कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘बकम्फुसे राजा’ बन्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चारकर्मी प्रकाश सुवेदी पनि फिल्म निर्देशनमा उत्रने भएका छन् । यसअघि ‘हर्के हल्दार’ र ‘रिसानी माफ’ नामक टेलिसिरियल निर्देशनको अनुभव लिइसकेका सुवेदीले शनिबार नयाँ फिल्म ‘बकम्फुसे राजा’ निर्माणको घोषणा गरेका हुन् ।

‘बकम्फुसे राजा’ बन्ने

आफ्नो जन्मदिनको अवसर पारेर सुवेदीले फिचर फिल्म निर्माणसँगै निर्देशनमा होमिएको बताए ।

‘यति छिटै फिल्म निर्देशनमा आउँला भन्ने मेरो कुनै योजना त थिएन । तर साथीभाइले हौसला र दबाब दुवै दिन थालेपछि आएको हुँ,’ कार्यक्रममा सुवेदीले भने । ‘बकम्फुसे राजा’ कमेडी जानरामै बन्ने जानकारी दिँदै सुवेदीले आफूले केही वर्षदेखि कमेडी सिरियलमा देखाउँदै आएको क्षमतालाई फिल्ममा पनि उपयोग गर्ने बताए । त्यसो त उनी लामो समय कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने फिल्मी कार्यक्रम ‘रजतपट’ का समेत कार्यक्रम सञ्चालक थिए ।

आफ्नो समेत लगानी रहने बताएका सुवेदीले ‘बकम्फुसे राजा’ मा गणेश सुवेदी पनि अर्का निर्माता रहेको खुलाए । कलाकारहरूबारे मौन रहेका सुवेदीले फिल्मको कथा भने सुनील श्रेष्ठमार्फत लिएको बताए ।

त्यसबाहेक फिल्मको संगीतमा अर्जुन पोखरेल, छायांकनमा विष्णु कल्पित रहने बताएका छन् । उनले फिल्मको अधिकांश छायांकन भारत हैदराबादस्थित रामोजी फिल्म सिटीमा छायांकन गरिने बताए । उक्त फिल्म सिटी विश्वकै सर्वाधिक ठूलो मानिन्छ । सुवेदीको जन्मदिनमा फिल्म क्षेत्रका चल्तीका कलाकार, फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?