टिसर्टमा नेपाली पारा

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ...’ । नारायणगोपालको यो सदाबहार गीत गुनगुनाउने प्रशस्तै छन् । स्वर हुनेका लागि गाउँदाको आनन्द पक्कै पनि बेग्लै हुन्छ । तर, अलिकति पनि लय हाल्न नजान्नेले चाहिँ मन परेको गीत के गर्लान् ?

टिसर्टमा नेपाली पारा

कार्टुनिस्ट राजेश केसीले गतिलो उपाय निकाले । उनले ठूलो ढुंगाले थिचिएको मुटुको चित्र बनाए, त्यसैमा लेखे, ‘मुटुमाथि ढुंगा राखी...’ ।

‘हेर्दा पनि यो कार्टुन रमाइलो देखियो,’ राजेशले भने, ‘अनि यसैलाई टिसर्टमा प्रयोग गर्न थालें ।’ उनका अनुसार, यस्ता टिसर्ट अचेल युवाहरूले खुब मन पराउँछन् । लुगामा मौलिकता, संस्कृति, राष्ट्रियता र प्रकृति झल्किने आकृति रुचाउनेहरूको ठूलो संख्या रहेको उनको दाबी छ । बितेका छ वर्षदेखि ‘फलानो’ ब्रान्डनेम दिएर उनले तयारी कपडाको व्यावसायिक अभियान चलाएका छन् । प्राय: फलानोले मौलिकता झल्किने टिसर्ट प्रिन्ट गर्दै आएको छ । उनका अनुसार, लुगा लगाउनुको अर्थ सजिलो, छरितो हुनुका साथै प्रफुल्लित हुनु पनि हो ।

‘हेर्दा युनिक लागून्, देख्नेहरू पनि मुसुक्क हाँसून्,’ उनले भने, ‘त्यसैले डिजाइन प्रिन्ट गर्दा धेरै भावुक भएर गर्दिनँ । जोयफुल मुभमेन्ट देखाउँछु, यसैमा संस्कृति र मौलिकता जोड्छु ।’
राजेशले नारायणगोपाल संगीत कोषसँग उनका गीत टिर्सटमा लेख्न पाउने भनेर पाँच वर्षको सम्झौता नै गरेका छन् । यसबापत् दुई वर्षदेखि १ लाख रुपैयाँको हाराहारीमा रोयल्टीसमेत दिइसकिएको उनले बताए । ‘कुनै स्रष्टाको सिर्जना यत्तिकै बिकाउनु हुन्न,’ उनले भने, ‘यस्तै अरू स्रष्टाका सिर्जना पनि औपचारिक रूपमै लिने योजना बनाएको छु ।’

अभिनेत्री सन्ध्या केसी नेपालीपन झल्किने पहिरन लगाउन मन पराउँछिन् । उनी प्राय: बौद्ध स्तूप, बुद्धका आँखा, मण्डलाजस्ता नेपाली संस्कृति झल्किने प्रिन्टेड टिसर्ट लाउन मन पराउँछिन् । यस्तै लुगा उत्पादन गर्ने जुजु वेयरकी उनी ब्रान्ड एम्बास्डर नै हुन् । उनको अनुभवमा यस्तो प्रिन्टेड लुगा विदेशी ब्रान्डभन्दा गुणस्तरीय हुन्छ । रमाइलो पक्ष त के भने, जब उनी नेपाली सांस्कृतिक आकृति भएका लुगा लाउँछिन्, मनभित्रबाटै राष्ट्रप्रति गौरव महसुस पनि गर्छिन् ।

‘बुद्धको आकृतिवाला टिसर्ट लगाउँदा एक प्रकारको शान्ति महसुस गर्छु,’ उनले भनिन्, ‘आफ्नै देशको लुगा लगाएकोमा मिल्ने आनन्द भिन्नै छ ।’ हालै उनले कालो टिसर्टमा बाफयुक्त तातो ममको आकृति प्रिन्ट गरेको टिसर्ट लगाएकी थिइन् । ‘युवाहरूमाझ पपुलर हुँदै गएको मम कल्चर देखिन्छ यो टिसर्टमा,’ उनले भनिन् ।

चित्रकलाको कला लुगामा
५७ वर्षे प्रदीपमान शाक्य ‘जुजु वेयर’ सुरु गर्नुअघि फाइन आर्टका विद्यार्थी थिए । फाइन आर्टमा स्नातक गरेपछि उनले कहिल्यै क्यानभास रंगाएनन् । अमेरिकी मार्केटमा पुर्‍याउन आफ्नै गार्मेन्टको काम गर्न थाले । त्यहाँ उनले आम्दानी त राम्रै गर्थे तर, मन कतै न कतै भौंतारिरहेको थियो । आफ्नो सिर्जना कहाँ पोख्ने ? उनले क्यानभासको सट्टा टिर्सट र लुगा रोज्न थाले । ‘लुगामार्फत आफ्नो कलालाई विश्व बजारमा पुर्‍याउने योजना बुनें,’ उनले भने, ‘सन् २०१३ देखि जुजु वेयर सुरु गरें ।’

प्रदीपले लोप हुन लागेका नेवारी संस्कृतिसमेत टिर्सटमा देखाउँदै आएका छन् । गौतम बुद्ध जन्मिनुभन्दा अघिका दिपंकर बुद्धसित जोडिएको नेवारी जात्रा परम्परालाई उदाहरण मान्न सकिन्छ । त्यस्तै पञ्चबुद्ध, पौवा संस्कृतिलगायतका नेवारी संस्कृतिको मौलिकता पनि उनले टिर्सटमा उतार्दै आएका छन् ।

विदेशमा बढी माग
कार्टुनिस्ट राजेशका अनुसार, कल्चरल आइकन लुगाको माग स्वदेशमा भन्दा विदेशमा बढी हुन्छ । उनको उत्पादनको करिब ९० प्रतिशत विदेशमै जान्छ । खास गरी विदेशमा बसेका नेपालीले चिनो र गिफ्टका रूपमा यस्तो पहिरन रोज्ने गरेका छन् । अर्गानिक कटन आधारित लुगाहरू विदेशीले धेरै रुचाउँछन् । ‘हामी अर्गानिक कटनमा डिजाइन गर्छौं,’ राजेशले भने, ‘विदेशीहरू यस्ता लुगा खोजीखोजी लिने गर्छन् ।’

जुजु वेयरका प्रदीपसँग पनि स्वदेशभन्दा विदेशकै बजार माग ठूलो छ । ‘विदेशमा पहिरन पुग्नु भनेको लुगासँगै कला र संस्कृति पनि पुग्नु हो,’ उनले भने, ‘घुमाएर यसले मुलुककै प्रवद्र्धन गरिरहेको हुन्छ ।’

प्रकाशित : श्रावण १९, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?