कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गाउँ चिनाउन वृत्तचित्र र म्युजिक भिडियो

आश गुरुङ

नोसों (मनाङ) — हिमाली जिल्ला मनाङको नासों गाउँपालिका-८, ताचैका स्थानीयले गाउँ चिनाउन वृत्तचित्र र म्युजिक भिडियो बनाएका छन् । चक्रीय अन्नपूर्ण पदमार्गसँगैको ताचै गाउँ ओझेल परेको भन्दै उनीहरुले वृत्तचित्र र म्युजिक भिडियोका साहरा लिएका हुन् ।

गाउँ चिनाउन वृत्तचित्र र म्युजिक भिडियो

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वृत्तचित्र र म्युजिक भिडियो बनाएर प्रचारप्रसारमा गाउँले जुटेको तत्कालीन जिल्ला विकास समिति पूर्व उपसभापतिसमेत रहेका राज घलेले बताए । वृत्तचित्र र म्युजिक भिडियोमा आतिथ्य सत्कार, चालचलन, रहनसहन, परम्परागत कला तथा संस्कारसंस्कृति, प्राकृतिक दृश्यलगायत समेटिएको छ ।


सुटिङ व्यवस्थापक सोलबहादुर गुरुङका अनुसार हरेक चैत्रऔंसीको ३ दिनमा घरघरै चामल उठाएर पूजापाठ गर्ने चलन छ । उक्त चामल टों देवताको नाममा जाँडा बनाएर राख्ने र सातौं दिनमा गाउँले मिलेर मृग छोपी ल्याउने र त्यसको भोलिपल्ट टों देवतालाई चढाउने गरिन्छ । ‘जिउँदो मृग छोपी हामी टों देवतालाई चढाउँछौं । यो संसारकै नयाँ चलन हो । यो हाम्रो संस्कारसंस्कृति हो । यसलाई बृत्तचित्रमा र म्युजिक भिडियोमा देख्न सकिन्छ’ उनले भने ।


म्युजिक भिडियोमा गाउँका सवै विषयबस्तु समेट्न नसकिएपछि स्थानीयले वृत्तचित्र निर्माण गरेका हुन् । यसका निर्देशक लब्सन गुरुङका अनुसार समुद्री सतहदेखि ४ हजार ५ सय मिटर उचाईको यार्सागुम्बा टिप्ने लेकमा पुगेर स्थानीयको जनजीवनबारे छायांकन गरिएको छ । भेंडाबाख्रादेखि चौंरी पालेर जीविकोपार्जन गरेका दृश्य वृत्तचित्र तथा म्युजिक भिडियोमा देख्न सकिन्छ । करिब ४० मिनेटको वृत्तचित्र र ५ मिनेटको म्युजिक भिडियोलाई सन्तोष पिठाकोटी मगरले छायांकन गरेका हुन् । गीत खुसबहादुर गुरुङले लेखेका हुन् । एरेन्जर तेजेन्द्र गुरुङले गरेका छन् । यसमा गाउँबाट देखिने अन्नपूर्ण र मनास्लु हिमाललाई आकर्षक ढंगबाट देखाइएको छ ।



ताचै गाउँवासी समेत रहेका नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले भने,-‘हामी ताचैबाट हरेक गाउँलाई जोड्ने गरी पदमार्ग बनाउन चहान्छौं । म्युजिक भिडियो र बृत्तचित्र गाउँको प्रचारप्रसारको सुरुवाती कार्य हो ।’


चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले म्युजिक भिडियो र वृत्तचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गाउँलाई चिनाउन सके स्थानीयको जनजीवनमा सकरात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

प्रकाशित : श्रावण ४, २०७५ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?