जीवन बदल्न रंगमञ्च

‘सुरुमा नाटक हेर्दा मैले ध्यान दिनै सकेको थिइनँ । जब आफैं संलग्न भएँ, मैले आफू कारागारभित्र छु भन्ने नै बिर्सिएँ । नाटकले मलाई अन्त कतै पुर्‍याइदियो । अर्को जीवन बाँच्न पाएझैं लाग्यो ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — कैदी बन्दीको मनोरञ्जनका लागि कारागारभित्र विभिन्न गतिविधि हुन्छन् भन्ने थाहै छ । सेलेब्रिटीहरू बोलाएर प्राय: सांगीतिक सांस्कृतिक कार्यक्रम गर्ने चलन प्राय: बढी छ ।

तर, अमेरिकाको न्युयोर्क प्रिजनमा भने कलाकार निम्त्याएर रमाइलो गर्नुको सट्टा जेल जीवन भोगिरहेकाहरूलाई नै कलाका विभिन्न गतिविधिमा सामेल गराइन्छ । यसै साता कैदीबन्दी अभिनीत ‘अफ माइस एन्ड मेन’ नाटक देखाइयो ।

रिहाबिलिटेसन थ्रु द आट्र्स (आरटीए) अर्थात् कलाका माध्यमबाट पुन:स्थापना भन्ने कार्यक्रममार्फत कैदीबन्दीलाई रंगमञ्चमा उतारिएको हो । यो कार्यक्रम मनोरञ्जनका लागि मात्र नभएर काराबासमा रहेकाहरूलाई आत्मविश्लेषण गर्ने माध्यम बनोस् भन्ने उद्देश्यले सञ्चालन गर्ने गरिएको छ । हड्सन नदीको किनारमा रहेको सिङसिङ करेक्सन फयासिलिटी (बन्दीगृह) को थिएटरमा रोचक त के भने सहरका उच्च प्रशासनिक व्यक्ति एवं राजनीतिकर्मीहरू पनि नाटक हेर्न आउने गरेका छन् ।

Yamaha

कलाले मान्छेलाई बहुआयामिक बनाउने र आफूभित्रको सकारात्मक पक्ष उजागर गर्न मद्दत गर्ने भएकाले यसमार्फत कैद जीवन बिताइरहेकाहरूलाई असल मार्गमा प्रोत्साहन गराउन खोजिएको आरटीएको वेबसाइटमा उल्लेख छ । ‘यसले हामीलाई फरक तरिकाले सोच्न सिकाइरहेको छ,’ एक कैदीको भनाइ उद्ध्रृत गर्दै वेबसाइटमा लेखिएको छ, ‘हामी राम्रो व्यवहार सिक्दै छौं । पुन:स्थापनाको सही अर्थ मेरा लागि बानी परिवर्तन गर्नु हो, जुन नाटकमार्फत भइरहेको छ ।’

सन् २००३ मा आफ्नै साथीको हत्या गरेर १७ वर्षका लागि थुनामा परेका चाल्र्स मुर अहिले आरटीए कार्यक्रममा निर्माताका रूपमा संलग्न छन् । उनी कारागारमा नाटक उत्पादन गर्न ठूलो धैर्य चाहिने दाबी गर्छन् । पछिल्लो पटक देखाइएको ‘अफ माइस एन्ड मेन’ कै सन्दर्भ जोडेर उनले भने, ‘हलमा दर्शक आइसक्नुभएको थियो । म सबैथोक तयारी अवस्थामा छन् कि छैनन् भनेर जाँच्दै थिएँ । यसो हेर्छु त मुख्य अभिनेता नै थिएटरमा थिएनन् । सुरक्षा अधिकारीले कहिले हलमा पुर्‍याइदेला भनेर उनी त आफ्नै बन्दी कोठामा कुरेर बसेका रहेछन् । बल्लतल्ल आइपुगे ।’

मुरलाई सुरुमा सत्र वर्षसम्म कसरी जेलभित्र बस्ने होला भनेर ठूलो पीर परेको रहेछ । उनी त्यहाँको माहोल देखेर निकै आत्तिएका रहेछन् । पहिलो पटक आरटीएले बनाएको नाटक हेर्दा उनलाई त्यसले खासै आकर्षण पनि गरेको थिएन । उनी उकुसमुकुस भएर बसेका थिए । तर, जब आफैं नाटकमा संलग्न भए, उनको जीवन फेरियो । ‘सुरुमा नाटक हेर्दा मैले ध्यान दिनै सकेको थिइनँ,’ उनले रोलिङस्टोन म्यागाजिनसँग भनेका छन्, ‘तर, जब आफैं संलग्न भएँ, मैले आफू कारागारभित्र छु भन्ने नै बिर्सिएँ । नाटकले मलाई अन्त कतै पुर्‍याइदियो । अर्को जीवन बाँच्न पाएझैं लाग्यो ।’

सानैमा अनाथ बनेपछि हजुरआमाको सानिन्ध्यमा हुर्किएका मुर पछि गएर लागूऔषधको अम्मली हुँदै हत्यारा बनेका थिए । नाटकमार्फत आफूभित्रको मानवता फिर्ता ल्याउन सकेको भन्दै उनी अचेल खुसी छन् । ‘हामी सबै एकजुट भएर यस्ता अद्भुत कार्यक्रम निर्माण गर्छौं,’ उनी भन्छन्, ‘यसले हामीलाई हामी अपराधी मात्र होइनौं भन्ने आभास गराउँछ । समाजले हामीलाई जुन नाम दिएको छ हामी त्योभन्दा बेग्लै पनि छौं ।’

प्रकाशित : श्रावण १७, २०७५ ०९:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सहरमा पिकासो

मधु शाही

काठमाडौँ — सानो डब्बाबाट चित्रकार रमेश खनालले एक मुट्ठी चित्र निकाले । ती चित्र आकारमा हुलाकी टिकटभन्दा अलि ठूला थिए । चित्रका साइज साना थिए तर त्यसमा झल्किएका आकृतिचाहिँ ऐतिहासिक र मूल्यवान् ।

विश्वप्रसिद्ध चित्रकार पाब्लो पिकासोका प्रिन्ट कपी गरिएका १६ वटा चित्र रमेशले अमेरिकाबाट किनेर ल्याएका हुन् । । ‘सानै भए पनि सुन त सुनै हो नि,’ उनले मुस्कुराउँदै भने, ‘पिकासोको चित्रको मूल्य आकारले अर्थ राख्दैनजस्तो लाग्छ, त्यसैले सानै किनें ।’

लाजिम्पाटस्थित आफ्नै ग्यालरीमा रमेशले केही दिनपछि यी चित्रहरू प्रदर्शनीमा राख्दै छन् । केही महिनाअघि अमेरिका गएका बेला रमेश लस एन्जल्स काउन्टी म्युजियम अफ आर्ट (लाक्मा) पुगेका थिए । त्यहाँ पिकासोका ठूलाठूला प्रिन्ट पेन्टिङहरू थिए । रमेशले भने कम पैसामा धेरै चित्र किन्ने सोच बनाए । ‘८० डलरमा १६ वटा ससाना पिकासोका चित्र किनें,’ उनले भने, ‘अब यी चित्रहरूलाई फ्रेमिङ गरेर सजाउने तयारीमा छु ।’ विभिन्न कलेजबाट छनोट गरेर २० जना विद्यार्थीलाई चित्रकला सिकाउन लागेका उनले पिकासोका कलालाई रिफ्रेन्सका रूपमा अभ्यास पनि गराउँदै छन् । विश्व कलाजगत् बुझेर ज्ञान आर्जन गरे कलाको गहिराइ थाहा पाउन सजिलो हुने उनको दाबी छ । आफ्नै घरमा अरूपण आर्ट ग्यालरी खोलेका उनले कला विद्यार्थीका लागि पनि पिकासोका कलाकृति ऐतिहासिक हुने बताए ।

चित्रमा के छ ?
फ्रान्सेली चित्रकार पिकासोको कला शैली ‘क्युबिक’ धार हो । कला समालोचक खनालका अनुसार कुनै पनि दृश्यलाई अगाडिको भाग मात्रै देखाउनु नभई त्यसको लम्बाइ, चौडाइ र गहिराइमा समेत पुगेर सिर्जना गर्ने धार हो यो । ‘त्यो बेला यस्तो शैलीमा काम गर्नु आफैंमा युनिक हो,’ केही चित्र औंल्याउँदै उनले भने । उनले ल्याएका चित्रका प्रिन्टहरू भने ‘वुमन विथ द फ्लावर’, ‘द टु साल्टीम्बान्क्ज’, ‘टु वुमन रनिङ अन द विच’, ‘डोरा मार सिटेड’, ‘पोट्रेट अफ ओल्गा इन एन आर्मचियर’, ‘स्लिपिङ प्यासेन्ट’, ‘स्टिल लाइफ अन अ पेडेस्टल टेवल’ लगायतका शीर्षकका छन् । ‘द ड्रिम’, शीर्षकको चित्रमा पिकासोको रोचक प्रेमकथा समेटिएको छ । सन् १९३२ मा उनले यो चित्र बनाएका थिए । चित्रमा एउटी युवती अर्धनग्न कुर्सीमा मस्त निदाइरहेकी छन् ।


सन् १९२६ ताका पेरिसमा पिकासोले १७ वर्षीया मेरी देरेजी वाल्टरलाई भेटेका थिए । उति बेला पिकासो ४५ वर्षका थिए । पहिलो भेटमै पिकासो मेरीको रूपको दिवाना भए । उनले भने, ‘हेलो मिस तपार्इंको अनुहार आकर्षक लाग्यो । म तपार्इंको पोट्रेट बनाउन चाहन्छु र हामी मिलेर भविष्यमा धेरै काम गर्न सक्छाैं ।’ त्यसको केही वर्षपछि पिकासोले ‘द ड्रिम’ चित्र बनाए । जति बेला मेरी भने २४ वर्ष पुगिसकेकी थिइन् । कल्पना गरेर बनाएको पिकासोको चित्रमध्येकै यो सबैभन्दा बढी मूल्यमा बिक्री भएको मानिन्छ । सन् १९४१ मा ७ हजार डरलमा बिक्री भएको ‘द ड्रिम’ लाई २०१३ मा १ सय ७९ मिलियन डलरमा लिलाम बढाबढ गरिएको थियो ।

‘मदर एन्ड चाइल्ड’ शीर्षकको चित्रको प्रिन्ट कपी पनि रमेशले ल्याएका छन् । यसमा चाहिँ पिकासोका संघर्षका दिन झल्किन्छन् । उनले यो सिरिजमा बनाएका सबै चित्रहरू ‘ब्लु पिरियड’ मा राखेका छन् । ब्लु पिरियड, जुन बेला पिकासो भोकभोकै चित्र कोर्न बाध्य थिए । आर्थिक अवस्था एकदमै कमजोर र कलामा स्थापित हुन उनी संघर्षरत थिए । यसैबीच उनका मिल्ने साथी ‘कार्लेस कासागेमास्’ ले आत्महत्या गरे । त्यति बेला उनले भनेका छन्, ‘साथीको मृत्युपछि नै मैले नीलो चित्र कोर्न थाले ।’ उनका यी शीर्षकका केही चित्रमा कतै न कतै नीलो रङको प्रभाव देखिन्छ । दु:ख र पीडा जनाउने उनले नीलो रङ रोजेका थिए ।


‘स्लिपिङ पेसेन्ट’ चित्र भने शास्त्रीय आधुनिकताको प्रभाव देखिन्छ । यो चित्रमा महिला र पुरुष अंगालोमा निदाइरहेका छन् । पिकासाले महिला पात्रलाई भने अलिक वाइल्ड र ग्लामर्स शैलीमा प्रस्तुत गरेका छन् ।


पिकासोले के सिकाए ?
पिकासोको जीवनबाट संघर्षको पाठ सिकेको बताउँछन् रमेश । उनी आफैं पनि कला समीक्षक भएकाले विश्वका चित्रकारको कलाकृति अध्ययन गरिरहन्छन् । उनले कुनै समय पोट्रेट र ल्यान्डस्केप बनाउँदै कलामा संघर्ष गरिरहेका पिकासोले फरक बाटो रोजेपछि मात्रै सफलता हासिल गरेको बताए । उनका अनुसार कलाकार जर्ज ब्राकसँग मिलेर उनले क्युबिजम आधारित पेन्टिङको आन्दोलन नै सुरु गरेको सुनाए ।

प्रकाशित : श्रावण १७, २०७५ ०९:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT