजना गर्न सक्नुभयो भने पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पुर्‍याउँछ ।’

यसअघिदेखि नै फिल्म सिटी गण्डकी प्रदेशमै बनाउने उनको चाह देखिन्छ । २०७२ पुस १३ मा उनले एउटा फिल्मको म्युजिक रिलिज इभेन्टमा दोलखामा फिल्म सिटी बन्न नसक्ने अभिव्यक्ति दिएका थिए । सबै मौसमको लागि उक्त स्थान उपयुक्त नभएकोले गोरखाको पालुङटार वा तनहुँको चुँदीरम्घामा स्मार्ट सिटी बनाएर फिल्म स्टुडियो बनाउनुपर्ने सुझाव उनले त्यतिखेरै दिएका थिए ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?