र्‍यापको फड्को

कान्तिपुर संवाददाता

काठमाडौँ — हिपहप भनौं वा र्‍याप, म्युजिकमा पछिल्लो समय दुइटा शब्द खुब लोकप्रिय छन् । गुची मेन, टाइगा, मिगोस, रेड क्याफे, लिल पम्प जस्ता आर्टिस्टले आफ्ना गीतमा ‘मनी’ र ‘गुची’ शब्द सर्वाधिक प्रयोग गर्छन् । इटालियन फेसन ब्रान्ड गुची त अहिलेको र्‍याप शब्दावली नै बनेको छ भन्दा फरक नपर्ला ।

रोलिङ स्टोन म्यागाजिनका अनुसार ‘गुची’ शब्द अहिलेसम्मका गीतमा ३ हजार पटक प्रयोग भएको छ । लिल पम्पको ‘गुची ग्याङ...’ गीतमा मात्र यो ५१ पटक उच्चारण गरिएको छ । नौ महिनाअघि रिलिज भएको उक्त गीत नेपाली हिपहप प्रेमीमाझ पनि लोकप्रिय छ । र्‍यापर सोल्ज ब्वाईको ‘गुची ब्यान्डाना...’, टाइगाको ‘गुची स्नेक...’, मिगोसको ‘आइम गुची...’ लगायत गीत पनि यहाँको युवा सर्कलमा पपुलर छन् ।


विश्व संगीतमा हाल महत्त्वपूर्ण विधाका रूपमा स्थापित र्‍याप म्युजिक जसरी विलासी शब्दहरूमा रमिरहेको छ, यसले आयआर्जनका लागि नयाँ स्रोत पनि विस्तार गरेको देखिन्छ । कर्पोरेट ब्रान्डहरू हिपहप संगीतकर्मीसँग सहकार्य गर्न लालायित हुन थालेका छन् । ड्रेक, लिल पम्प, एक्सएक्सएक्स टेन्टासियनजस्ता आर्टिस्ट छोई नसक्नु महँगा भएका छन् । यिनका कार्यक्रम/एल्बमको प्रायोजन गर्नेदेखि विज्ञापन र अन्य गतिविधिमा सामेल हुन खोज्नेको ठूलो हूल छ ।

Yamaha


फेसन, फुड र हस्पिटालिटीदेखि अहिलेको नयाँ क्षेत्र ई–स्पोर्टले समेत हिपहपलाई क्यास गर्न खोजिरहेको छ । कुनै बेलाको उपेक्षित संगीत विधा अहिले यसरी पपुलर बन्नुलाई संगीतकर्मीले हिपहपको ठूलो फडको मानेका छन् । ‘रक आर्टिस्टहरूले आफू अनुबन्धित भइसकेको छु भनेको धेरै सुनियो,’ कार्यक्रम आयोजक मार्सी एलेन भन्छन्, ‘अचेल र्‍यापरहरू पनि विभिन्न ब्रान्डको दूत बनिसक्छन् । उनीहरूले आई एम प्याक्ड भनेको सुन्दा खुसी लाग्छ ।’


केहीअघि बेलायतको डाटा मेजरमेन्ट कम्पनी निल्सेनले अमेरिकी मेनस्ट्रिम म्युजिकमा र्‍यापले रक विधालाई विस्थापित गरेको रिपोर्ट सार्वजनिक गरेको थियो । र्‍यापले मनी (पैसा) र श्रोताले र्‍याप मन पराउन थालेपछि हिपहपका ठूला स्टार मात्र नभएर अन्यले पनि भाउ पाउन थालेका छन् । जे–जी, ड्रेक र कार्डी बीको विकल्प प्रशस्त हुन थालेका छन् ।


अन्तर्राष्ट्रिय क्षेत्रमा हिपहपले हैकम जमाइरहे पनि हामीकहाँ यो विधा आफ्नो क्षेत्रमा मात्रै सीमित देखिन्छ । यद्यपि, हिपहप विधाकै गिरीश खतिवडा, म्याफ्लो, लाउरेजस्ता आर्टिस्ट अहिले व्यस्त र राम्रो आम्दानी गर्ने कलाकारमा पर्छन् ।

Esewa Pasal

प्रकाशित : श्रावण १८, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

“देवता बन्ने मान्छे छैनन्”

‘समय धेरै दिनुपर्ने र आफैं खर्च गर्नुपर्ने भएकाले अहिलेका तन्नेरीहरू देवता बन्न चाहँदैनन् । गुठीबाट आउने सहयोगले एक छेउ पनि पुग्दैन । यस्तोमा युवा पुस्तालाई कसरी आकर्षित बनाउनु ?’
सुनीता साखकर्मी

भक्तपुर — बुवाले देवता बन्ने प्रस्ताव राख्दा भक्तपुरको इनाचोका नारायणमान वनमाला १७ वर्षका थिए । आफूले देख्दै आएको नृत्य परम्परा भएकाले उनले नाइँ भनेनन् । २०४२ देखि डेढ दशक उनी निरन्तर देवगण (देवता) बने ।

खर्पनको एकातिर मखुन्डो र अर्काेतिर गरगहना बोकेर कहिले उनी बनेपा पुगे, कहिले साँखु त कहिले पशुपति । पैदलै हिँडेर यसरी उनले नवदुर्गा नाच झिके, देउता बन्दै । चलन नभएकाले, नाच्दा जुत्ता पनि लाएनन् । अहिले उनी ५० वर्षका भए । केही अघि उनले पनि छोरालाई बुवाले जस्तै प्रश्न राखे, ‘बाबु, देवता बन्नुपर्‍यो ।’ तर, छोराले भने, ‘नाइँ, सक्दिनँ ।’


नारायणमानका छोराले मात्रै होइन, यति बेला सिंगो भक्तपुरकै वनमाला समुदायको नयाँ पुस्तालाई देवगण बन्न समस्या परिरहेको छ । नाला, नंखेल, बनेपा, साँखु लगायतका वनमाला समुदायका सयभन्दा बढी घरधुरीको गुठी छ, यसलाई पनि यो संस्कृति जोगाउन मुस्किल पर्दै आएको छ । नारायणमानका अनुसार वर्षभरि भक्तपुरका २१ ठाउँमा देवगणले देउताको नाच निकाल्नुपर्छ । जात्रा देखाउनकै लागि पशुपति, साँखु, नाला, साँगा, बनेपा, पनौती, धुलिखेलसम्म जानुपर्छ । जहाँ गए पनि गाडी चढ्नु हुँदैन । झन्डै २५ देखि ३० किलो बोकेर हिँडेरै पुग्नुपर्छ । नांगा खुट्टा नाच्नुपर्छ ।


‘मुख्य चाहिँ आर्थिक समस्या बन्दै छ,’ नारायणमानले भने, ‘गुठीबाट आउने सहयोगले एक छेउ पनि पुग्दैन । यस्तोमा युवापुस्तालाई कसरी आकर्षित बनाउनु ?’
नारायणमानका अनुसार मल्लकालदेखि भक्तपुरको वनमाला समुदायले तान्त्रिक विधिद्वारा मानव शरीरमा देवत्व प्रतिष्ठा गरी ‘नवदुर्गा देवगण’ का रूपमा नाच प्रस्तुत गर्दै आएको छ । देवगण बन्नेहरू वर्षैपिच्छे फेरिन्छन् । ‘हाम्रो समुदायको गुठीले घरैपिच्छे पालैपालो देवगण बन्ने नियम बनाएको छ,’ उनले भने, ‘तर, अब हत्तपत्त देवता बन्न कोही चाहँदैनन् । यो नाचका लागि अन्य नेवार समुदायको पनि उत्तिकै सक्रियता चाहिन्छ ।’


मखुन्डो बनाउन चित्रकार, ‘हाकुज्या कलश’ को भाँडा बनाउन प्रजापति, मखुन्डो लिन जाँदा माली, पुयेउ बाजा बजाउन परियार, कँ बाजा बजाउन मानन्धर र विधिपूर्वक पूजा गर्न कर्माचार्य चाहिन्छ । ‘साउन भलभल अष्टमीका दिन नवदुर्गाले विश्राम लिइसकेपछि घण्टाकर्णको केही दिनअघि देवगण बन्नेहरूको नाम तय गर्नुपर्छ,’ उनले भने, ‘समय धेरै दिनुपर्ने र आफैं खर्च गर्नुपर्ने भएकाले अहिलेका तन्नेरीहरू देवता बन्न चाहँदैनन् ।’
उनी आफैं नौ कक्षा पढदै गर्दा देवगण बनेका थिए ।

नाच छोडेर अन्य पेसामा
नृत्य संरक्षणका लागि सरकारसँग पटकपटक रकम माग गर्दा पनि नदिएपछि वनमाला समुदायमा समस्या देखा परेको हो । अचेल देवगण बन्नै नमानी अन्य पेसातर्फ आकर्षित हुनेहरूको संख्या ठूलो रहेको नारायणमानले सुनाए । भक्तपुरकै बालकृष्ण वनमाला पनि सात वर्षको उमेरदेखि केही समय देवगण बने । सिंह, दुम्ह, बालकुमारी लगायत देवताको अवतारमा देखा परे । तर पछि उनको मन बदलियो । उनी अहिले कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्छन् र पेन्टिङ पनि गर्छन् । यो नाचमा समय दिँदा पढाइ नै छोड्नुपर्ने अवस्था आएकाले पनि उनी बदलिएका हुन् ।


यस्तो समस्या २०४५ देखि नै आएको हो । ‘समस्या भयो भनेर दसैंको पूर्णिमाको दिन राजा सवारी हुँदा बिन्ती गर्‍यौं,’ नारायणमानले भने, ‘लोकतन्त्र आएपछि पनि राष्ट्रपति नवदुर्गा पूजामा आउँदा पत्र दियौं, तर सुनुवाइ भएन ।’ यो नाचमा लाग्दा आधारभूत आवश्यकता पूरा गर्न नै कठिन भएकाले पनि ‘व्यक्तिगत पहलमा कतिन्जेल बचाउने ?’ भन्ने प्रश्न उठेको उनले बताए ।

नवदुर्गा नाचको महत्त्व
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:का अनुसार आधुनिक नेपाल निर्माण हुनुअघि उपत्यका र आसपासका राज्यहरूलाई नेपाल मण्डल भनिन्थ्यो । लिच्छविकालीन राजाहरूले आपतवपत्बाट राज्यको सुरक्षा गर्न नेपाल मण्डलका चारै दिशामा अष्टमातृका स्थापना गरी विधिवत् रूपमा नवदुर्गा नाच सुरु गरे । विविध कारणले रोकिएको नाचलाई नेपाल संवत् ६३३ मा भक्तपुरका सुवर्ण मल्लले पुन: सञ्चालनमा ल्याए ।


नारायणमानका अनुसार नवदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । खिँ, तँ, कंस, नकिं, थोम्हा, दातिम्हा, झिम्हा लगायतका बाजा बजाउने टोलीसँगै भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, माहेश्वरी, वैष्णवी, बालकुमारी, श्वेत भैरव, सिंह र दुम्ह गरी १३ देवीदेवताका अवतारमा नाच्नेहरू नै हुन्छन् । ‘दसैंमा नवमीको दिनमा खमे व्वाकेउ नामक जात्रा मनाइन्छ, रातभरी नै पुजा हुन्छ’, उनले भने, ‘दशमीको दिन मकुन्डोसहित प्रदर्शन गरिन्छ ।’ बेलुका पीठबाट कर्माचार्यले तान्त्रिक विधिपूवर्क मकुन्डो देवतालाई ख्वापा र गरगहना पहिराइदिएपछि मकुन्डो र जामा लगाएर नगर परिक्रमा गर्दै ‘पाया न्ह्याकेउ’ जात्रा मनाइने नारायणमानले बताए ।


‘त्यही दिन मात्रै वर्षको एक दिन तलेजु बाहिर ल्याइन्छ अनि नवदुर्गा र तलेजुको भेटघाट गराइन्छ,’ उनले भने, ‘यसपछि तीन/चार दिनसम्म नगरपरिक्रमा हुन्छ ।’ बाला चतुर्दशीदेखि पशुपतिबाट ‘ङा लाकेउ’ जात्रा सुरु हुने र यसमा पनि नवदुर्गा देवगणले नाच्नुपर्ने हुन्छ । आफैंले खर्पनको एकातिर मकुन्डो र अर्काेतिर गरगहना बोकी खाली खुट्टा हिँडेरै पशुपति पुग्ने र दुई दिनपछि फेरि हिँडेर भक्तपुर आउनुपर्छ । ‘पशुपति पछि थिमिमा जात्रा गर्ने चलन थियो,’ उनले भने, ‘केही वर्षयता हुन सकेको छैन ।’ साँखुमा हुने माधवनारायण मेला, साँगाको श्रीपञ्चमी मेला, नालाको होली पुन्ही, बनेपाको चण्डेश्वरी जात्रामा पनि वनमालाहरू नै नाच लिएर पुग्नुपर्छ । पहिले गोकर्णसम्म पुग्ने गरेकोमा अहिले उनीहरू जान छाडे ।
संस्कृतिविद् ग्वंगले पितापुर्खाबाट प्राप्त ज्ञान श्रुति परम्पराबाट समाजमा हस्तान्तरण हुँदै आउने क्रममा पछिल्लो समय पाश्चात्य प्रभावका कारण गलत धारणा बन्दै गएको गुनासो गरे ।

बजेटै छैन
असार ८ गते भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । असार १० गते उपमेयर रजनी जोशीले नयाँ बजेट प्रस्तुत गरिन् । कुल १ अर्ब ७३ करोड ४० लाखको बजेटमा राष्ट्रिय कला संग्रहालय, स्मारक संरक्षण तथा दरबार हेरचाहदेखि सम्पदा पुनर्निमाणसम्मको लागि बजेट छुट्टयाएको छ, तर अमूर्त कला र सीप हस्तान्तरण वा व्यापारीकरणका लागि बजेट छैन । यसबारे मेयर प्रजापतिले केही बोल्न चाहेनन् ।


त्यस्तै, गुठी संस्थानमा भद्रकाली गुठीअन्तर्गत छुट गुठीको रूपमा नवदुर्गा देवगणको गुठी दर्ता छ र गुठी संस्थानको लगतमा यो गुठीको ८२ रोपनी जग्गा छ । छुट गुठीलाई संस्थानले अति कम पैसा दिँदै आएको गुठी संस्थान, भक्तपुरका अध्यक्ष हरिप्रसाद सुवेदीले बताए । उनले भक्तपुरका मुख्य जात्राबाहेक अन्यलाई रकम दिने नगरेको स्विकारे । ‘उनीहरूको आफ्नै जग्गा छ । गुठीले नै मिलेर गरिरहेका छन्,’ उनले भने, ‘पुगेन भनेर पैसा दिने चाहिँ गरेका छैनौं ।’


नारायणमानले भने संस्थानको लगतमा गुठीको ८२ रोपनी भए पनि अहिले जग्गै नभएको बताए । पहिले–पहिले कुनै पनि जात्रा, नाच, बाजा बजाउनेहरूका लागि गुठी जग्गाको व्यवस्था हुने गरेको भए पनि पछि विविध कारणले यो लोप हुँदै गएर संकट आएको संस्कृतिविद् प्रा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।


‘भक्तपुरको नवदुर्गा नाच, पाटनको हरिसिद्धि नाच र काठमाडौंको नरदेवी नाच नेपालकै सान भएकाले यिनलाई जोगाउनुपर्छ,’ उनले भने, ‘नाचमा लाग्नेहरूको कमाइ हुने बाटो छैन । कागजमा मात्रै देखिने पहिलेकै गुठी जग्गा छ भन्दै सहयोग नगर्दा नवदुर्गा नाच हराउन सक्छ ।’

प्रकाशित : श्रावण १८, २०७५ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT