पारसले ल्याए ‘धरोहर’

कान्तिपुर संवाददाता

काठमाडौँ — अहिले संगीतलाई चर्को अर्थोपार्जनका रूपमा प्रयोग गर्न थालेपछि बेथिति आइरहेको आरोप उत्तिकै सुनिन्छ । यस्तोमा कालजयी गीतमा भन्दा क्षणिक चर्चाका लागि स्रष्टाहरु बिकिरहेको टिप्पणी बाक्लिन थालेको छ ।

पारसले ल्याए ‘धरोहर’

राष्ट्रभाव र भाइचाराका गीत कम निस्किरहेका बेला गायक छविसहित पत्रकार पारस नेपालले ‘धरोहर’ एल्बम सार्वजनिक गरेका छन् । भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा बिहीबार वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ साहित्यकार प्रा. अभि सुवेदीले लोकार्पण गरेको उक्त एल्बममा माटो र मुटुका भनिएका पाँच गीत छन् ।


लोकार्पण समारोहमा एल्बममा समावेश ‘कस्तो हुन्थ्यो...’ गीतको भिडियो पनि देखाइएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना तथा डब्बु क्षत्रीको निर्देशन रहेको गीतमा भ्रातृत्वको भावना व्यक्त गरिएको छ । भिडियोमा वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन् ।


एल्बममा ‘गर्मी भयो रे...’, ‘दायाँ बायाँ...’, ‘सबै भन्छन्...’ र ‘तिमीले टेक्ने...’ बोलका गीत समाविष्ट छन् । यी गीत क्रमश: क्षेत्रप्रताप अधिकारी, अमन मास्के, दिनेश अधिकारी र फूलमान वलले लेखेका हुन् । सबै गीतमा जुगल डंगोलको संगीत सुन्न सकिन्छ ।


कार्यक्रममा गायक प्रधानले पारसका गीतले आफूलाई पुराना दिनको शैली स्मरण गराएको बताए । ‘हाम्रो पालाको जस्तै आधुनिक गीतहरू रहेछन्,’, उनले भने, ‘गायक नेपालको स्वर मीठो छ । सस्टेन नोट र मिडमा राम्रो सुनिने रहेछ । गायनलाई नछोड्नुस् । बरु अझै खुलेर, नधकाई गाउनुहोला ।’


प्रा. सुवेदीले ‘धरोहर’ का गीत सुनेर आफूलाई प्रेरणा जागेको भन्दै गायकलाई त्यसका लागि धन्यवाद दिए । उनले भने, ‘भावनाभित्रको अभिव्यञ्जना समाउँदै भित्रै पसेर गाउन सक्ने सामथ्र्य पारसको स्वरमा पाएँ । यो शैलीलाई अझ व्यापक बनाउनुस् । स्वरमा डाइमेन्सन छ ।’ उनले गायकले कवितालाई नै गाइदिएको उल्लेख गर्दै गीतहरू सुनिरहन मन लाग्ने गरी बनेको तर्क गरे ।


कान्तिपुरकर्मी पारसले आफूलाई विश्वास गरेर गीत दिने र एल्बम निर्माणमा सहयोग गर्नेप्रति आभार व्यक्त गरे । संगीतकार डंगोलले पाँच वर्षदेखिको आफूहरूको प्रयास बल्ल सफल भएको बताए । ‘मेरा लागि यो विशेष एल्बम हो,’ उनले भने, ‘अग्रज स्रष्टाका गीतमा संगीत भर्ने अवसर मिल्यो ।’ जुगलकै संगीतमा पारसको स्वर–शब्दमा यसअघि ‘नालापानी कालापानी...’ बोलको जागरण गीत बजारमा आइसकेको छ ।

प्रकाशित : श्रावण १७, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?