३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गठेमंगलको औंठी

भक्तपुर — सादा फलामको कि कलरफुल पञ्चधातुको औंठी ?’भक्तपुरको ताथलीकी सनीता गोसाईं बिहीबार सूर्यमढी तौलाछेंमा दोधारमा परिन् । कस्मेटिक पसलकी सरिता अवाल उनलाई विभिन्न खालका औँठी देखाउँदै थिइन् ।

गठेमंगलको औंठी

निकै बेरपछि सनिताले दाहिने हातको लागि पञ्चधातुको औंठी र देब्रेको लागि चाहिँ फलामको औंठी किनिन् । उनले लाउन खोजेका यी औंठीसित बजारिया सौन्दर्य हैन, सांस्कृतिक मूल्य जोडिएको थियो । साउन कृष्ण चतुर्दशी अर्थात् गठेमंगल (घण्टाकर्ण) को अवसर पारेर बिहीबार फलामे औंठी किन्न सनिता जस्तै थुप्रै उपत्यकाबासी बजार निस्केका थिए ।

खुसीको समय
‘गठेमंगलको दिन फलामको औंठी लगायो भने भूतप्रेत (खराब तत्त्व) ले दु:ख दिँदैन भन्ने विश्वास छ,’ २२ वर्षीया सनीताले हाँस्दै भनिन् ।


ताथलीकी कान्ति बालाचाहिँ गृहपूजाका लागि फलामको करुवा अर्थात् तीनकुने किला किन्न सूर्यमढी आइपुगेकी थिइन् । गठेमंगलको दिन बेलुका नयाँ घरका ढोकाहरूमा पूजा गरी फलामको किला ठोक्दा घरलाई राम्रो हुन्छ भन्ने मान्यता छ नेवार समुदायमा । त्यही भएर यति बेला फलामलगायत पञ्चधातुका सामग्री पाइने पसलहरू खचाखच हुन्छन् ।


भक्तपुरको भोलाछेंकै अर्जुन नेपाली परम्परागत नेपाली बाजाहरूको व्यवसाय गर्छन् । साउनमा भने उनी आफ्नो पसलबाहिर फलाम, तामा, पञ्चधातुका औंठीसँगै मुगाका माला पनि बिक्रीमा राख्ने गर्छन् । गठेमंगलको अवसरमा ठूलाले फलामका औंठी र बालबालिकाले फलामको नागपासा लगाउने चलन पुस्तौंदेखि चल्दै आएको उनले बताए । ‘बच्चाहरूमा नाभि झर्ने समस्या नहोस् भनेर नागपासा लगाइदिने चलन छ,’ उनले भने ।


संस्कृतिविद् ओम धौभडेलका अनुसार, यो परम्परा चौधौं शताब्दीमा सुरु भएको हो ।


नेवार समुदायमा वर्षको पहिलो चाड गठेमंगललाई मानिन्छ । खेतबारीको काम सकेपछि खुसीको समय सुरु भयो भन्ने सन्देश पनि हो गठेमंगल । धौभडेलका अनुसार साउन कृष्णपक्ष अष्टमीको दिन नेवार समुदायमा पुरानो नवदुर्गा भवानीको मखुन्डो जलाएपछि दसैंको नवमीको दिन अर्को मखुन्डो प्रतिष्ठापन नगरुन्जेल भूतप्रेतले दु:ख दिने, बाढीपहिरो जस्ता विपत्ति आउने, रोगव्याधिबाट जनधनको क्षति हुने मानिन्छ र अशुभ नहोस् भनेर गठेमंगलमा फलामको ‍औंठी लाउने गरिन्छ ।


क्रान्तिकारी राक्षस !
‘गठेमंगलको दिन तान्त्रिक रूपमा गृहपूजा गर्न र तन्त्र विद्या सिक्नका लागि विशेष मानिन्छ,’ संस्कृतिविद् धौभडेलले भने, ‘विधिवत् पूजा गरी घरमा फलाम ठोक्नाले अशुभ हुनबाट बच्न सकिन्छ भन्ने मान्यता छ । यो दिन तान्त्रिकहरूले गुप्त रूपमा साधना पनि गर्छन् ।’


गठेमंगलको दिनदेखि चित्रकारहरूले नवदुर्गाको नयाँ मखुन्डो बनाउने काम थाल्छन् । यो दिन ‘गठेमंगल’ नामक राक्षसको प्रतिमा बनाएर बस्ती बाहिर जलाउने चलन पनि छ ।


‘गठेमंगल’ चाहिँ खासमा को थियो भन्नेबारे संस्कृतिविद्बीचमै विवाद छ । नेवार समुदायमा गठेमंगललाई राक्षसका रूपमा हेर्ने चलन छ । तर संस्कृतिविद् धौभडेलका अनुसार, गठेमंगल समाज परिवर्तन गर्न हिँडेका एक नास्तिक मानिस थिए जसले भाग्यभन्दा कर्ममा विश्वास राख्थे, सुनभन्दा फलामलाई मान्यता दिन्थे । उनी तत्कालीन समाजमा चलिरहेका मूल्यमान्यताविपरीत गएका थिए ।


‘खासमा गठेमंगल सच्चा व्यक्ति थिए र क्रान्तिकारी पनि थिए । मध्यमवर्गीय, निम्नवर्गीय परिवारका गरिब मानिस काम नगरी भोजभतेरमा गएकामा, धार्मिक काममा मात्रै लागेकोमा उनी विरोध गर्थे,’ उनले भने, ‘तर यो समाजलाई उनको कुरा पचेन । बहुमतको अगाडि एक मतको केही नचल्ने समय थियो त्यो । त्यसैले समाजभन्दा विपरीत जानेलाई कसरी दण्ड दिइन्थ्यो भनेर देखाउनका लागि गठेमंगलको पुतला जलाउने चलन सुरु भएको हो ।’


धौभडेल गठेमंगललाई भगवान् शिवको एउटा रूपको रूपमा पनि व्याख्या गर्छन् । वर्षका चार चतुर्दशीमा महादेवकै पूजा गरिन्छ । बाला चरे (बाला चतुर्दशी), पशा:चरे (पिशाच चतुर्दशी), शिवरात्रि र साउन कृष्ण चतुर्दशी अर्थात् गठेमंगलमा चित्रकारहरूले शिवलिंग बनाई पूजा सुरु गर्छन् ।

प्रकृति पर्व
धौभडेलका अनुसार, घण्टाकर्ण प्रकृतिसँग जोडिएको पर्व पनि हो । पानी नरोकिने, बाढीपहिरो आउने, रोग फैलिने, लामखुट्टे, भुसुना, कीराफटयांग्राहरू हुने समयमा छ्वाली बालेर घरमा धूवाँ बनाएर पूजा गरिन्छ । यसले गर्दा कीराहरू घरबाट टाढा भाग्छन् भन्ने जनविश्वास रहिआएको छ । गठेमंगलकै दिन बारीमा छिप्पिइसकेका मकै, कर्कलो, घाँस, छ्वाली, नर्कट फँडानी गर्ने चलन पनि छ ।

प्रकाशित : श्रावण २५, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?