चाड महिलाको, गीत पुरुषको

सजना बराल

काठमाडौँ — तीज आउन झन्डै डेढ महिना बाँकी छ, सांगीतिक माहोल भने सुरु भइसकेको छ । भदौ २७ मा परेको तीज (हरितालिका) लाई लिएर अहिले नै धमाधम म्युजिक भिडियोहरू रिलिज भइरहेका छन् । रोचक के भने, तीज गीतमा बिस्तारै पुरुष स्वर हावी हुँदै गएको छ ।

गायकहरू खुमन अधिकारी, पशुपति शर्मा, रामजी खाँडलगायत तीज गीतमा सर्वाधिक चलेका गायक हुन् । उनीहरू पछिल्लो समय रेकर्डिङ र भिडियो सुटिङमा व्यस्त छन् ।

खुमनले एक महिनाबीच २४ वटा भाका गाइसकेका छन् । ‘यस पटक तीजको छन्द नआउने गीत गाउन इन्कार गरिदिएँ,’ उनी भन्छन्, ‘यसो गर्दागर्दै पनि कतिपय दिदीबहिनीलाई नाइँ भन्न नसकेर दुई दर्जन गीत गाइयो ।’

तीज गीतका थरिथरि भिडियोमा थरिथरि रूपरंगमा देखिँदै आएका पशुपतिले हालसम्म ‘गोली मार्दे पुतली...’, ‘लौरी हरायो...’, ‘रेलैमा फरर...’ जस्ता भाका बाहिर ल्याइसकेका छन् । अघिल्ला वर्षको तुलनामा यसपालि निकै कम गाएको उनी बताउँछन् । ‘पोहोर–परार ११ वटासम्म गाएको थिएँ,’ उनी भन्छन्, ‘धेरै गाउनुभन्दा राम्रा गाउनुपर्छ भन्ने लागेर संख्या घटाएको
हुँ । यो पालि चारवटा गाएको छु । अब थप गाउँदिनँ ।’

महिलाको चाड भए पनि पुरुषहरूले सर्वाधिक गाउनुलाई लिएर कतिपयले खिसीटयुरी गर्ने गरेका छन् । यस विषयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पनि बहस भएको गायिका राधिका हमाल बताउँछिन् । ‘नारी–पुरुष बराबर भनिरहेका बेला तीजलाई किन महिलाप्रधान बनाउने भन्ने प्रश्न उठ्यो,’ प्रतिष्ठानकी महिला सचिवसमेत रहेकी उनी भन्छिन्, ‘तर, यो मूलत: महिलाकै चाड भएकाले मैले चाहिँ एकल स्वरमा पनि तीज गीत गाएकी छु ।’

पशुपतिलाई भने तीजमा महिलाले मात्र गाउनुपर्छ भन्ने कुरा वाहियात लाग्छ । उनी यो पर्वमा पुरुषको अहं भूमिका हुने भएकाले आफूहरूले गाउँदा निन्दा र खिसी गर्नु जायज मान्दैनन् । भन्छन्, ‘दिदी–भाइ, दाजु–बहिनी, श्रीमान–श्रीमती, सासू–ससुरा सबै जोडिन्छन् तीजमा । तीजसँग पुरुषको यत्रो सम्बन्ध हुँदाहुँदै पुरुषले गाए भनेर घोचपेच गर्न सुहाउँदैन । तीज महिलाहरूको चाड भएकाले गायनमा पनि उनीहरूलाई नै प्राथमिकता चाहिँ दिनैपर्छ । त्यसो गर्दा कम्तीमा महिला प्रतिभाले अवसर पाउँछन् । त्यही भएर मैले अहिलेसम्म सोलो तीज गीत गाएकै छैन ।’

गायकहरूको कुरा छँदै छ, तीजका बेला मोडलहरूको व्यस्तता पनि उत्तिकै बढ्ने गरेको छ । प्रकाश सपूत, अञ्जली अधिकारी, सन्दीप न्यौपाने, आरुषी मगर, करिश्मा ढकाल जस्ता मोडल तीज गीतका म्युजिक भिडियोमा अचेल राम्रै छाएका छन् । ‘मैले हालसम्म ४० वटा तीजे भिडियोमा काम गरिसकें,’ गायकसमेत रहेका प्रकाश भन्छन्, ‘साउनभरिमा ५० नाघ्छ ।’ उनी एउटा भिडियो खेलेबापत् १५ हजारदेखि २० हजारसम्म पारिश्रमिक लिन्छन् । दिनमा तीन वटासम्म भिडियो सुट गर्ने गरेका छन् । यस पालीको अर्को पक्ष के छ भने, दिनकै नयाँ गीत बाहिर आइरहे पनि तीमध्ये कुनै चर्चित बनेका छैनन् ।

व्यक्तिगत अनुभवलाई तीज गीतमा उतार्दै आएकी कोमल वलीले यस पटक माननीय हुँदा भोग्नुपरेका भनसुनका सन्दर्भलाई प्रसंग बनाएकी छन् । पशुपतिसँगको दोहोरीमा कोमलले आफूलाई आदर्श सांसदका रूपमा प्रस्तुत गर्न भ्याएकी छन् । ‘माननीयज्यू...’ बोलको गीतमा उनले सिस्टमप्रति आरोप लाउँदै आफूलाई भने यसरी आदर्श बनाएकी छन् :

देश लुटेर खाने यहाँ रैछ चलनचल्ती
हजुरकी छोरीले गर्ने छैन गल्ती...

पछिल्लो समय सार्वजनिक भाकामध्ये कोमलको यो गीत युट्युबको ट्ेरन्डिङ सूचीमा पनि परेको छ । योसँगै उनले अर्को तीज भाका पनि बजारमा ल्याएकी छन् । असारमै रिलिज गरिएको ‘आऊ दिदीबहिनी हो...’ मा उनलाई उनकी दिदी प्रज्ञा शरदले गायनमा साथ दिएकी छन् ।

राधिकाले यसपालि मात्रै १४ वटा तीज गीत रेकर्ड गराइसकेकी छन् । उनका ‘जन्मघर माइतैमा...’, ‘शिरैमा शिरफूल...’, ‘रातै चोली रातै साडी...’ जस्ता गीतहरू सार्वजनिक भइसकेका छन् । गत वर्ष उनले ५४ वटा तीज गीत गाएकी थिइन् । ‘आम्दानीको मौसम पनि हो यो,’ उनी भन्छिन्, ‘प्रतिगीत १५ हजार रुपैयाँ पारिश्रमिक लिन्छु ।’

नयाँ र स्थापित दुवै थरी गायक– गायिकालाई यति बेला तीज गीतकै चटारो छ । अनु राना मगर, राजेन्द्र कँडेल, अञ्जु गौतम, कल्पना गुरुङ, प्रकाश ढकाल जस्ता नवगायकगायिकाले आफ्नो स्वरलाई तीज लयमा उतारेका छन् । अनु र राजेन्द्रले ‘तीज आएको बेला...’ गीतमा नाचगान गर्दै चाडपर्व मनाऔं भन्ने सन्देश दिएका छन् । वियोगान्तभन्दा मनोरञ्जक गीत गाउनु उचित लाग्ने उनीहरूको भनाइ छ ।

अञ्जुले ‘ढल्कीढल्की जान्छु माइत...’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । अविवाहित युवतीका तीजे मनोकांक्षा समेटिएको गीत राजकुमार बगरले लेखेका र संगीतबद्ध गरेका हुन् । बगरले यसमा आधुनिक गीतको स्वाद आउने गरी कम्पोजिसन गरेका छन् । कल्पना गुरुङ, रामु रावत र वीरबहादुर केसीले भने, ‘भाँचम् कम्मर भाँचम्...’ बोलको गीत ल्याएका छन् । कृष्ण सुवेदी र मालती रानाले ‘तिरिरि बज्यो मुरली...’ गाएका छन् भने मधुसूदन डाँगी र पुजा बिहानीले ‘धागो चर्खाले...’ मा भाका हालेका छन् ।

घटदै स्तर
एकै गायक वा गायिकाले एक सिजनमा ५४ वटासम्म ‘तीज गीत’ गाएको रेकर्ड भए पनि हरितालिका तीजका दिन गुन्जिने भनेको उही ‘तीजको लहर आयो बरी लै...’ नै हो । यत्तिका नयाँ गीतमध्ये किन कुनै गीत दोस्रो तीजसम्म टिक्दैनन् ? वरिष्ठ लोकगायक नारायण रायमाझी भन्छन्, ‘अचेल तीज गीत बनेकै छैनन् । तीजको नाममा उत्ताउला गीत गाउने चलन छ । स्रष्टाहरू पनि बढी व्यावसायिक भए । यस्तो हुँदा उनीहरूमा संस्कृतिप्रतिको संवेदनशीलता हुँदैन, गीत बिकाउने ध्याउन्न मात्र हुन्छ ।’

साथीसंगीले जेठदेखि नै तीज भाका रेकर्ड गरेर म्युजिक भिडियो सार्वजनिक गरिसक्दा पनि पुरानी गायिका लक्ष्मी न्यौपाने अझै समय कुरेर बसेकी छन् । पर्व आउनु एक महिनाअघि मात्रै नयाँ भाका निकाल्ने उनको योजना छ । ‘बेला छ अझै,’ उनी भन्छिन्, ‘अहिले तयारी गर्दै छु ।’

तीज गीत भन्नासाथ उहिलेकै जस्तो चुरा, पोते, व्रत, माइतका कुरा मात्र गाइरहनु नपर्ने नयाँ पुस्ताको बुझाइ छ । यसलाई सधैं रुन्चे शैलीको बनाउनुभन्दा नयाँ कन्सेप्टमा गाउन खोज्नुपर्ने नवगायिका भूमिका गिरी बताउँछिन् । ‘दिदी–बहिनीबीचको संवाद शैलीमा मैले तीज गीत गाएकी छु,’ उनले भनिन्, ‘पुराना गीत चले भन्दैमा त्यस्तै दोहोर्‍याउनु भएन, त्यसैले आफ्नै तरिकाले गाएँ ।’ उनले ज्योति मगरसँग ‘विकृति...’ बोलको तीजे दोहोरी पनि गाएकी छन् ।

तर, समय बदलिए पनि तीज गीतलाई हल्काफुल्का बनाउन नहुने अग्रजको राय छ । गायक रायमाझी भन्छन्, ‘पहिले पनि कहाँ वेदना मात्र गाइन्थ्यो र ? तीज गीतमा सामाजिक जनजीवन उतारिएको हुन्थ्यो, शालीन व्यंग्य हुन्थ्यो । अहिले त्यस्तो छैन ।’

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण ७, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फिल्म सिटी कता !

पोखरा (गण्डकी प्रदेश) मा फिल्म सिटी बनाउने भनेर करिब सात वर्षअघि देखाइएको सपना दोलखा हुँदै फेरि गण्डकी प्रदेशतिरै फ्यााकिएको छ ।
सुशील पौडेल, राजेन्द्र मानन्धर

काठमाडौँ — चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीले कास्कीको धिताल गाउँमा फिल्म सिटी बनाउने घोषणा गरिदिए । फिल्मकर्मी उदय सुब्बाको संयोजकत्वमा निर्माण समिति बनाउँदै स्टुडियो निर्माणका लागि सरकारसमक्ष दुई अर्ब बजेट पनि माग गरे ।

यसै पनि सुन्दर नगरी पोखरामा फिल्म सिटी बन्ने भएपछि उत्साहित स्थानीय बासिन्दाले जग्गासमेत उपलब्ध गराइहाले । तर उनै भण्डारीले आफ्नै कुरा काट्दै २०६८ फागुनमा नेपाल चलचित्र निर्देशक समाजले दोलखामा आयोजना गरेको फिल्म कार्यशालामा गएर भनिदिए, ‘फिल्म सिटी अब दोलखामा बन्छ ।’ त्यसपछि पोखरा सेलायो, दोलखा तात्यो ।

सरकारले १५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको दोलखाको फिल्म सिटी परियोजनामा फेरि अन्योलको अवस्था आयो । –
मदनदास श्रेष्ठ ,वरिष्ठ कलाकार

साढे छ वर्षमा दोलखा जति तात्यो, त्यति न बोर्ड तात्यो न त सरकारै । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा निर्माण समिति बनाउनु र छिटपुट सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनका काम गर्नुबाहेक ठोस केही हुन सकेन । बरु यसलाई आधार बनाएर राजनीति चलिरह्यो । चार महिनाअघि मात्रै तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दोलखाको भीमेश्वर नगरपालिका ८ र ९ वडाका लाँकुरी डाँडा र डाङडुङे डाँडा ओगट्ने १५ सय वर्गकिमि क्षेत्रफलको फिल्म सिटीको उद्घाटन गरिदिए । र, भने, ‘अब अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणका लागि बाटो खुल्यो । कुनै पनि सरकारले यसलाई रोक्न सक्दैन । फिल्म सिटी दोलखामा बनाउन सरकारी लाहाछाप लागिसक्यो ।’ बस्नेतले उता भाषण गरिरहँदा यता उनको मन्त्री पद खुस्किसकेको थियो ।

पाँच दशक लामो इतिहास बोकिसकेको भए पनि नेपाली फिल्मका लागि सुटिङका लागि लोकेसन खोज्नु सर्वाधिक कठिनाइ बनिरहेको छ । सडक, आवास र होटलको सुविधासहितका फिल्म सिटी फिल्मका लागि अपरिहार्य बनिसकेका छन् । त्यसो त नेपाललाई खुल्ला प्राकृतिक फिल्म नगरी पनि भनिन्छ, तर सुन्दर दृश्य देखिने अधिकांश स्थानमा विद्युत्, सडक, आवास र खानपानको व्यवस्था नहुँदा चाहेर पनि खिच्न जान मुस्किल छ । त्यसैले पनि फिल्म सिटीको माग टड्कारो बनेको हो ।

गणेश भण्डारीपछि आएका बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताका पालामा पनि दोलखामा फिल्म सिटीका लागि तत्कालीन सूचनामन्त्री माधवप्रसाद पौडेलसहितको टोली २०७० मंसिर २२ मा स्थलगत निरीक्षणका लागि पुगेको थियो । त्यसबेला पनि मन्त्री पौडेलले दोलखावासीलाई साक्षी राखेर भनिदिए, ‘संविधान सभापछि बन्ने राजनीतिक सरकारले पनि अब फिल्म सिटीका लागि दोलखालाई परिवर्तन गर्न सक्दैन ।’ उनले आफ्नै कार्यकालमा फिल्म सिटीसम्बन्धी मस्यौदा तयार गरी विशेष जिम्मेवारीसमेत तोकिएको बताउन भ्याए । समुद्र सतहदेखि ३३ सय मिटर उचाइमा रहेको उक्त क्षेत्रमा फिल्म सिटी बने त्यो संसारकै उचाइमा अवस्थित हुने कुराले दोलखावासी समेत दंग थिए । राजधानीदेखि ११० किलोमिटर मात्रै गुडेपछि जुगल र गौरीशंकर हिमाल देखिने उक्त क्षेत्रमा फिल्म सिटी हुने भएपछि केन्द्रका फिल्मकर्मी पनि उत्तिकै खुसी थिए ।

तर दोलखाका लागि बाधक बने प्रधानमन्त्री केपी ओली । अघिल्लै पटक प्रधानमन्त्री बन्दा ओलीले फिल्म सिटी दोलखामा नहुने भनिदिए । ‘हप्तामा २ दिन त्यो पनि २ घण्टा घाम लाग्ने डाँडामा फिल्म सिटी उपयुक्त हुँदैन,’ बजेट विनियोजन भईवरी काम अघि बढ्दै गरेको परियोजनालाई ठट्यौलो शैलीमा उनले भनिदिए, ‘हिरोसँग रिसाएर हिँडेकी हिरोइन रिसाएर खोलामा हामफाल्ने ठाउँ पनि छैन । अनि हिरोले कसरी बचाओस् ? न झोलुंगे पुल नै छ । रिसाएर माइत जान्छु भन्दा गाडीको बाटो पनि छैन !’ ओलीको भनाइपछि दोलखावासीले उनको पुत्लासमेत जलाए । तर ओलीको मन फर्केन । यस पटक त फिल्म सिटीका लागि बजेटै विनियोजन भएन ।

ओलीले आइतबार मात्रै एउटा भारतीय टोलीसँग भेटे । एस्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइजेजका अध्यक्ष सुवास चन्द्रा, भारतीय राज्यसभा सदस्य अमर सिंह र कलाकार जया प्रदाको टिमलाई भेट्नुको उद्देश्य फिल्म सिटी नै हो । उक्त टोली फिल्म सिटीको सम्भाव्यता अध्ययनका लागि ओलीको निमन्त्रणामा आएको हो । टोलीलाई ओलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारमा स्थलगत अध्ययनका लागि पठाए । यस कदमले दोलखामा फिल्म सिटी बन्नेमा पुन: शंका उब्जेको छ ।

ओलीले २०७२ पुस १३ मै एउटा फिल्मको कार्यक्रममा पहिलो पटक फिल्म सिटी दोलखामा नहुने भन्दै गोरखाको पश्चिम तटीय भूभाग, तनहुँको पूर्वी मस्र्याङ्दी किनार, लमजुङको दक्षिण, गोरखाको पालुङटार र तनहुँको चुँदी रम्घामा एकाध वर्षमा स्मार्ट सिटी बन्ने र त्यहीं सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी पनि बनाउने योजना सुनाएका थिए । यतिबेला गण्डकी प्रदेशमा फिल्म सिटी हुनुपर्ने भन्दै भारतीय टोलीसँगको उनको भेटघाट यसैको निरन्तरता बनेको छ ।

गत आर्थिक वर्षमा सरकारले एक करोड विनियोजन गरेपछि विस्तृत परियोजना प्रतिवेदनको कामसहित १२ करोड ४२ लाखको साढे ६ किलोमिटर दुई लेनको कालोपत्रे सडकको टेन्डर भई काम सम्पन्न हुने अवस्थामा पुगेको दोलखाको फिल्म सिटी निर्माणमा यतिबेला एकाएक अन्योल छाएको छ । खानेपानीको पाइप बिछ्याउने तयारी भइरहेको छ । विद्युतीकरणको कार्य भइरहेको छ । भवन तथा सहरी विकास कार्यालयले आवास र शौचालय निर्माण गरेको छ । दोलखा फिल्म सिटीका अभियन्ता मदनदास श्रेष्ठ भन्छन्, ‘सरकारले १५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको दोलखाको फिल्म सिटी परियोजनामा फेरि अन्योलको अवस्था आयो ।’

फिल्म सिटी निर्माणको आवाज जति चर्को स्वरमा उरालिएको छ, त्यस अनुरूप स्वार्थगत समूहहरूको चलखेलले गर्दा स्थान सरेको सर्‍यै छ । पाँच वर्षअघि दोस्रो संविधानसभामा तत्कालीन एमालेबाट काठमाडौं क्षेत्र नं. ७ मा निर्वाचित अष्टनारायण हलका सञ्चालक रामवीर मानन्धरले दोलखामा नभई चोभारमा फिल्म सिटी बन्नुपर्ने बताएका थिए । त्यसैगरी, राष्ट्रिय चलचित्र नीति कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका संयोजक यादव खरेलले सडक, आवास र होटल जस्ता पूर्वाधारको विकास नै नगरी राजनीतिक निर्णयका आधारमा फिल्म सिटी नबन्ने भन्दै घुमाउरो गरी दोलखाको सट्टा बरु बालाजुमा रहेको २८ रोपनी क्षेत्रफलको नेपाल चलचित्र विकास कम्पनीलाई नै विकास बोर्ड ल्याई फिल्म सिटीमा विकास गर्न सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएका थिए । तर ओली सरकार कसैको कुरा सुन्ने पक्षमा देखिँदैन । सरोकारवाला स्वदेशी फिल्मकर्मी र विज्ञको रायसल्लाहबिनै सरकारले भारतीय टोलीलाई झिकाएर गण्डकी प्रदेशमा फिल्म सिटी निर्माणमा जुट्न खोजेको छ ।

प्रकाशित : श्रावण ७, २०७५ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT