१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बढ्दै छ मैथिली प्रभाव

कान्तिपुर संवाददाता

जनकपुर — केहीअघि नेपाली कथानक फिल्म ‘फाटेको जुत्ता’ रिलिज भयो । फिल्ममा मैथिली परिवेश मात्रै हैन, भाषाको पनि भरपुर प्रयोग थियो । यसपछि पुरनेन्दुकुमार झाको फिल्म ‘संरक्षण’ आयो । यसमा पनि विषय, परिवेशदेखि संवादसम्म मैथिली प्रभाव थियो ।

बढ्दै छ मैथिली प्रभाव

याम थापाको ‘रज्जा रानी’ त मैथिली भाषामा डबिङ मात्रै गरिएन, मैथिली स्वादको नेपाली फिल्म भन्दै प्रशंसा पनि गरे समीक्षकहरूले । यादव भट्टराईको ‘भोर’ होस् या, आर राजवंशीको ‘शेरबहादुर’, पात्र, परिवेशदेखि संवादसम्म मैथिलीकै दबदबा देखियो ।

पछिल्लो समय नेपाली–मैथिली समाज मिश्रित फिल्मले थुप्रै कलाकारलाई लाइम लाइटमा पनि ल्याइदियो । रवीन्द्र झा, कामेश्वर चौरासिया, राजेश सक्सेनादेखि प्रियंका झासम्म । त्यसअघि नै रमेशरञ्जन झा स्थापित भइसकेका थिए । नेपाली भाषाको फिल्ममा मैथिली प्रभाव भने दुई दशकअघि नै सुरु भएको हो ।

निर्माता एवं निर्देशक अशोक शर्माले ‘सीता’ फिल्मबाट मैथिली प्रभाव भित्र्याएका थिए । जनकपुरको पृष्ठभूमिमा निर्मित उक्त फिल्ममा मैथिली रंगकर्मी सुनील मिश्रलाई प्रमुख भूमिका दिइएको थियो । मैथिली रंगमा रंगिएको नेपाली फिल्म ‘सीता’ लाई मैथिलीभाषीहरूले निकै मन पनि पराएका थिए । त्यसपछि नेपाली फिल्म ‘भैरव’ र ‘शिवशक्ति’ मा मुरलीधरको मुखबाट बोल्न लगाइएको मैथिली भाषाको संवाद स्थानीय दर्शकले अझै सम्झिन्छन् ।

रमेशरञ्जनका अनुसार नेपाली फिल्ममा मैथिली चरित्र र समाज आउनु सकारात्मक भए पनि मैथिली फिल्म उद्योग आफंैमा चेपुवामा छ । ‘यसमा अनेक कारण छन्,’ हालै फिल्म ‘शत्रु गते’ मा तराईको एक शक्तिशाली चरित्रमा अभिनय गरेका झा भन्छन्, ‘राज्यले मातृभाषाको कला, साहित्य र फिल्मलाई प्रवद्र्धन गर्नै सकेन । मूलप्रवाहीकरणमा समस्या रहयो ।’ हाल टेलिभिजनबाट प्रसारण भइरहेको नवीन सुब्बाको चर्चित सिरियल ‘सिंहदरबार–२’ मा पनि तराईकै शक्तिशाली पात्रको रूपमा देखिएका रमेशरञ्जन मुलुक प्रादेशिक संरचनामा गइसकेकाले अबचाहिँ क्षेत्रीय फिल्महरूलाई उठाउन सक्ने सम्भावना बलियो देख्छन् ।

चेपुवामा मैथिली फिल्म
मैथिली फिल्मकर्मी राजेश सक्सेनाका अनुसार हरेक वर्ष ५ देखि ६ वटासम्म मैथिली फिल्मको शुभमुहूर्त हुन्छ । स्थानीय पत्रपत्रिकामा समाचार पनि छाउँछ । तर, निर्मिाण सम्पन्न भने २ देखि ३ वटा मात्रै हुन्छन् । यसका अनेक कारण छन् । ‘पहिलो समस्या हलको हो,’ उनी भन्छन्, ‘प्रदेश–२ मा मैथिलीभाषी बाहुल्य भए पनि हल पाउन कठिन छ ।’ जनकपुर, राजविराज, लाहान, सिरहा, बर्दिबास, मलंगवाका हलहरूमा मैथिली फिल्म लाग्छन् । ‘तर जब हिन्दी या भोजपुरी फिल्म रिलिज हुन्छ, मैथिलीलाई हलबाट हटाइन्छ,’ सक्सेना भन्छन्, ‘भोजपुरीका अर्धनग्न फिल्म महिनौं चल्छन् तर मैथिली फिल्मलाई सो दिन हलहरू आनाकानी गर्छन् ।’ राज्य तहबाटै स्थानीय फिल्मलाई संरक्षणको नीति बनाएर त्यहीअनुरूप व्यवहार गर्न सके मातृभाषी फिल्म उद्योगकै रूपमा फस्टाउने तर्क छ उनको ।

त्यसो त केही वर्षअघि नै राष्ट्रिय फिल्म नीति तय भएर कार्यान्वयन क्रममा छ । नीतिमा स्थानीय भाषाको फिल्मका लागि हलले सहज सोहरू उपलब्ध गराउनुपर्ने ‘सकारात्मक विभेद’ को व्यवस्था भएको नीतिका मस्यौदाकार एवं वरिष्ठ फिल्मर्की यादव खरेल बताउँछन् । तर, नीति कार्यात्वयनको कुनै प्रयत्न हुन सकेको छैन ।

आफ्नै पहल
मैथिली फिल्मको प्रवद्र्धनका लागि वीरेन्द्र कविरपन्थीले सुजित मल्टिमिडिया नामक संस्था नै खोले । उनले यो ब्यानरबाट ‘करम–भाग्य’, ‘अपन समाज’, ‘भौजीके बहिन’ लगायतका मैथिली फिल्म निर्माण पनि गरेका छन् । उता सप्तरीलाई कार्यक्षेत्र बनाई मैथिली फिल्म निर्माणमा जुटेका छन् कमल मण्डल । उनले पनि ‘जिबै संंगे’, ‘मडबै संगै’, ‘दू दिनक जिनगी’, बनाएका छन् ।

सुरेन्द्र चौधरीले ‘अक्षत’ र ‘औकात’ लगायतका मैथिली फिल्म निर्माण गरेका छन् । उनीहरू पनि बजारको सहज व्यवस्थापन हुन नसकेकोप्रति गुनासो गर्छन् । ‘सरकारले त हिन्दीभन्दा मैथिली फिल्मलाई प्राथमिकतामा राख्नुपर्ने हो,’ रमेशरञ्जन भन्छन्, ‘तर, यस्तो हुन सकेको छैन ।’

यसो हुन नसक्दा मैथिली फिल्मका फुलटाइम कलाकार मानिने रामनारायण ठाकुर, बीएन पटेल, रिना यादव, मदन ठाकुर, अनितारानी मण्डल, विष्णुकान्त मिश्र, धीरज ठाकुरलगायतलाई समेत वैकल्पिक रोजगारतिर लाग्नुपरेको छ । हास्य अभिनेता बीएन पटेल फिल्मसँगै रंगमञ्च, व्यावसायिक मञ्च तथा स्थानीय टेलिभिजनमा हास्य टेलीशृंखला पनि सञ्चालन गर्छन् । रामनारायण ठाकुर, राजेश सक्सेना, अनितारानीलगायतको अवस्था पनि यस्तै छ ।

‘मैथिली फिल्ममा काम गरेर परिवार चलाउन सकिने अवस्था छैन,’ पटेल भन्छन्, ‘त्यही भएर अन्यत्र पनि भरपर्नु पर्ने अवस्था छ ।’ पछिल्लो समय ‘युटयुब’ बाट भने राम्रो आम्दानी हुन थालेको पटेलको दाबी छ । प्रवासी बजार पनि राम्रो बन्दै छ । विराटनगरबाट निर्माण गरिएको मैथिली र हिन्दी मिश्रित ‘मधेसीपुत्र’ फिल्मले हालै कतारमा राम्रो कमाइ गर्‍यो,’ पटेल भन्छन्, ‘राम्रो फिल्म बनायो भने अब हल मात्रै ताकिरहनुपर्ने अवस्था पनि छैन ।’

गौरवपूर्ण विगत
नेपाल र भारतमा गरी मैथिलीभाषीको संख्या झन्डै ६ करोड छ । त्यही भएर मैथिली फिल्म विगत भारतीय फिल्म उद्योगसँग जोडिन्छ । सन् १९६५ मा पहिलो मैथिली फिल्म ‘कन्यादान’ निर्माण भएको थियो भारतमा । निर्देशक थिए– फनी मजुमदार । यो फिल्मको ठूलो प्रभाव नेपाली मैथिली समुदायमा पनि परेको प्राज्ञ रमेशरञ्जन झा बताउँछन् । त्यसपछि सन् १९७० मा दोस्रो मैथिली फिल्म बाजारमा आयो– ‘ममता गावे गीत’ । सशक्त कथावस्तु तथा कर्णप्रिय गीतको कारण यो फिल्म पनि निकै लोकप्रिय भयो, तर १९७० पछि भारतीय मैथिली फिल्म उद्योगलाई पनि हिन्दीले निल्दै गयो । अन्तत : सन् २००२ पछि मात्र मैथिली फिल्म चलमलाउन थाल्यो ।

नेपालमा भने २०४७ मा मतिषचन्द्र लालले पहिलो मैथिली फिल्म ‘दहेज’ बनाए । परमेश झा, प्रदीप शर्मा र अमितेश साहलगायतको अभिनय रहेको यो फिल्मले लगानी उठाउन सकेन । उता भारतबाटै मुरलीधर मिझारले सन् २००२ मा ‘सस्ता जिनगी महंग सेनुर’ निर्देशक गरे । यो फिल्म प्रभाव भने नेपालसम्मै आइपुग्यो ।

सन् २०११ मा विकास झाको लेखन र निर्देशनमा निर्मित ‘मुखियाजी’ मा मिथिलाञ्चलका कलाकारहरू रामनारायण ठाकुर, विष्णुकान्त मिश्र, अनीलचन्द्र झा, परमेश झा, घनश्याम मिश्र, सुभास, रोशनीलगायत देखिए । दर्शकले पनि निकै मन पराए । त्यसयता भने भारत र नेपालमा खासै नाम/दाम कमाउन सक्ने मैथिली फिल्म आउन सकेको छैन । ‘दुई प्रकारको चेपुवाका कारण मैथिली फिल्मको विकास हुन सकिरहेको छैन,’ प्राज्ञ रमेशरञ्जन भन्छन्, ‘हलमा भोजपुरी र हिन्दी फिल्मको दबदबा ।

अर्को नेपाल र मैथिली बाहुल्य भारतको बिहार सरकारले मैथिली फिल्मलाई प्राथमिकतामा राखेनन् ।’ बिहारमा हिन्दी फिल्मको प्रभाव र नेपालमा मातृभाषामैत्री फिल्म नीतिको अभाव नै मैथिली फिल्मको समस्या रहेको उनको तर्क छ । ‘प्रदेश सरकारहरूले पनि योजना बनाएरै क्षेत्रीय फिल्महरूलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘यसो भयो भने समग्र नेपाली फिल्म क्षेत्रकै प्रवद्र्धन हुन्छ ।’

प्रकाशित : श्रावण २०, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?