१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फिल्मदेखि विरोध प्रदर्शनसम्म

युटयुब ट्रेन्डिङ

काठमाडौँ — दुई वर्षअघि ‘झुम्की’ फिल्म प्रदर्शन हुँदा हलमा दर्शक संख्या न्यून थियो । अहिले यही फिल्म युटयुबमा आउँदा अपलोड भएको तीन दिनमै ट्रेन्डिङको अघिल्लो स्थानमा आइपुगेको छ । सोमबारसम्म भ्युज झन्डै दस लाख पुग्दा बाह्र सय प्रतिक्रिया थिए ।

फिल्मदेखि विरोध प्रदर्शनसम्म

अपिल विष्ट निर्देशित फिल्मलाई लिएर अधिकांशले सकारात्मक टिप्पणी पोस्ट गरेका छन् । यस्तै नयाँनयाँ फिल्म हेर्न पाउने अपेक्षा पनि गरेका छन् ।

नेपाली फिल्म वा फिल्मी कन्टेन्ट यसरी युटयुबमा चर्चित हुनु, दर्शकले तारिफ गर्नु र नयाँनयाँ फिल्म अपलोडको आग्रह आउनु सकारात्मक मान्न सकिन्छ । के नेपाली फिल्मप्रति दर्शकको चासो बढेको हो ? त्यसो भए हलमा पनि दर्शकको लोभलाग्दो उपस्थिति किन छैन ?

यसबारे निर्देशक एवं कलाकार निश्चल बस्नेत भन्छन्, ‘युटयुबको ट्रेन्डिङमा पर्नु र फिल्म हलमा चल्नु फरक कुरा हुन् । युटयुबमा हेर्नेमध्ये एकदुई प्रतिशत मात्र हलसम्म पुग्छन् । युटयुबमा जस्तोसुकै फिल्मले पनि राम्रो प्रतिक्रिया पाउने सम्भवना बढी हुन्छ किनभने त्यहाँ दर्शकले हलमा हेरेजत्तिको थिएट्रिकल अपेक्षा राखेका हुँदैनन् । आफ्नो फुर्सदमा र नि:शुल्क हेरिरहँदा फिल्मप्रति त्यति विघ्न आग्रह/पूर्वाग्रह हुँदैन । राम्रा फिल्मसमेत हलमा नचल्नु चाहिँ प्रचारको कमीले हो ।’

निश्चल युटयुबमा सम्पूर्ण फिल्म राख्नु हुँदैन भन्ने पक्षका हुन् । यसले अनलाइनका अन्य प्लेटफर्मबाट हुने आम्दानीको बाटो रोकिदिने बताए । यही कारण पछिल्लो समय विश्वका अधिकांश देशले युटयुबमा फिल्म राख्न छोडेको उनको बुझाइ छ । नेपाली फिल्म पनि बिस्तारै युटयुबबाट हट्ने उनले दाबी गरे । ‘बलिउड फिल्म युटयुबमा कमै मात्र पाइन्छन् नि,’ उनले भने, ‘बरु, हिन्दी भाषामा डब गरिएका नयाँ–नयाँ साउथ इन्डियन फिल्म हप्तैपिच्छे अपलोड गरेको देखिन्छ । त्यही भएर पनि युटयुबमा साउथ इन्डियन फिल्म अगाडि आएका हुन सक्छन् ।’

उनले भनेझैं सोमबार पनि दुइटा दक्षिण भारतीय फिल्म युटयुब नेपाल ट्ेरेन्डिङको पहिलो र पाँचौं स्थानमा देखिए । नानी, साई पल्लवी, भूमिका चावला, विजय बर्माजस्ता कलाकार अभिनीत ‘मिडल क्लास अबाई’ पहिलो नम्बरमा छँदा राम चरण र जेनेलिया डिसुजाको ‘राम की जंग’ ट्रेन्डिङको पाँचौं नम्बरमा थियो । दयाहाङ राई र रिस्मा गुरुङको ‘झुम्की’ चाहिँ दिनभर तेस्रो स्थानमा रहिरहयो । ‘धेरै नबोलेको (कम संवाद) भए पनि फिल्म राम्रो लाग्यो,’ अमन परियारको कमेन्ट, ‘शान्त शैलीको फिल्मले मन छोयो ।’

ट्ेरन्डिङका तेस्रो र चौथो नम्बरमा भने फिल्म थिएनन् । युटयुबबाटै चिनिएका नीतेशजंग कुँवरको ‘निष्ठुरी मोरी...’ गीतको अडियो भर्सन तेस्रो स्थानमा छँदा यसको भ्युज ७ लाख २० हजार पुगेको थियो । आफूले दुई वर्षअघि आइपडमा रेकर्ड गरेको हुनाले गीतको साउन्ड क्वालिटी स्तरीय नभएको नितेशले युटयुबमै जनाएका छन् । यसमा करिब ३ हजार फिडब्याक आएका छन् । ‘तेह्र प्रतिशत कर तिरेर भिडियो हेर्नेहरू एक हौं,’ सिमन एजएस नामक युटयुब युजरको यस्तो व्यंग्यात्मक प्रतिक्रियामा झन्डै दुई सय जनाले लाइक ठोकेका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग राखेर अनसन बसिरहेका डा. गोविन्द केसीको समर्थन र सरकारको विरोध गर्दै केही दिनअघि नयाँ वानेश्वरमा आयोजित प्रदर्शनीमा भएको झपडबारेको भिडियो रिपोर्ट ट्रेन्डिङको चौथो नम्बरमा पर्‍यो । यसमा २ लाख ७० हजार भ्युज र १ हजार प्रतिक्रिया थिए । ‘अब मेरो देशले काँचुली फेर्छ जस्तो लागेको थियो तर होइन रहेछ,’ सुमन मगरले निराशा पोखेका छन्, ‘सरकार र जनता दुवैको बुद्धि कहिल्यै नआउने भयो ।’

प्रकाशित : श्रावण ८, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?