कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“तीन महिनापछि सही डाटा”

बहसमा बक्स अफिस
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फिल्म क्षेत्र यतिबेला बक्स अफिसले तताएको छ । सरकारले साउन १ गतेबाट उपत्यकामा बक्स अफिस प्रणाली लागू भएको घोषणा गरे पनि अझै निर्माताले रियल टाइम डाटा हेर्ने सुविधा पाइसकेका छैनन् ।

“तीन महिनापछि सही डाटा”

यस्तोमा बिहीबार राजधानीमा चलचित्र पत्रकार संघले ‘बक्स अफिस कार्यान्वयनका चुनौती’ विषयक बहस चलायो । बहसमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले प्राविधिक समस्याहरू मिलाउन केही समय लाग्ने बताउँदै ‘रियल टाइममा रिपोर्ट’ हेर्न अझै समय लाग्ने बताइन् ।


सफ्टवेयरको समस्या सुल्झिसकेको भए पनि हलको व्यवस्थापनमा अझै केही समस्या रहेको उनले खुलाइन् । ‘सरकारले बक्स अफिस सुरु गर्नु नै नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक उपलब्धि बनेको छ,’ पौडेलले भनिन्, ‘सबै प्राविधिक समस्या मिलाउँदा तीन महिनामा रियल टाइम डाटा हेर्ने अवस्था हुन सक्छ । अहिले पनि एक घण्टा ढिलो गरी डाटा त हेर्न पाइहालिन्छ ।’


विकास बोर्डका बक्सअफिस कन्सल्ट्यान्ट मनीष पण्डितले पनि निर्माताहरूले सजिलै बक्स अफिस रिपोर्ट हेर्न पाइरहेको दाबी गरे । ‘डाटा मात्र पाउनुभन्दा पनि सही डाटा पाउनु ठूलो कुरा हो,’ उनले भने, ‘पहिलो हप्ता केही समस्या थियो तर अब हल भइसकेको छ ।’ निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बक्स अफिस प्रणालीको प्रशंसा गर्दै आफूहरूले बोर्डले दिएको तीन हप्ते समय सीमा कुरिरहेको बताए । निर्माताहरूलाई बक्सअफिसका विषयमा जानकारी दिन ‘ओरिएन्टेसन कक्षा’को समेत तयारी गरिरहेको उनले बताए । चलचित्र संघका अध्यक्ष प्रदीप उदयले भने नेपालमा लागू भएको बक्स अफिस विश्वमै सरकारका तर्फबाट लागेको पहिलो बक्स अफिस भएको दाबी गर्दै नियत सफा नभएसम्म सानातिना समस्या आइरहने दाबी गरे ।


बक्स अफिसको सुरुवात हुनु नै ठूलो कुरा रहेको बताउँदै उनले फोन र इन्टरनेटको राम्रो सुविधा नभएको ठाउँबाट समेत समान अपेक्षा गर्नु उपयुक्त नहुने तर्क अघि सारे । बक्सअफिस लागू भएपछि रिलिज भएको फिल्मका निर्माता, निर्देशक पनि बहसमा सहभागी थिए । दुई साताअघि रिलिज भएको ‘भैरे’ का निर्देशक एभरेस्ट सूर्य बोहराले बक्सअफिस लागू भएपछि पनि दर्शकले फर्जी टिकट काटेर हलमा प्रवेश गरेको फेला पारेको दाबी गरे । बोर्ड अध्यक्ष पौडेलले भने ‘सम्बन्धित पक्षबाट लिखित उजुरी नआउँदासम्म कारबाही प्रक्रिया अघि बढाउन नसक्ने’ बताइन् । छलफलमा सहभागी निर्माताले भने वितरक र बक्स अफिसबाट प्राप्त तथ्यांकमै एकरूपता नभएको आरोप लाए ।

प्रकाशित : श्रावण १८, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?