फिल्मकर्मीहरू दुईतिर

जी सिने अवार्डमा “नेपाल क्याटेगोरी”
उनीहरू चीन वा अमेरिकामा गएर अवार्ड समारोह गर्दा ती देशका फिल्मलाई एउटा ट्रफी दिने हिम्मत गर्न सक्छन् ? - मनोज पण्डित
कसैले सम्मान गरेर दिने कुरा लिँदा राष्ट्रियता बरु उचो नै हुन्छ । अवार्ड आयोजना हुनु, त्यसमा पनि नेपाल क्याटेगोरी राखिनु झन् राम्रो हो । - नीर शाह
सुशील पौडेल

काठमाडौँ — भारतको जी सिने फिल्म अवार्ड मंसिर २२ मा काठमाडौंमा हुने भएपछि यसले तरंग ल्याएको छ । अवार्डमा सामेल गर्ने भनिएको ‘नेपाल क्याटेगोरी’ का कारण नेपाल भारतको अर्को प्रान्तका रूपमा दरिन सक्ने कतिपयले आशंका गरेका छन् भने कतिपयले कसैबाट सम्मान पाउनुलाई अन्यथा मान्न नहुने तर्क गरेका छन् ।

प्रधानमन्त्री केपी ओली भारतीय टोलीलाई भेट दिँदै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारी लगायत ।

त्यस्तै, सन्देह गर्नेमध्येका एक फिल्म निर्देशक मनोज पण्डितले भारतीयहरूले एउटा ट्रफी दिनु ठूलो कुरा नभएको भन्दै त्यस्तो ‘दयाको भीख’ लिनुअघि नेपालले सोच्नुपर्ने बताएका छन् । ‘अर्काले जे दिए पनि स्विकारिहाल्ने र स्विकार्नुपर्ने बाध्यता बोक्ने हाम्रो माग्ने चरित्रका कारण आजसम्म हामी स्वाधीन र स्वतन्त्र हुन सकिरहेका छैनौं,’ उनले कान्तिपुरसँग भने, ‘त्यसबारे के गर्ने भनेर हामीले सोच्ने मात्रै होइन कि अस्वीकार गर्न सक्ने हिम्मत हुनु आवश्यक छ । ‘के उनीहरू चीन वा अमेरिकामा गएर अवार्ड समारोह गर्दा ती देशका फिल्मलाई एउटा ट्रफी दिने हिम्मत गर्न सक्छन् ?’

नेपाली कानुन र संस्कृति स्विकार्दै आफ्नो कार्यक्रम गर्नुमा कुनै समस्या नभएको र यसलाई एउटा राम्रो अभ्यासका रूपमा लिन सकिने उल्लेख गर्दै पण्डितले थपे, ‘तर नेपाल क्याटेगोरीलाई स्वीकार्दै नेपालका प्रधानमन्त्री हौसिनुले हाम्रो राष्ट्रियता कति कमजोर धरातलमा रहेछ भन्ने खुलाउँछ । उनीहरूले नेपाललाई आफ्नो देशको एउटा प्रान्तभन्दा बढी गन्दैनन् । यो त्यसैको परिणति हो ।’

Yamaha

जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रासहितको भारतीय टोलीले यसै साता प्रधानमन्त्री केपी ओलीलाई भेटी अवार्ड आयोजनाको प्रस्तावसँगै ‘नेपाल क्याटेगोरी’ पनि राख्ने प्रस्ताव गरेको थियो, जसलाई नेपाली पक्षले ताली बजाएर स्वागत गरेको थियो ।

भारतीय टोलीसँगको भेटपछि प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमार्फत जी सिने अवार्ड आउँदो डिसेम्बरमा काठमाडौंमा गरिने जानकारी दिँदै हरेक वर्ष अवार्डमा ‘नेपाल क्याटेगोरी’ पनि थपिने उल्लेख गरेका छन् । तर अवार्डको नेपाल संयोजन गरिरहेका निर्देशक दिनेश डीसी भने जी सिने अवार्डमा ‘नेपाल क्याटेगोरी’ दिने कुरा उठे पनि तय भइनसकेको दाबी गरे ।

‘भारतीय पक्षबाट त्यसबारे कुरा उठेको पनि हो । तर नेपाली फिल्मलाई समेट्ने गरी एउटा क्याटेगोरी पनि थप्नेबारेमा सहमति भइसकेको भने छैन,’ उनले भने, ‘मेरो व्यक्तिगत बुझाइमा यसले विवाद निम्त्याउँछ भन्ने लाग्छ । नेपाल क्याटेगोरीको नाममा हामी कसैको सती किन जानु ?’ उनले त्यो बेलाको छलफलमा ‘नेपाल क्याटेगोरी’ लाई सामान्य ढंगले लिएर ताली बजाए पनि विवाद निम्तिन सक्ने जोखिमलाई ध्यानमा राखेर हटाउन सकिने बताए । भने, ‘यसो गर्दा भारतले आफ्नो देशको एउटा भोजपुरी प्रान्त जस्तो गरी नेपाललाई पनि अवार्ड दिएको बुझियो भने नराम्रो हुन्छ । म यसबारे प्रधानमन्त्रीलाई अवगत गराउनेछु ।’

भारतीय टोलीसँगको छलफलमा सहभागी अर्का निर्माता/निर्देशक नीर शाहले भने जी सिने अवार्डमा ‘नेपाल क्याटेगोरी’ राखिनु सकारात्मक भएको तर्क गरे । ‘मेरो विचारमा त यो प्रस्ताव राम्रो हो । यसमार्फत नेपाली फिल्मले पनि परिचय पाउँछ भने यो नेपाली फिल्मलाई गरिएको एउटा सम्मान नै हो,’ शाहले यसलाई अनावश्यक रूपमा राष्ट्रियतासँग दाँजेर हेर्न नहुने भन्दै थपे, ‘ओस्कार अवार्डमा नेपाली फिल्म मनोनयन भयो भने अवार्ड नलिने त ? कसैले सम्मान गरेर दिने कुरा लिँदा राष्ट्रियता नै बरु उचो हुन्छ । एक त यहाँ अवार्ड आयोजना हुनु राम्रो कुरा हो, अझ त्यसमा पनि नेपाल क्याटेगोरी नै राखिनु झन् राम्रो कुरा हो ।’

निर्देशक पण्डितले नेपाल भारतको प्रान्त हैन भनेर नेपाल नै स्पष्ट हुनुपर्ने आवश्यकता रहेको औँल्याए । ‘उनीहरूको कार्यक्रमलाई राष्ट्रले जतिसक्दो सहयोग गरेर भव्य बनाउने भूमिका खेल्दा केही फरक पर्दैन,’ उनले भने, ‘यसले नेपालको पर्यटनलाई प्रवद्र्धन गर्छ भनी सोच्नु पनि अन्यथा नहोला, तर नेपाली फिल्म बलिउडको एउटा अंग होइन भन्ने चाहिँ सत्तावालाले हेक्का राख्नु जरुरी छ । हाम्रो शासकवर्गले उनीहरूलाई नेपाल र नेपाली फिल्म क्षेत्र सार्वभौम भएको अनुभूति दिलाउनुपर्छ ।’

Esewa Pasal

प्रकाशित : श्रावण ११, २०७५ ०८:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मंगोलियन लुक्स

नेपाली फिल्ममा कास्टिङको शैली परिवर्तन भइरहेको छ । चिम्से आँखा, थेप्चो नाक र गोलो अनुहारले पनि चरित्रअनुकूल मुख्य भूमिकामा प्राथमिकता पाउन थालेका छन् ।
सुशील पौडेल

काठमाडौँ — पहिलो नेपाली फिल्म ‘आमा’ २०२२ सालमा बनेको थियो । त्यसमा हिरो र हिरोइन थिए– शिवशंकर मानन्धर र भुवन चन्द । पछि विस्तारै नेपाली फिल्मले हिरोको परिभाषा आर्यन लुक्समा खोज्न थाल्यो ।

हिरो अनुहारको पहिचान सरोज खनाल, भुवन केसी र राजेश हमालहरूले बोक्न थाले भने नायिकामा बसुन्धरा भुसाल, कृष्टि मैनाली, गौरी मल्ल, निरुता सिंह हुँदै रेखा थापा, केकी अधिकारी, प्रियंका कार्कीसम्मको लामो लर्को अझै चलिरहेको छ ।


ठूला आँखा, चुच्चो नाक र लाम्चो अनुहारमा नै नायिकामा हुनुपर्ने ग्ल्यामर देख्ने नेपाली फिल्मले पछिल्ला वर्षमा त्यो प्रचलन तोड्ने प्रयत्न गर्न थालेका छन् । लामो समयदेखि सामाजिक कथावस्तुमा घुमिरहेको नेपाली फिल्मलाई ‘कबड्डी’ मार्फत थकाली समुदायमा छिराए, निर्देशक रामबाबु गुरुङले । थकाली समुदायको संस्कृति र रहनसहनलाई पर्दामा उतार्दा उनले चल्तीकै आर्यन लुक्सका हिरो–हिरोइन लिने गल्ती गरेनन् । दयाहाङ राईको ‘अपोजिट’ मा उनले रिश्मा गुरुङलाई देखाए ।


कबड्डीको ट्रेलर आएपछि भने मूलधारका फिल्म बनाउनेले रामबाबुलाई तर्साएछन् । ‘नियमित फिल्मका गिनेचुनेका अधिकांशले निर्देशकसँगै नायिका पनि गुरुङ अनि फिल्मको लुक्स पनि डकुमेन्ट्री जस्तो छ । कहाँ चल्छ भनेका थिए,’ त्यस बेलालाई सम्झँदै रामबाबु भन्छन्, ‘मैले स्टारडमका लागि भन्दा पनि कथा र चरित्र अनुसार पर्फेक्ट कास्टिङ होस् भनेर रिश्मालाई लिएको थिएँ ।’ तिनै रामबाबुले पछि ‘मिस्टर झोले’ मा दिया पुनलाई लिए ।


डेब्यु फिल्म ‘हँसिया’ मा राजेश हमालको स्टारडम बिकाउन खोजेका निर्देशक मिलन चाम्सले त्यसपछि बनाएको फिल्म ‘वीर–विक्रम’ मा भने नायिकाको भूमिकामा दिया पुनलाई डेब्यु गराए । हिरोमा आर्यन लुक्सलाई चुनौती दिने गरी दयाहाङ राई, विल्सनविक्रम राईहरू चम्किरहेका बेला उनले पनि दयाको अपोजिटमा मंगोलियन लुक्सकै नायिका रोजे । उनको कदमलाई अन्तत: दर्शकले पारित गरिदिए । फिल्म देश, विदेशमा राम्रै चल्यो ।


कुनै बेला थियो, राजेश हमाल वा विराज भट्ट वा निखिल उप्रेतीमध्ये जसको समय र पारिश्रमिकमा कुरा मिल्छ, उसैलाई लिएर फिल्म रातारात लेखिन्थ्यो अनि सुटिङमा गइन्थ्यो । यस्तोमा चरित्रभन्दा पनि कलाकार प्रधान थिए । ती कलाकार जुनसुकै चरित्रमा बलजफ्ती फिट पारिन्थे । यतिबेला नेपाली फिल्ममा कास्टिङको शैली परिवर्तन भइरहेको छ । हिरोमा मात्रै नभई नायिकाका रूप र बनावट पनि फेरिएका छन् । चिम्से आँखा, थेप्चो नाक र गोलो अनुहारले पनि चरित्रअनुकूल मुख्य भूमिकामा प्राथमिकता पाउन थालेका छन् ।
‘प्रेमगीत’ मा पूजा शर्मासँग स्क्रिन सेयर गरेका नायक प्रदीप खड्का त्यसकै सिक्वेलमा अश्लेषा ठकुरी हुँदै ‘लिलिबिली’ सम्म आइपुग्दा जसिता गुरुङसँग देखिए । यसपटक पनि जसिताको डेब्युको जस मिलन चाम्सलाई नै गयो । मंगोलियन युवतीलाई नायिका बनाउने ठूलो जस मिलनलाई नै मिलिरहेको छ । उनले नै दियालाई ‘ह्याप्पी डेज’ मा पनि दोहोर्‍याए भने ‘बोबी’ मा कविता गुरुङलाई डेब्यु गराएका छन् । उनी यो सबै संयोग मात्रै ठान्छन् ।


मिलनले ‘लिलिबिली’ को एउटा प्रसंग उप्काए, जुन फिल्ममा पहिले जसिता र रेविका गुरुङ अनुबन्ध भएका थिए । लन्डनमा खिचिएको उक्त फिल्मका लागि रेविकाको भिसा समस्या भएपछि उनको भूमिकामा प्रियंका कार्कीलाई लिइएको थियो । उनले भने, ‘जसिता र रेविकालाई लिँदा गुरुङ–गुरुङ भयो । जातीय फिल्मको ट्याग लाग्यो भने बर्बाद हुन्छ भन्ने लागेको थियो ।


हामी त रेविकाको थर नै परिवर्तन पो गर्ने हो कि भन्ने निचोडमा समेत पुगिसकेका थियौं । पछि त प्रियंका भइन् ।’


क्षेत्रीय फिल्ममा टाक्कटुक्क देखिइरहेकी भलिबलकी पूर्वराष्ट्रिय खेलाडी सिपोरा गुरुङ गत वर्ष ‘भुइँमान्छे’ बाट राष्ट्रियस्तरमा नायिकाको छविमा आइन् । त्यसैगरी ‘नोभेम्बर रेन’ बाट साइड रोलमा डेब्यु गरेकी छुल्ठिम गुरुङ गत वर्ष ‘डायरी’ र ‘नेप्टे’ मा मुख्य नायिका बनेर देखिइन् ।


हरेक पक्षमा क्रमभंगता खोजिरहेको नेपाली फिल्मले यतिबेला चरित्र र कथामा पनि विविधता पस्कने प्रयास गरिरहेको छ । तिब्बती शरणार्थीको कथामा बनाइएको ‘नाका’ मा देखिएकी थिन्ले ल्हामोलाई शुक्रबार नै रिलिज भएको ‘हरि’ मा समेत देख्न सकिन्छ भने ‘लालपुर्जा’ बाट डेब्यु गरेकी मिरुना मगरले त्यसयता ‘लाउरे’ खेल्दै ‘रोजी’ मा समेत आफ्नो
स्थान पक्का बनाइसकिन् । आर्यन लुक्सको हिरोइनको ट्रेन्डलाई भत्काउने अनुहारमा ‘रुद्र’, ‘पिँजडा ब्याकअगेन’ र ‘सुश्री सम्पत्ति’ हिरोइन सारा सिर्पाइली, ‘प्रेमगीत २’ की अश्लेषा ठकुरी, ‘लुट २’ की एलिसा राई पनि अघि देखिएका छन् । सम्भवत: यसै वर्ष रिलिज हुने भनिएको ‘गुडबाई काठमान्डु’ बाट पनि माल्भिका सुब्बा आउँदैछिन् ।


आफूले मंगोलियन लुक्सका युवती लिनुलाई मिलन कलाकारको खडेरीको उपज मान्छन् । उनी नयाँ खोज्नुको विकल्प नभएको बताउँछन् । कुनै बेला मंगोलियन लुक्स नबिक्ने फिल्म जस्ता ग्ल्यामर फिल्डमा यतिबेला हालिमुहाली हुन थालेको छ । यसो हुनुमा मिलन कोरियन फिल्मको प्रभावलाई पनि एक कारण मान्छन् । ‘मंगोलियन फेसका हाम्रा कलाकारलाई दर्शकले कोरियन फिल्मका कलाकारको लुक्ससँग रिलेट गर्ने रहेछन् । त्यसैले पनि अहिले चल्न थालेका छन्,’ मिलनले थपे, ‘लिलिबिलीमा जसिताको लुक्सलाई धेरैले
त्यही भने ।’


उपभोक्ताले नै बजार निर्धारण गर्ने भएकाले पनि यतिबेला मंगोलियन लुक्स हाबी हुनुमा धेरथोर बजारको माग पनि देखिएको छ । खासगरी आदिवासी, जनजातिमा आफ्नै समुदायका कलाकार, गायक, संगीतकार खोज्ने चलन छ । फिल्म ‘लुट’ पछि अत्यधिक मागमा परेका दयाहाङ र टीभी सिरियलबाटै तक्मे बुढाको नामले हँसाउँदै आएका विल्सनविक्रमले अभिनेतामा सेट गरेको उक्त मान्यता यतिबेला अभिनेत्रीतर्फ झाँगिएको हो ।


निर्देशक मिलनले थपे, ‘मंगोलियन लुक्सका हिरोइन लिँदा बेलायत जस्ता नेपाली मूलका मंगोलियनकै बाहुल्य रहेका देशमा फिल्मको माग राम्रो हुने रहेछ । ‘वीर विक्रम’ ले त्यहाँ गतिलो व्यापार मात्रै गरेन । डेब्यु गरेकी हिरोइन दियाको समेत खुब खोजी भएको थियो ।’ बेलायतमा गुरुङपछि मगर समुदायको बाहुल्य छ । दिया पुनकै तीव्र खोजी हुने बेलायतमा जसिता गुरुङ अभिनीत ‘लिलिबिली’ ले बम्पर व्यापार गर्नेमा मिलन आशावादी देखिएका छन् । पछिल्लो समयदेखि मंगोलियन लुक्समा फिल्म क्षेत्रले देखाइरहेको आशा पनि यही हो ।

sushilpaudel2@gmail.com

प्रकाशित : जेष्ठ १८, २०७५ ११:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT