चर्या नृत्य: पुराना भन्छन्– लुकाऔं , नयाँ भन्छन्– देखाऔं

सजना बराल

काठमाडौँ — चर्यागुरु चन्द्रमान मुनिकार एक दिन आफ्ना चेलाचेलीलाई नृत्य सिकाइरहेका थिए । चर्या नृत्यको प्रचारको लक्ष्य लिइरहेका उनलाई पछि उनका गुरु राजेन्द्र श्रेष्ठ लगायतले झपारे । ‘चर्याको अनुशासन मिच्नु भएन,’ गुरुको भनाइ थियो, ‘यसलाई बजारिया बनाउनु ठीक होइन ।’

चर्या नृत्य: पुराना भन्छन्– लुकाऔं , नयाँ भन्छन्– देखाऔं

यसबाट थाहा हुन्छ, बौद्ध धर्मको वज्रयान शाखामा पर्ने चर्या नृत्यका वरिष्ठ गुरुहरू यसको परम्पराबारे कति कट्टर छन् । र, यही विषयलाई लिएर नयाँ र पुराना पुस्ताबीच मतभेद पनि चलेकै छ । अघिल्लो पुस्ता यसलाई खुलेआम प्रदर्शन गरेर आय आर्जनको बाटो बनाउन नहुने पक्षमा छ भने नयाँ पुस्ता प्रचार चाहन्छ । शास्त्रमा आधारित नृत्य जथाभावी देखाएर यसको मान खस्काएको भन्दै अग्रज चर्यागुरुहरू अनुयायीसँग रिसाउने गरेका छन् । उनीहरू यसलाई गोप्य नै राख्नु उचित ठान्छन् ।

विशेषत: बज्राचार्य र शाक्य पुजारीले आफ्ना चेलाहरूलाई दीक्षा दिने बेला र अन्य सांस्कृतिक समारोहमा चर्या नाच्ने चलन छ । यो शास्त्रीय नाचका आफ्नै कडा नीतिनियम रहेकाले ती पालन गर्नु अत्यावश्यक रहेको भन्दै पुजारी–गुरुहरू नयाँ पुस्तालाई घचघच्याइरहेका हुन्छन् । ‘बाहिर देखाउनै नहुने भन्ने त होइन, तर जे पायो त्यही गर्नु भएन,’ चर्या नृत्य प्रशिक्षक राजु शाक्यले भने, ‘जथाभावी देखाउँदा यसको मूल्य रहन्न भनेर अग्रजहरू चिन्तित बन्नुभएको हो । यसको फर्मुला सही व्यक्तिले मात्र पाओस् भन्ने उहाँहरू चाहनुहुन्छ ।’

मन्दिरबाट मञ्चतिर
कुनै बेला नेवार र त्यसमा पनि बज्राचार्य, शाक्य, तुलाधर र चित्रकार थरीमा सीमित चर्या नाच अहिले जोकोहीले सिक्न थालेका छन् । राणाकालमा बौद्ध संस्कृतिमाथि आक्रमण भएपछि यो नाच खुलेआम देखाउन छोडिएको थियो । वज्रयान अनुयायीले यसलाई गोप्य रूपमा निरन्तरता दिएकाले अहिलेसम्म जीवित रहेको जानकारहरू बताउँछन् । ‘उहाँहरूले सयौं वर्षसम्म बहा: बही (विहार) का अँध्यारा खोपीभित्र मात्रै नाचेर चर्या संरक्षण गर्नुभयो,’ चर्या गुरु चन्द्रमान मुनिकारले भने, ‘त्यत्रो वर्ष गोप्य राखिएको हुनाले यसलाई बाहिर ल्याउन अहिले पनि संकोच मानिएको हो ।’

संस्कृत भाषामा गाइने चर्या गीतको सारमा नाचिने यो तान्त्रिक नृत्य अब भने मन्दिरबाट मञ्चसम्म पुगिसकेको छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र सिर्जना कलेज अफ फाइन आट्र्समा यसबारे पढाइ हुन्छ । देश–विदेशका विभिन्न इन्स्टिच्युटमा पनि चर्या नृत्य सिक्ने/सिकाउने क्रम बढेको छ ।

अमेरिका बस्दै आएका प्रज्वलरत्न बज्राचार्य, बेलायतमा रहेका यज्ञमान बज्राचार्य, चरण प्रधान लगायतले यही नृत्यमार्फत् आफ्नो पहिचान देशदेशान्तर फैलाएका छन् ।

‘म दुई दशकदेखि विदेशमा छु,’ नेपाल छँदा काठमाडौं विश्वविद्यालय र पद्मकन्या क्याम्पसमा नृत्य सिकाउने प्रज्वलरत्नले कान्तिपुरसँग भाइबरमार्फत् भने, ‘चर्या नाच्न थालेको चार दशक भयो । पचासभन्दा बढी देशमा यो नृत्य प्रस्तुत गरेको छु । सबैले आश्चर्य मानेर हेर्छन् । चर्या सिक्न खोज्ने विदेशी धेरै छन् ।’ उनले अमेरिका, जर्मनी, ब्राजिल, जापान र हङकङमा ‘डान्स मण्डल : फाउन्डेसन फर स्याक्रेड बुद्धिस्ट आट्र्स अफ नेपाल’ नामको नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरेका छन् । उनले अमेरिकाको ओरेगनमा ‘नृत्य मण्डल महाविहार’ स्थापना गरेका छन्, जहाँ हरेक दिन चर्या नृत्य सिकाइन्छ ।

यता काठमाडौंमै पनि चर्या सिक्नेहरू बर्सेनि बढिरहेको वज्र कला कुञ्जका संस्थापकसमेत रहेका मुनिकारको अनुभव छ । वसन्तपुरस्थित आफ्नै घरमा स्टुडियो खोलेका उनी हरेक वर्ष असोज–कात्तिकमा नि:शुल्क कक्षा सञ्चालन गर्छन् । त्यसबाहेक प्रत्येक महिनाको पहिलो र तेस्रो बिहीबार उनले चर्या पूजा गराएर नयाँ विद्यार्थी लिने गरेका छन् । वर्षमा तीन सयजतिलाई नृत्य सिकाउने गरेको उनले बताए । ‘यो मुद्राप्रधान नृत्य हो,’ मुनिकारले भने, ‘सबै मुद्राको अर्थ हुन्छ । हामी देवी–देवताको स्वरूपमा नाच्छौं । सिक्न गाह्रो छ, सामग्री धेरै चाहिन्छ । तैपनि यसमा नयाँ पुस्ताको रुचि बढदो छ ।’

तीन महिनाअघि चर्याबारे कक्षा लिएका दीपेन्द्र शाही ठकुरीले नेपाली शास्त्रीय नाच सिकेर आफूलाई निकै फाइदा भएको बताए । मोडर्न डान्समा नाम कमाएका उनले नेपाली संस्कृति बुझ्न चर्या सिक्नु आवश्यक रहेको अनुभव गरेछन् । ‘धेरै थरी मुद्राबारे थाहा पाएँ,’ म्युजिक भिडियोमा कोरियोग्राफीसमेत गर्ने शाहीले भने, ‘नाचको उत्पत्तिको कुरा जानियो । ध्यानमग्न भएर नाच्दा जीउमा अर्कै स्फूर्ति आउँदो रहेछ । चर्यालाई स्कुल/कलेजमा अनिवार्य गराउनुपर्छ । यसलाई गोप्य राख्यो भने हराएर जान्छ ।’

यो नृत्य मनोरञ्जन विधातर्फ नपर्ने भएकाले यसको सांस्कृतिक महत्त्व मनन गर्न पाका पुस्ताले आग्रह गर्ने गरेका छन् । मुनिकार अग्रजको आग्रहलाई अन्यथा ठान्दैनन् तर संस्कृति जोगाउन यसको हस्तान्तरण आवश्यक रहेको उनको बुझाइ छ । ‘चर्याका बाह्य र गुह्य परम्परा छन्,’ उनले भने, ‘गुह्य शैली गोप्यै राखेर हामीले बाह्य चर्या त देखाउन सक्छौं ।’ उनका अनुसार अचेल आचार्य गुठीहरूमा वर्षको एक चोटि गुह्य चर्या प्रस्तुत गरिन्छ ।

चर्यालाई केहीले पौराणिक कालसम्म जोड्ने गरेका छन् । देवीदेवताले हाउभाउमार्फत् गर्ने संवादशैली नै चर्या भएको एक थरी बुझाइ छ । ‘यसरी हेर्दा चर्यालाई दिनचर्यासँग जोड्न सकिन्छ,’ चर्यामाथि किताबसमेत लेखेका मुनिकारले भने, ‘देवतैपिच्छेका फरक मुद्रा हुनु, देवता विशेष पर्वका निश्चित नाच हुनुले यसको जरा आदिमकालसम्म रहेको जनाउँछ ।’ मञ्जुश्रीले काठमाडौं उपत्यकामा बस्ती बसाउनुअघि चर्या नाचेर शक्ति आर्जन गरेको भन्ने भनाइ पनि छ ।

तान्त्रिक बौद्धका गुरु मानिने मञ्जुश्रीले नै पहिलो पटक हेवज्र तन्त्र अभ्यास गरेको मान्यता छ । नृत्यमार्फत् देवीको तपस्या गरेपछि उनलाई आध्यात्मिक चेत प्राप्त भएको र त्यसकै बलमा नेपाल मण्डल स्थापना गरेको नेवार समुदायको विश्वास छ । पद्मकन्या क्याम्पसका चर्या शिक्षक समेत राजु शाक्यले भने, ‘चर्यामा देवी–देवताको रूप–रंग, हाउभाउ, शक्ति लगायत विषयमा वज्र गीत गाइन्छ । अनि ती सबै गुणगान नृत्यमा उतारिन्छ ।’

दक्षिण एसियाली नृत्यको जननी मानिने चर्या हजारौं वर्षअघि नेवार पुजारीले सुरु गरेको मानिन्छ । सन् १९३१ मा सिद्धिहर्ष बज्राचार्यले काठमाडौंको ताचेबहमा चर्या प्रस्तुत गर्दाको तस्बिरलाई चर्या इतिहासको सबैभन्दा पुरानो तस्बिर मानिन्छ । वि.सं. २०१३ मा भएको बौद्ध सम्मेलनमा आएका पाहुनालाई देखाउन पहिलो पटक चर्याको सार्वजनिक प्रस्तुति गरिएको इतिहास छ ।

‘हिलिङ योग’ का रूपमा विदेशमा लोकप्रिय
चर्यागुरुसमेत रहेका स्व. रत्नकाजी बज्राचार्यका छोरा प्रज्वलले चर्या संरक्षण र प्रचारमा नेपाल गम्भीर हुनुपर्ने औँल्याए । यो नृत्यमार्फत् नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने उनको अनुभव छ । ‘यसलाई हिलिङ योगका रूपमा विदेशीले निकै मन पराउन थालेका छन्,’ उनले सुनाए, ‘सबैलाई फाइदा हुने चीज सधै लुकाएर राख्नु हुँदैन । बुद्ध धर्म प्रचारसँगै हाम्रो संस्कृति स्थापित गर्न चर्या माध्यम बन्न सक्छ ।’

विश्वका ठूलठूला विश्वविद्यालयका अनुसन्धाताहरू नेपाल आएर चर्याबारे अनुसन्धान गरिरहेको प्रज्वलले जनाए । अमेरिकाको रिचमन्ड विश्वविद्यालयकी एसोसिएट प्रोफेसर डा. मिरान्डा ई. सले चर्यामाथि पुस्तक लेखिरहेकी छन् । सन् १९९२ देखि चर्या नृत्यबारे बुझ्न नेपाल आउजाउ गरिरहेकी उनले यसअघि ‘बुद्धिस्ट गडेसेस अफ इन्डिया’ र ‘प्यासनेट इन्लाइटमेन्ट : विमेन इन तान्त्रिक बुद्धिजम’ शीर्षक पुस्तक निकालिसकेकी छन् ।

लन्डन विश्वविद्यालयबाट पनि एक दशकदेखि चर्याकै लागि नेपाल आइरहेको मुनिकारले बताए । केहीअघि मात्र उनीसँगै तीन महिना नृत्य सिकेर फर्किएकी मोनिकाले यसबारे शोधपत्र तयार पारेकी छन् ।

प्रकाशित : श्रावण १४, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?