ट्रयाक समात्दै बक्स अफिस

‘पहिले चुरोटबट्टामा हिसाब लेखेर दिइन्थ्यो । ४० लाख रुपैयाँ लगानी गर्नुस्, ४ करोड कमाउनुस् भनी निर्माता खोज्नेलाई अब गाह्रो भयो ।’
सुशील पौडेल

काठमाडौँ — यसै आर्थिक वर्षदेखि काठमाडौं उपत्यकाका २० हलमा लागू गरिएको बक्स अफिस प्रणालीले आफ्नो ट्रयाक समात्न थालेको छ । फिल्म रिलिज भएर उत्रेको वर्षौंसम्म हल र वितरकबाट पैसा नपाउने, पाए पनि सही हिसाब नपाउनेजस्ता झमेला बेहोर्दै आएका निर्माताले फिल्म प्रदर्शनकै क्रममा व्यापार आँकडा हेर्न मात्रै हैन, प्रदर्शन सकिएको दुई साताभित्र वितरकबाट पूरापुर पैसा पनि पाउने भएका छन् ।

ट्रयाक समात्दै बक्स अफिस

साउन ४ मा रिलिज फिल्म ‘भैरे’ का निर्माता एभरेस्ट सूर्य बोहोरा पनि यति बेला बक्स अफिसका कारण दंग छन् । ‘भोलि काठमाडौंभित्रका हलको हिसाब पाउँदै छु,’ २४ वर्षअघि ‘अग्नि परीक्षा’ निर्माण गर्दै फिल्म क्षेत्रमा होमिएका बोहोराले कान्तिपुरसँग भने, ‘पहिले चुरोटको बट्टामा हिसाब लेखेर दिइन्थ्यो ।

हावाको भरमा एक दिनमै करोड कमायो भन्दै प्रचार गर्ने चलन थियो । ४० लाख रुपैयाँ लगानी गर्नुस्, ४ करोड कमाउनुस् भनी निर्माता खोज्नेलाई अब गाह्रो भयो । कहिलेसम्म मान्छेलाई भ्रममा राख्ने ?’ उनले बक्स अफिस रिपोर्ट धेरैका लागि तीतो सत्य भएको तर्क गर्दै त्यसलाई पचाउनुको विकल्प नभएको बताए । थपे, ‘बक्स अफिस लागू हुँदा फिल्मको कलेक्सन रिपोर्ट पहिलाभन्दा धेरै राम्रो भएको छ । पहिले मनपरी कमाइ भन्ने परिपाटी थियो । अब त्यो शैली नरहने भयो । यथार्थ देखिनु राम्रो कुरा हो । यसलाई फिल्म क्षेत्रमा भएको प्राविधिक क्रान्ति नै भन्दा हुन्छ ।’


बक्स अफिस प्रणाली कार्यान्वयनका लागि चलचित्र विकास बोर्डले कन्सल्टयान्टका रूपमा भर्ती गरिएका मनीष पण्डितले रिलिज भएका सम्बन्धित फिल्मका निर्माता र वितरकलाई व्यापार हेर्न सक्ने पहुँच दिइसकेको बताए । ‘निर्मातालाई हामीले दिएको डाटाबाट सन्तुष्ट छन् भने बक्स अफिसबाट आएको र वितरकसँगको कलेक्सन डाटा टयाली गर्दा पनि मिलिरहेको छ । हामी अझै हलमा हुने इनपुट डाटा र आउटपुट डाटाको वैधानिकता परीक्षण गरिरहेका छौं ।

राजधानीका हलमा यो काम करिब करिब सकिएको छ,’ पण्डितले अब बोर्डको ध्यान मोफसलका हलमा ई–टिकेटिङको चरणदेखि बक्स अफिस प्रणाली लगाउनेमा केन्द्रित रहने उल्लेख गर्दै भने । सरकारले माघ १ देखि मोफसलमा पनि बक्स अफिस लागू गरिने घोषणा गरिसकेको छ । ‘अहिले काठमाडौंका बक्स अफिस लागेका २० हलमध्ये ९० प्रतिशत हलबाट रियल टाइम डाटा आइरहेको छ । क्यूएफएक्स, एफक्यूब र बीएसआर मल्टिप्लेक्सबाट आधा घण्टाभित्रमा डाटा पाएका छौं । ती मल्टिप्लेक्समा पहिल्यै आन्तरिक बक्स अफिसको सफ्टवेयर भएकाले गर्दा केन्द्रीय बक्स अफिसको सिस्टममा आबद्ध हुन केही परिवर्तन गर्नु परिरहेकोले रियल टाइममा आउन समय लागेको हो,’ पण्डितले निर्माता र वितकरले पनि छिट्टै रियल टाइममा फिल्मको बिजनेस रिपोर्ट लिन सक्ने ठोकुवा गर्छन् ।


चलचित्र निर्माता संघ र चलचित्र संघबीच वैशाख ३० मा १७ बुँदे सम्झौता भएको थियो । जसमा हल र निर्माताले फिल्मले गर्ने कलेक्सनको सेयर बाँडफाँडदेखि प्रदर्शन सकिएको दुई साताभित्रमा निर्माताले वितरकबाट पूरा रकम पाउने गरी सम्झौता भएको थियो । निर्माता संघ अध्यक्ष आकाश अधिकारीले उक्त सम्झौता पनि कार्यान्वयनमा गइसकेको बताए । भने, ‘सम्बन्धित फिल्मको निर्माताले वितरकसँग गर्ने सम्झौता निर्माता संघले तयार पारेर कार्यान्वयनमा लैजानेछ भने वितरक र हलबीच हुने सम्झौता चलचित्र संघले तयार पार्नेछ । लिखित रूपमा भएपछि अब कार्यान्वयन गर्न सहज हुनेछ ।’


उनले यी सबैका लािग स्वयं निर्माता जागरुक हुनुपर्नेमा जोड दिए । ‘बक्स अफिसकै कुरामा पनि अझै अप्ठयारो र गाह्रो त झन् राजधानी बाहिरका हलमा छ । जहाँ ई–टिकेटिङको व्यवस्थासमेत छैन । त्यसैले पनि बक्स अफिस सफल बनाउन विकास बोर्डलाई यथाशक्य सहयोग गर्न र ढिलासुस्ती भएको खण्डमा सम्बन्धित निकायमा गएर आवाज पनि उठाउनुपर्छ ।’

प्रकाशित : श्रावण १६, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?