कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सिक्किमबाट सोनम

दीपक परियार

लेखनाथ — कलाकार डेनी डेन्जोङपादेखि निर्देशक उगेन छोपेलसम्म । संगीतकार रञ्जित गजमेर होऊन् या छायांकार विनोद प्रधान । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको जोडी । यी सबै नेपालीभाषी सिक्किमेली कुनैसमय नेपाली फिल्म उद्योगमा छाए ।

सिक्किमबाट सोनम

आफ्नो समयमा नेपाली फिल्म र गीतसंगीतमा गतिलो छाप छोडेर सबैको मनमस्तिष्कमा बसे । फेरि एक युवा आफ्नो भाग्य परिक्षण गर्न सिक्किमबाट नेपाल आएका छन् ।

गान्तोकका सोनम बरफुङपाले नेपाली फिल्म ‘कहीँ कतै’ बाट डेब्यु गरेका छन् । फिल्म शुक्रबारदेखि रिलिज भयो । उत्तम प्रधानपछि नेपाली फिल्म खेल्ने अभिनेता उनी भएका छन् । संयोग के छ भने, प्रधानको डेब्यु फिल्म ‘दर्पणछाया’ मा दिलीप रायमाझी को–एक्टर थिए । सोनमको डेब्यु फिल्ममा पनि रायमाझी नै छन् । प्रधानको पहिलो फिल्म सुपरहिट भयो । सोनमको के हुने हो, परिणाम आउन बाँकी नै छ ।

सोनम फिल्म खेल्नुअघि मोडलिङमा रमाइरहेका थिए । सन् २०१३ मा ‘मेगा मिस्टर नर्थ इस्ट’ मा फस्र्ट रनरअप र बेस्ट पर्सनालिटीको टाइटल जिते । ‘मिस्टर भाइब्स सिक्किम’ मा पनि सहभागी भए । उनले ‘साइनो’, ‘दर्पणछाया’ बारे सुनेका थिए । ‘लुट’ देखि नेपाली फिल्म पनि हेर्न थाले । पछिल्लो क्रममा अनमोल केसी, प्रदीप खडकाका फिल्महरू फलो गर्न सुरु गरे । एक दिन सिक्किमकै चेली उमा गिरी (बेबी) ले फेसबुकमा सोनमलाई म्यासेज गरिन्, जसमा फिल्मको अफर थियो ।

‘कहीँ कतै’ हालै पहिलोपल्ट सिक्किममा स्क्रिनिङ भयो । ‘मान्छे आउँछन् कि आउँदैनन् भन्ने खुब डर थियो,’ पोखरामा हालै सोनमले भने, ‘तर साथ मिल्यो ।’ फिल्म छायांकनका क्रममा उनलाई अप्ठेरो नपरेको होइन । सिक्किम र नेपालमा बोलिने लवजले उनलाई अप्ठ्यारो पार्‍यो । तर दिलीप रायमाझी, किशोर खतिवडा लगायतले उनलाई भरपूर सहयोग गरे ।

‘अभिनय गर्न काठमाडौं आउँदा उनले चिनेका मान्छे धेरै थिएनन् । अभिनयको अभ्यास गर्दै सिक्ने क्रममा छन् । ‘अभिनय गर्दा मलाई आनन्द लाग्छ,’ उनले भने, ‘आफूलाई जे उचित लाग्छ त्यही गर्नुपर्छ ।’ उत्तम प्रधानपछि सिक्किमलाई प्रतिनिधित्व गर्ने अर्को अभिनेता नभएकोले पनि नेपाली दर्शकलाई आफूलाई मन पराउनेमा उनी ढुक्क छन् । पहिलो फिल्म रिलिज हुने दिनमै उनले निर्देशक साजन श्रेष्ठको नयाँ फिल्ममा अनुबन्ध गर्दै छन् । निर्माता उमा बेबी सोनमको चकलेटी लुक्स दर्शकले मन पराउनेमा ढुक्क छिन् । फिल्ममा उनकी छोरी शिवानी गिरीले पनि डेब्यु गरेकी छन् । फिल्म विशुद्ध पारिवारिक प्रेमकथामा आधारित रहेको उनले बताइन् ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?