‘प्रसाद’ को इन्डक्ल्याप

कान्तिपुर संवाददाता

काठमाडौँ — नि:सन्तान दम्पतीबीच उत्पन्न आरोहअवरोहमा आधारित भनिएको फिल्म ‘प्रसाद’ को छायांकन सकिएको छ । आइतबार ललितपुरस्थित च्याँसलमा रहेको राजु पेन्टरको स्टुडियोमा फिल्मको इन्डक्ल्यापसँगै छायांकन अनुभव साटासाट गरिएको थियो ।

‘प्रसाद’ को इन्डक्ल्याप

‘जुन कन्सेप्टमा पटकथा तयार थियो, त्यहीअनुसार नै छायांकन गराएको छु भन्ने लाग्छ,’ निर्देशक दिनेश राउतले पत्रकारसँग भने, ‘फिल्म राम्रो हुनेमा आशावादी छु ।’ यसअघिका ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ का निर्देशक राउतले यसपटक भने विपिन कार्की र नम्रता श्रेष्ठको जोडीलाई दम्पतीका रूपमा पर्दामा उतार्न खोजेका छन् । फिल्ममा निश्चल बस्नेतसमेत फरक पात्र चरित्रमा रहेको बताइन्छ ।

‘यसपटक साँच्चै अभिनय गरेको अनुभव भयो । केही मेरै मिहिनेतले पनि राम्रो भयो होला । धेरै त निर्देशकका कारण पनि राम्रो भएको छ,’ निश्चलले भने । त्यसो त उनले एउटा सिनमा ३४ पटकसम्म पनि टेक खाएको उल्लेख गरे । तर निर्देशक राउतले कुरा काटिदिए, ‘टेक खानु भनेको फेरि हामीकहाँ अभिनय नजानेकोले मात्रै भन्ने बुझिन्छ । मलाई त लाग्छ, राम्रो कलाकारले अझै राम्रो होस् भनेर टेक लिन्छ ।’ मानसिक द्वन्द्वप्रधान फिल्म भएकाले राम्रोका लागि टेक लिइएको उनले बताए ।

फिल्ममा गाउँले कामकाजी महिलाको भूमिकामा देखिएकी नायिका नम्रताले पनि सहज रूपमा रमाइलो गरी छायांकन सकिएको बताइन् । सुशील पौडेलको पटकथा, संवाद रहेको फिल्मलाई सुवास थापाले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा कोशिष क्षेत्री र सुभास भुसालको संगीत रहेको छ । फिल्म मंसिर २१ देखि प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?