‘गुरुबिना संगीत अपूर्ण’

‘संगीत गुरुमुखी विद्या हो । जतिसुकै किताब पढ्नुस् वा शास्त्र सिक्नुस्, गुरुबिना संगीत सिक्न गाह्रो छ । संगीतकर्मीलाई गुरुको सान्निध्य चाहिन्छ नै । हामीले गुरुको आदर गर्नुपर्छ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — गायिका संगीता प्रधान राना केहीअघि समस्यामा थिइन् । उनका श्रीमान् किशोर रानाको मृगौला प्रत्यारोपण गर्नुपरेकाले ठूलो रकम जोहो गर्नुपर्ने भयो । कसरी जम्मा पार्ने ? सोचमग्न भइरहेकै बेला उनका विद्यार्थीहरू भेट्न आए । तिनले भने, ‘नआत्तिनुस् म्याम, हामी सहयोग गर्छौं ।’ त्यो क्षण संगीता भावुक बनिन् । अहिले उनी भन्छिन्, ‘त्यो नै मेरा लागि सबैभन्दा ठूलो गुरुदक्षिणा थियो ।’

राजधानीको कालिकास्थानमा रहेको श्री संगीत पाठशालामा (दायाँबाट) तबलावादक राम आश्रय, गायन गुरु चण्डिप्रसाद काफ्ले, गायक शिव परियारलगायत ।

पछिल्लो दुई दशकदेखि पद्मकन्या क्याम्पसमा संगीत पढाउँदै आएकी उनी हरेक गुरुपूर्णिमाका दिन विद्यार्थीलाई आशीर्वाद दिन व्यस्त हुन्छिन् । शुक्रबार पनि दिनभर उनलाई फोन गर्ने र भेट्न आउनेको लर्को थियो । अमेरिकाबाट गायक नरेन्द्र प्यासीले सम्झिए भने अस्ट्रेलियाबाट विमला भुसालले गुरुमालाई ‘विस’ गरिन् । ‘हामीलाई चाहिने भनेकै माया, श्रद्धा र आदर त रहेछ,’ संगीता भन्छिन्, ‘गौरव महसुस हुन्छ ।’ गुरुपूर्णिमाकै दिन पारी उनलाई चेलाचेलीले कुर्ता सुरुवाल, घडी, चप्पल र गितार उपहार दिने गरेका छन् ।

अर्का संगीतगुरु चण्डिप्रसाद काफ्ले भने विद्यार्थीको श्रद्धा ग्रहण गरेर शुक्रबार दिउँसो आफ्नै गुरु चन्दनकुमार श्रेष्ठलाई भेट्ने हतारोमा थिए । अरू बेला टाढा भए पनि गुरुपूर्णिमाका दिन गुरुको आशीर्वाद लिनैपर्छ भनेर उनी फटाफट काम सिध्याइरहेका थिए । ‘संगीतमा गुरुचेलाको सम्बन्ध घनिष्ठ हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘यो गुरुमुखी विद्या हो । जतिसुकै किताब पढ्नुस् वा शास्त्र सिक्नुस्, गुरुबिना संगीत सिक्न गाह्रो छ । संगीतकर्मीलाई गुरुको सान्निध्य चाहिन्छ नै । हामीले गुरुको आदर गर्नुपर्छ ।’

Yamaha

काफ्लेका अनुसार, यो क्षेत्रमा उपयुक्त गुरु भेट्न भने मुस्किल छ । आफूले विसं २०४२ देखि २०५२ सम्म गुरु खोज्दै हिँड्नुपरेको बताउने उनी असल गुरुले मात्रै शिष्यलाई पार लगाउन सक्ने ठान्छन् । उनीसँग शिव परियार, राज सिग्देल, जुनु रिजाल, सहिमा श्रेष्ठजस्ता गायकगायिकाले संगीत अध्ययन गरेका छन् । यी विद्यार्थीले आफ्नो नाम लिँदा निकै खुसी लाग्ने काफ्लेको अनुभव छ । ‘हामीले सिकाएको मनन गरेर विद्यार्थीले आफ्नो कला निखार्दै लगेमा हामी खुसी हुन्छौं,’ उनले भने, ‘त्यो हाम्रा लागि वास्तविक उपहार हुन्छ ।’

विसं २०१० मा उस्ताद गणेशलाल श्रेष्ठसँग संगीतको ज्ञान लिएका वरिष्ठ गायक प्रेमध्वज प्रधान गुरु सम्झिन गुरुपूर्णिमा कुर्नु नपर्ने बताउँछन् । उनले हरेक दिन बिहान साधना गर्नुअघि गुरुहरूलाई सम्झिने गरेको बताए । ‘म उठ्नेबित्तिकै आधा घण्टा ध्यान गर्छु,’ उनले भने, ‘त्यही बेला मेरी आमा (प्राणदेवी), गणेश गुरु र जयदेव गुरुको स्मरण गर्छु । उहाँहरूको नाम लिएर मेरो दिन सुरु हुन्छ ।’ आफूले कसैलाई औपचारिक शिक्षा नदिएकाले गुरुपूर्णिमामा खासै कसैको फोन नआउने बताए ।

कुनै पूर्णिमामा गुरुलाई उपहार दिने, भेट्न जाने वा फोन गर्नेजस्ता गतिविधिबाट टाढा रहे पनि गुरुको सल्लाह अनुसरण गर्न आफू सदैव सचेत रहने गरेको गायिका सुनीता दुलाल बताउँछिन् । ‘म आज जुन ठाउँमा छु, यहाँसम्म पुर्‍याउने जस गुरुहरूलाई जान्छ,’ उनले भनिन्, ‘उहाँहरूले बाटो देखाइदिनुभयो । काँडा पन्छाउन सिकाउनुभयो । धेरै जना गुरुसँग संगीत सिकेकाले धेरै खालको अनुभव हासिल गर्न पाएकी छु ।’ उनले दीपक जंगमसँग लोक भाका सिक्नुका साथै धनबहादुर गोपालीसँग शास्त्रीय संगीत र प्रकाश गुरुङ एवं संगीता प्रधानसँग पनि कक्षा लिएको बताइन् ।

सुनीताले गुरुहरूलाई भेटघाट नगरे पनि शुक्रबार बिहानै सामाजिक सञ्जालमा उनीहरूका तस्बिर राखेर ढोग गरेको उल्लेख गरेकी थिइन् । गायक शिव परियारले गुरु चण्डिप्रसादसँग खिचेको आफ्नो तस्बिर र उनले गुरु मानेका अन्य स्रष्टाको तस्बिर एकासाथ पोस्ट गर्दै ‘गुरुज्यूमा नमन’ लेखेका थिए । शिवले चन्दनकुमार श्रेष्ठसँग शास्त्रीय गायन, रविनलाल श्रेष्ठसँग तबला र राजकुमार मालाकारसँग गितार वादन सिकेका रहेछन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना गुरु सम्झिने क्रममा गायिका आस्था राउतले मातापितालाई पहिलो गुरु मान्दै संगीतकार सुरेश अधिकारी आफ्नो सांगीतिक गुरु भएको लेखेकी थिइन् । आस्थाका बुबा हरिबहादुर पनि गायक हुन् । अभिभावक र संगीत गुरुसँगको तस्बिर अपलोड गरेकी आस्थाले आफू सांगीतिक परिवारमा जन्मनु भाग्यको कुरा भएको उल्लेख गरेकी थिइन् ।

गायक प्रवेशमान शाक्यले दिवंगत पिता पन्नाकाजीको तस्बिर राखेर ‘हयाप्पी गुरुपूर्णिमा’ लेखेका थिए । संगीतज्ञ अम्बर गुरुङलाई ‘बडागुरु’ भन्दै गुरुङका चेला भायोलिनवादक राजकुमार श्रेष्ठसँग संगीत सिकेका दिवाकर वस्तीले दुवैप्रति फेसबुकमार्फत नमन गरे । राजकुमारसँगै भायोलिन सिकेका गायक मदन गोपालले ‘हयाप्पी गुरुपूर्णिमा’ लेख्दै राजकुमार तथा गायनगुरुहरू कुशेश्वर राई र प्रभुराज ढकालसँगका तस्बिर पोस्ट गरेका थिए ।

प्रकाशित : श्रावण १२, २०७५ ०८:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनैदेखि रंगमञ्च

कान्तिपुर संवाददाता

काठमाडौँ — गलाभरि खादा, निधारमा टिका । मिठाई खाँदैमा रंगकर्मी सुनील पोखरेलको शुक्रबार बित्यो । आफ्ना चेलाचेलीबीच रंगकर्मका अनुभव साट्न पाउँदा उनी अरू दिनभन्दा विशेष खुसी थिए । गुरुपूर्णिमाका दिन उनका लागि दसैंभन्दा महत्त्वपूर्ण लाग्छ ।

सर्वनाम थिएटरका संस्थापक अशेष मल्ल चेलाहरूलाई टीका लगाइदिँदै ।

अनामनगरस्थित ‘ज्ञ’ डिस्कभर योरसेल्फ थिएटर टिममा बिहानैदेखि उनी विद्यार्थीमाझ रमाए । उनले सबै विद्यार्थीलाई एउटा प्रश्न गरे– ‘तिमीहरूको विचारमा गुरु भनेको के हो ?’

उनको प्रश्नमा चेलाचेली केहीबेर गम्भीर भए । केहीले कानेखुसी गर्न थाले । यस्तैमा युवा रंगकर्मी केनिपा सिंहले छोटो उत्तर दिइन्, ‘जसले जसलाई जे सिकाउँछ त्यही नै गुरु हो ।’

केनिपालगायत थुप्रै युवा रंगकर्मीले यसरी नै सुनीलको प्रश्नको जवाफ दिने प्रयास गरे । खासमा उनले विद्यार्थीको मनोविज्ञान बुझ्न प्रश्न गरेका थिए । आफूले सिकाएका विद्यार्थीले आफ्नो प्रशंसा पटक्कै नगरिदिए हुन्थ्यो भन्ने उनको सदैव अपेक्षा हुन्छ । हरेक गुरुपूर्णिमाको दिन सुनीलले विद्यार्थीलाई ‘रंगमञ्च मनदेखि नै गर’ भन्दै एउटै आशीर्वचन दिँदै आएका छन् । उनी रंगमञ्चको मुलसूत्र नै ‘मनैदेखिको काम’ लाई मान्छन् ।

पाका रंगकर्मी हरिहर शर्मा समकालीन नेपाली रंगमञ्चका गुरुका पनि गुरु हुन् । उनलाई शुक्रबार बिहानैदेखि गुरुपूर्णिमाको शुभकामना दिनेको घुइँचो थियो । लाजिम्पाटस्थित आफ्नै घरमा चेलाचेली भेट्न आउने क्रम त थियो नै साथै फोनमा समेत आशीर्वाद माग्नेहरू उत्तिकै थिए । सुनील पोखरेल सधंैजसो गुरुपूर्णिमा मनाउन सबैभन्दा पहिला हरिहरकहाँ पुग्ने गर्थे ।

यो पटक कामको व्यवस्तताले उनले आफ्ना गुरुलाई फोनबाटै शुभकामना दिए । ‘पहिलो फोन नै सुनीलले गरेका थिए,’ हरिहरले भने, ‘आफ्ना चेलाले सम्झिँदा खुसीले गद्गद् हुन्छ ।’ वरिष्ठ रंगकर्मी शकुन्तला शर्मा र हरिहरको जोडीले हरेक वर्ष घरमा आएजति चेलाचेलीलाई टीका लगाएर आशीर्वचन दिने गरेका छन् । ‘आफूले सिकाएका विद्यार्थीले प्रगति गरेको देख्दा एक किसिमको स्वर्गीय आनन्द महसुस हुन्छ,’ शकुन्तलाले भनिन् । शुक्रबार बिहानै रंगकर्मी वीरेन्द्र हमाल, रंगकर्मी घिमिरे युवराज, सरोज अर्याललगायतले हरिहर र शकुन्तला भेट्न गए । हरिहरलाई सुर्खेतबाट बिहानै रंगकर्मी गणेश गौतमले पनि फोन गरे ।

रंगकर्मी सुनील पोखरेल अन्य कलाकारसँग ।

अर्का वरिष्ठ रंगकर्मी अशेष मल्ल बिहानै कालिकास्थानस्थित सर्वनाम थिएटर आइपुगे । एकैछिनमा उनको गला फूलमालाले भरियो । चेलाचेलीहरूले खासमा उनलाई झुक्काएर गुरुपूर्णिमा मनाउन बोलाएका थिए । गुरुपूर्णिमासम्बन्धी भने अशेषको भिन्न मत छ । उनका अनुसार माला र टीका लगाउँदैमा गुरुको पूजा भएको मानिँदैन । मुख्य कुरा ज्ञानको हस्तान्तरण हो ।

त्यही भएर उनी बाहिरी देखावटी तामझामबाट सदैव टाढा बस्न रुचाउँछन् । तर, यसपटक विद्यार्थीले झुक्काएर उनको गलामा माला पहिर्‍याइदिए । चेलाचेलीलाई टीका लगाइदिँदै अशेषले सबैलाई एउटै आशीर्वचन दिए, ‘कर्म गर फलको आशा नगर ।’ रंगमञ्चमा यो भनाइ बढी नै लागू हुन्छ । पछिल्लो पुस्ता साधना सुरु नगर्दै परिणामको आश गर्ने प्रवृत्तिका हुने हुँदा यो बुझाइ मनन गर्न आवश्यक रहेको उनको तर्क छ ।

सर्वनामकै राज शाहले अशेषलाई आफ्ना गुरु मान्छन् । उनले यो खुसी फेसबुकमा सार्वजनिक रूपमा सेलिब्रेट गरे । युवा रंगकर्मी सुदाम सिकेले गुरु अनुप बरालको भिडियो फेसबुकमा सेयर गरे । माला र टीकामा सजिएका अनुपको गुरुवचन भिडियोमा कैद गरिएको छ । जहाँ उनले नयाँपुस्ते रंगकर्मीलाई सपना देख्न आग्रह गरेका छन् । सपनालाई साकार पार्न साधना अनिवार्य हुने उनको तर्क छ ।

प्रकाशित : श्रावण १२, २०७५ ०८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT