३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

फिल्म चलाउन गीत

ट्रेलर बजाउन पैसा लाग्छ तर गीत जसले पनि नि:शुल्क बजाइदिन्छन् । प्रमोसन हुन्छ । तैपनि फिल्मका लागि गीत महत्त्वपूर्णचाहिँ होइन ।प्रदीप भट्टराई, फिल्म निर्देशक
पहिलेजस्तो चार–पाँच गीत राख्ने चलन हटिसकेको छ । पहिले त हिरो–हिरोइनका आँखा जुध्नेबित्तिकै गीत राख्ने गरिन्थ्यो । त्यो शैलीमा परिवर्तन आएको छ ।सुदर्शन थापा, फिल्म निर्देशक
म त गीतबिनाको फिल्म सोच्न पनि सक्दिनँ ।दीपाश्री निरौला, फिल्म निर्देशक
पटकथाको बहावमा बल पुर्‍याउने गरी मात्रै गीत र नृत्य राखेको राम्रो ।विकास आचार्य, फिल्म निर्देशक
सुशील पौडेल

काठमाडौँ — व्यावसायिक फिल्म उद्योगको अग्रणी मानिने हलिउडले नाचगनलाई खासै स्थान दिँदैन । राम्रा अवार्ड जितेका अधिकांश फिल्ममा नाचगानै हुन्न । दक्षिण एसियाली फिल्ममा भने नाचगानकै हालीमुहाली हुने गरेको छ ।

फिल्म चलाउन गीत

फिल्ममा गीतसंगीतको प्रयोग बलिउडमा जति अन्यमा देखिँदैन । नेपाली फिल्ममा पनि बलिउडको प्रभाव ठूलो देखिन्छ । नेपालका धेरैजसो फिल्मकर्मीहरूलाई पनि लाग्छ— गीतसंगीत फिल्म चलाउने सबैभन्दा महत्त्वपूर्ण हतियार हो ।

‘हलिउडतिर गीतको प्रयोग खासै गरिँदैन, राख्नैपरे पनि पात्रलाई त्यसै पृष्ठभूमिको बनाइन्छ,’ फिल्म निर्देशक सुदर्शन थापाले कान्तिपुरसँग भने, ‘तर भारत वा नेपालमा भने गीत, नृत्य प्राथमिकतामा पर्छन् । हाम्रो संस्कृतिमा बढी रमाइलो गर्न नाचगान नै गर्ने चलन भएकाले र यिनै पर्व–उत्सवले प्रभावित पारेकाले होला, हाम्रा फिल्ममा नाचगान भएको ।’

विशेषत: प्रेमकथामा फिल्म बनाउन दक्खल राख्ने थापा निर्देशित ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ का गीतहरू फिल्मको रिलिजअगावै हिट भएका थिए ।

गीतलाई प्राथमिकतामा राखेर फिल्म चलाउन खप्पिस मानिन्छन्, निर्देशक विकास आचार्य । ‘नाइँ नभन्नू ल’ का सिरिज चल्नुको मुख्य कारण नै गीतसंगीत रहेको उनको बुझाइ छ । त्यसैले पनि उनी प्रि(प्रोडक्सनदेखि नै गीतका तीनै विधा लेखन, संगीत र गायनलाई मिहिन रूपमा हेर्छन् र छायांकन पनि त्यसै गरी गर्छन् । उनी गीतबिनाको फिल्मको कल्पना नै गर्न नसकिने बताउँछन् ।

‘हाम्रो सामाजिक जीवनमै गीतको महत्त्व छ । परम्परादेखि नै गीति नाटक छ हाम्रोमा,’ आचार्यले भने, ‘अहिले मात्रै होइन, हाम्रा रामायण वा महाभारत पनि गीतमार्फत नै भनिएका हुन् । त्यो बेलादेखि नै मनोरञ्जन भनेकै गीतसंगीत थियो । अहिले पनि तीज आओस् वा कुनै चाडपर्व, हामी नाचगानमै तल्लीन भइहाल्छौं ।’ अहिलेको सहरीकरणले एक्लाएका मान्छेलाई समेत गीतसंगीतले जोडिरहेको उनको ठहर छ ।

‘छक्का पञ्जा’ जति चल्यो, त्यसअघि नै त्यसको गीत ‘सुर्के थैली खै...’ निकै हिट भयो । यो गीतले युटयुबमा पहिलो पटक करोड भ्युजको रेकर्ड राख्नेदेखि कैयौं दर्शकलाई ‘छक्का पञ्जा’ हेर्न हलसम्म तानिदियो । फिल्मकी निर्देशक दीपाश्री निरौला त्यसैले पनि गीतलाई फिल्म प्रमोसनको पहिलो हतियार मान्छिन् ।

‘अचेल फिल्ममा गीत भनेको संवादबिनाको ट्रेलरै जस्तो भएको छ फिल्म चिनाउनको लागि,’ उनले भनिन्, ‘गीतसंगीतबिना फिल्मको त्यति औचित्य हुँदैन जस्तो लाग्छ ।’ हाम्रो संस्कृति र रहनसहनका कारण पनि हलिउडले जस्तो बिनानाचगान फिल्म बनाउन नसकिने उनी बताउँछिन् । ‘एक समय नेपाली फिल्ममै पनि गीत नराखी फिल्म बनाउने चलन देखिन थालेको थियो । जब ‘सुर्के थैली खै...’ आयो, त्यसपछि अहिले फेरि फिल्ममा लोकशैलीको गीतको बाढी नै आयो,’ दीपाश्रीले दाबी गरिन् ।

गीतबिनाका फिल्मले पाएको सफलता पनि उत्तिकै लोभलाग्दो छ । आफ्नो पहिलो निर्देशन ‘जात्रा’ मा प्रदीप भट्टराईले न पात्रलाई डाँडाकाँडामा लगेर नचाए, न त गीतै राखे । तैपनि फिल्म निकै चल्यो । तर दोस्रो फिल्म ‘शत्रु गते’ मा भने उनले गीतको प्रयोग मात्रै गरेनन्, ‘रूपै मोहनी...’ गीतले नै फिल्मको व्यापारमा निकै सघायो ।

‘विषयवस्तुले गीत माग्छ जस्तो त मलाई लाग्दैन, तर बजारका लागि मुख्य हतियार भने रहेछ यो । गीतकै कारण दर्शकहरू हलसम्म तानिन्छन्,’ भट्टराईले स्विकारे, ‘ट्रेलर बजाउन पैसा लाग्छ, तर गीत जसले पनि नि:शुल्क बजाइदिन्छन् । प्रमोसन हुन्छ । केही दर्शक गीत नभएको फिल्म हेर्नै नजाने खालका पनि रहेछन्, कथा जतिसुकै राम्रो किन नहोस् । गीत हिट भयो भने त्यसैका आधारमा बरु फिल्म हेर्न जान्छन् ।’ तर पनि उनी फिल्ममा गीतलाई त्यस्तो महत्त्वपूर्ण ठान्दैनन् ।

‘गीत राख्दा फिल्मको कथा नै ब्रेक भए जस्तो लाग्छ,’ ‘जात्रैजात्रा’ सिक्वेल बनाउन लागेका भट्टराईले यो फिल्ममा पनि सकेसम्म गीत नराख्ने मनस्थिति बनाएको उल्लेख गर्दै थपे, ‘जात्रामा पनि यस्तै भएपछि राखिएको एउटा गीत पनि हटाइएको थियो ।’

पहिले फिल्मको पटकथाभन्दा अघि गीत तयार हुन्थे । पाँच गीत र पाँच फाइटको सिक्वेन्स मिल्ने गरी बल्ल पटकथाकारले खेस्रा तयार पार्थे अनि फिल्म छायांकनमा जान्थ्यो । ‘तर अहिले पहिले जस्तो चारपाँच गीत राख्ने मानसिकता हटिसकेको छ । मैले नै पनि ‘रामकहानी’ मा दुइटा मात्रै राखेको छु । एउटा नाचगानवाला नै गीत छ भने अर्को पृष्ठभूमिमा कथा खोल्ने कोसिसमा राखिएको छ,’ निर्देशक थापाले भने, ‘नत्र पहिले हिरो–हिरोइनका आँखा जुध्नेबित्तिकै गीत राख्ने गरिन्थ्यो । अलिकति रमाइलो थपियो भने गीत पनि थपिन्थ्यो । त्यो शैलीमा भने परिवर्तन भएको छ ।’

उनले पनि नेपालीहरू गीत, संगीत र संस्कृतिबाट टाढा रहन नसक्ने भएकाले फिल्ममा गीतको प्रयोग पनि पछिसम्म रहिरहनेमा ढुक्क छन् । ‘मचाहिँ फिल्ममा गीत र नृत्यको प्रयोग गर्नु हुँदैन भन्ने भावना राख्दिनँ । त्यत्ति हो, गीत त्यसै नआईकन कथालाई अघि बढाउने किसिमले आउनुपर्छ,’ थापाले भने ।

निर्देशक आचार्य पनि पटकथाको बहावमा बल पुर्‍याउने गरी मात्रै गीत र नृत्यको प्रयोग गर्नुपर्नेमा भने सचेत रहनुपर्ने औंल्याउँछन् । ‘म आफैं पटकथा लेख्ने पनि भएकोले गीत र नृत्यलाई सही ठाउँमा कथालाई अघि बढाउने गरी नै प्रयोग गरेको हुन्छु जस्तो लाग्छ,’ उनले भने ।

अर्की निर्देशक निरौला पात्रहरूबीचको भावनात्मक कुरा निकाल्न पनि गीतजत्तिको सहज माध्यम अरू नभएको उल्लेख गदै पूर्ण मनोरञ्जक फिल्मका लागि पनि गीत अपरिहार्य रहेको ठान्छिन् । ‘म त गीतबिनाको फिल्म सोच्न पनि सक्दिनँ,’ उनले भनिन् ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?