तीजगीतमा होडबाजी

‘आफ्नै घरआँगनबाट गीत निकाल्न पाइने भएपछि आकर्षण बढ्नु स्वाभाविक छ । अब काठमाडौं धाउने दिन सकिए । काठमाडौंमा लाग्नेभन्दा आधा रकममै उस्तै गुणस्तरमा बुटवलबाट गीत निकाल्न सकिन्छ ।’
अमृता अनमोल

बुटवल — तीज आउन निकै दिन बाँकी छ । तर विभिन्न सार्वजनिक थला, संघसस्था र क्लबहरूमा नाचगान सुरु भइसकेको छ । परम्परागत भन्दा होटल र पार्टी प्यालेसमा तीजको माहोल छ ।‘गाडीमा यात्रा गर्दा होस् या बजार डुल्दा, तीज गीत घन्केको सुनिन्छ,’ कपिलवस्तुकी पार्वती विश्वकर्माले भनिन् ।

तीजगीतमा होडबाजी

साउने संक्रान्तिदेखि नै तीजे गीतको रौनक सुरु भएको हो यता । यसैलाई पछ्याउँदै कलाकारबीच गीत सार्वजनिक गर्न तँछाडमछाड जस्तै चलेको छ । यहाँका ५ वटा मिडिया सेन्टरले यस वर्ष ५० गीत निकालिसकेका छन् । गीत रेकर्डिङ हुने क्रम पनि जारी छ ।

गायिका शिलु भट्टराई ‘उर्मिला’ ले यस वर्ष मात्रै १० वटा गीतमा स्वर दिइन् । उनी आफैंले ‘चम्के तरुनी’ गीत निकालेकी छन् । ६ वर्षअघि गाएको ‘गुम पाकुम गुम’ र दुई वर्ष अघिको ‘भँगेरी चरी...’ गीत उनका चलेका थिए । ‘२२ वटा गीतको अफर आएको थियो,’ शीलुले भनिन्, ‘गीतका शब्द र भाका रोजेर २० वटा गाएँ ।’

पुरुष कलाकारहरू पनि यो होडबाजीमा छन् । प्रचण्ड जीसी, बैकुण्ठ महत, डिल्लीनारायण पाण्डे लगायतले पनि तीज गीत निकालेका छन् । स्थापितदेखि करिअरको सुरुवातमा रहेकाले पनि गीत निकाल्ने क्रम सुरु भएको छ । कल्पना कुसुम पेसाले शिक्षक हुन् । लगातार चार वर्षयता उनले पनि तीज गीत निकालिसकेकी छन् । उनका सबै गीत मौलिक र पुरानो लयलाई नयाँ शब्दमा ढालिएका छन् । यसपालि ‘संगिनी...’ बोलको गीत बजारमा ल्याएकी उनले तीजलाई तीजकै रूपमा मनाउनुपर्ने र मौलिकता भुल्न नहुने बताइन् ।

‘गुल्मीमा जन्मेंहुर्के । त्यसै बेलादेखि मनमा लोकलय बसेको हो,’ कुसुमले भनिन् ।

शिक्षक मात्रै हैन, यसरी गीत निकाल्नेमा पत्रकार पनि छन् । सञ्चारकर्मी निरु गौतमले गुल्मी र अर्घाखाँचीमा प्रख्यात भाका छोपेर ‘जमुनाको तीर...’ गीत निकालेकी छन् । पछिल्लो समय तीज गीतमा नाममा रत्यौली भाका भित्रिएकाले विकृति रोक्न यस्तो गीत बजारमा ल्याएको उनको दावी छ ।

सञ्जय सौगातले ‘कुटुमा कुटु...’, वीरेन्द्र कँुवरले ‘मालीगाई...’, पार्वती न्यौपानेले ‘भदौरे झरी...’ गीत सार्वजनीक गरेका छन् ।

धेरै गीत मौलिक र पुरानो भाका समातेर गाइएका राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्लीनारायण पाण्डेले बताए ।

‘बुटवलका धेरै कलाकार अर्घाखाँची गुल्मी, पाल्पा, स्याङ्जा, प्युठानलगायत क्षेत्रबाट आएका छन्,’ उनले भने, ‘उनीहरूले गीत पनि त्यही क्षेत्रमा गाइने पुराना लय समातेर गाएका छन् ।’

पछिल्लो समयमा बुटवलमा गीत–संगीतको बजार फस्टाएको छ । गीत रेकर्डिङ, मिक्सिङ र भिडियो छायांकनको व्यवस्था यहीँ छ । यसले पनि गीत निकाल्नेहरूको जाँगर बढाएको हो । ‘आफ्नै घरआँगनबाट गीत निकाल्न पाइने भएपछि आकर्षण बढ्नु स्वाभाविक छ,’ बुलबुल मिडियाका निर्देशक विष्णु भट्टराईले भने, ‘अब काठमाडौं धाउने दिन सकिए । काठमाडौंमा लाग्नेभन्दा आधा रकममै उस्तै गुणस्तरमा बुटवलबाट गीत निकाल्न सकिन्छ ।’

रहरको लगानी
काठमाडौं (कास)– तीजको बेला चेलीलाई कसरी खुसी पार्ने ? मोरङका कुमार कटुवालले फरक सोचे । तीज आउन एक महिनाअघि नै छोरी सावीलाई उनले गीत बनाएर उपहार दिए । आफ्नै शब्द र लगानीमा ‘चाइनाको रेल...’, बोलको तीज गीत निकालेका उनले म्युजिक भिडियोमा छोरीलाई नै अभिनय गराए । ‘छोरीकै लागि गीत निकालेको हुँ,’ सरु गौतमको स्वर रहेको गीतबारे उनले भने ।

उनले गीत निकाल्न झन्डै डेढ लाख रुपैयाँ लगानी गरेको बताए । यद्यपि उनको त्यो लगानी बालुवामा पानीजस्तै हो । खुसीभन्दा बाहेकको रिटर्न केही छैन । ‘तीजको बेला चेलीबेटीको खुसी आफ्नोजस्तै लाग्छ,’ उनले भने ।

गायक राजेश बर्देवा बाग्लुङका हुन् । उनले तीन वर्षदेखि आफू र साथीसँग साँझेदारी गरेर गण्डकी क्षेत्रवरिपरिका तीज गीत निकाल्दै आएका छन् । यो पटक राजेशले पहिलेको तुलनामा अलि कम लगानी गरेका छन् । आफ्नै लय–शब्दमा ‘सबै प्रदेशमा...’, र ‘कान्छीलाई...’, बोलको तीज गीत निकालेका उनले डेढ लाख रुपैयाँ लगानीमा दुइटै म्युजिक भिडियो बनाएको बताए । तीज गीतमा सकेसम्म कम लगानी गरेर राम्रो सिर्जना पस्किने सीप सिक्न आवश्यक रहेको उनको बुझाइ छ । ‘तीज गीतकै लागि भनेर ६ महिनादेखि पैसा जोगाउनुपर्छ । लगानी उठ्ने कुनै ठाउँ छैन,’ उनले भने । यसपटक उनले दुई गीत निकाल्न गायिका अमृता नेपाली र सरिता प्रजापतीको समेत सहयोग लिएको बताए ।

तीजको गीत आम्दानी भन्दा बढी रहरको विषय बन्दै गएको गायक सुरेश रानाको पनि ठहर छ । उनी यसपटक गीतै ननिकाल्ने पक्षमा थिए । फेसबुकमा कुराकानी गरिरहेकै बेला मीत भोज मगरले ‘यसपटक म लगानी गर्छु, जसरी’नि गीत निकाल्नुस्’ भनेछन् । यसपछि गुल्मीका यी गायक फुरुङ भए । ‘सिजनल गीत भएकोले तीजको खासै आम्दानी छैन,’ उनले भने, ‘लगानी उठाउनै मुस्किल छ ।’

बुटवल घर भएका मनोज दर्नालले पनि पर्वहरूको सन्दर्भमा गीत निकाल्दै आएका छन् । केही वर्ष विदेशमा बस्दा उनी गीत सिर्जनामा रमाउँथे । मुलुक फर्केर व्यवसायमा रम्दै आएका उनले पनि ‘रहर पूरा गर्नकै लागि गीत निकाले’ को बताए । ‘लगानी त के उठ्थ्यो,’ उनले भने, ‘चेलीहरूका लागि उपहार भनौं न ।’ यसपटक उनले ‘हिलजुत्ता भाँचियो...’ गीत ल्याएका छन्, जसमा देविका घर्तीमगरको पनि स्वर सुन्न सकिन्छ ।

प्रकाशित : श्रावण १७, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?