कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेताहरू चित्र हेर्छन् मात्रै

‘नेताहरू चित्र हेर्नै त हतार गर्नुहुन्छ, किन्ने कुरा परै जाओस् १ मार्सी चामल जति पनि मूल्य भएन कलाकारको !’
मधु शाही

काठमाडौँ — सामान्यतया चित्रकला प्रदर्शनीहरूका प्रमुख अतिथि हुन्छन्( विदेशका राजदूत । अथवा, कुनै कूटनीतिक नियोगका प्रतिनिधि । उनीहरूले चित्रकला उद्घाटनपछि जतिसुकै महँगो भए पनि केही चित्र किन्छन् ।

नेताहरू चित्र हेर्छन् मात्रै

चित्रको बिक्री पनि हुने, आफ्नो सिर्जना विदेश पनि पुग्ने । यस्तोमा कलाकार नहौसिने कुरै भएन । पछिल्लो पटक भने चित्रकला प्रदर्शनीहरूमा नेता या मन्त्रीहरू देखिन थालेका छन् । उनीहरूले पनि चित्र किन्छन् त ?


‘चित्रकला मार्सी चामल जस्तो नहुँदो रहेछ,’ चित्रकार लालकाजी लामाले कटाक्ष गरे, ‘नेताले बोल्दैमा रातारात चर्चा कमाउने र बजारमै अभाव हुने †’ चित्रकला प्रदर्शनी गर्न र गराउन थुप्रै कार्यक्रम गरेका लामाले प्रमुख अतिथि प्राय: नेतालाई नै बनाएका छन् । तर, अहिलेसम्म कुनै पनि नेताले चित्र किनेको उनको अनुभव छैन ।


‘नेताहरू चित्र हेर्नै त हतार गर्नुहुन्छ, किन्ने कुरा परै जाओस् †’ नेपाल ललितकला समाजका अध्यक्ष समेत रहेका उनी व्यंग्य गर्न रोकिएनन्, ‘मार्सी चामल जति पनि मूल्य भएन कलाकारको !’


यस्तै अनुभव छ चित्रकार एससी सुमनसँग पनि । सन् १९९० तिरको कुरा हो । विराटनगरमा पहिलो पटक सुमनले मिथिला कलाको प्रदर्शर्न गरेका थिए । प्रमुख अतिथिका रूपमा नित्याइएको थियो राजनीतिज्ञ गणशेमान सिंहलाई । उनले सुमनका चित्र हेरे । अन्तिममा कुममा हात राखेर ‘तपाईंको कला राम्रो छ, धेरै अगाडि बढ्नुहुन्छ,’ भन्दै स्याबासी दिए । ‘चित्र त किन्नुभएन,’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका सुमनले भने, ‘तर, प्रोत्साहन चाहिँ मिल्यो । त्यसयता चित्रकला प्रदर्शनीमा मैले कुनै नेतालाई बोलाएको छैन ।’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायसँग चार वर्ष प्रतिष्ठानमै रहेर कला प्रदर्शनी गर्दा एक जना पनि नेता वा मन्त्रीले चित्र किनेको जानकारी छैन । ‘राष्ट्रिय कला प्रदर्शनीमा संस्कृतिमन्त्री रिबन काट्न त आउनुहुन्छ, तर चित्र किनेर मन्त्रालयमा सजाउँm भन्ने धारणा कसैको देखिनँ,’ उनले सुनाइन् ।

किन किन्दैनन् ?
कला समीक्षक एवं मनोविद् रमेश खनाल नेताहरूले चित्र किन किन्दैनन् भन्नेबारे रोचक कारण अघि सार्छन् । उनका अनुसार, ‘कला बुझ्न चाहने’, ‘बुझेका’ र ‘बुझदै नबुझेकाहरू’ गरी हाम्रो मुलुकमा प्राय: तीन थरीका नेता छन् । कलाकारले पनि आफ्ना सिर्जना फरक विधाबाट आउने व्यक्तित्वलाई कसरी बुझाउने भन्ने जान्दैनन् र चासो पनि दिएका हुँदैनन् । ‘चित्र किन किन्ने ?’ रमेशले भने, ‘यो बुझाउने दायित्व कलाकारको पनि हो ।’


धेरैले चाहिँ शक्तिसँग नजिक हुन नेतालाई प्रदर्शनीमा बोलाउँछन् । नेताबाट रिबन कटाएर उल्टै आफ्नो कला उपहार दिन्छन् । यस्तो उपहारलाई नेताले ‘मूल्यवान् कला’ का रूपमा भन्दा पनि अरू कार्यक्रमतिर पाउने सामान्य उपहार जस्तै ठान्छन् । त्यसमाथि नेपालमा चित्र किन्ने त्यस्तो संस्कारै छैन । ‘अनि कसरी किन्ने चित्र ?’ रमेशले भने, ‘उपहारै पाउने भएपछि किन पैसा तिर्ने ?’


अर्का कला समीक्षक मदन चित्रकारका अनुसार, प्राय: नेताको कलासाहित्यप्रतिको बुझाइ नै फितलो हुन्छ । कलाको इतिहास, समाजसित यसको सम्बन्ध, संस्कृति र बजारमूल्य जस्ता सन्दर्भमा नेताहरू बेखबर जस्तै छन् । यी सबै बुझाउन न कलाकारले सकेका छन्, न त समीक्षकले नै । ‘कि नेतासँग सम्बन्ध विस्तार गर्न, कि त मिडियामा छाइन्छ भन्ने मनोभावले नेतालाई बोलाइएको देखिन्छ’, मदनले भने, ‘यस्तोमा चित्र किन्ने कुरै भएन ।’


कला समीक्षक मुकेश मल्लको भने यसमा फरक तर्क छ । उनका अनुसार विदेशमा चित्रकलाको मूल्य सुनचाँदीसँग तुलना गरिन्छ । एउटा चित्र किन्नु भनेको भित्तामा सजाउनु मात्रै नभई सम्पत्ति जोड्नु पनि हो भन्ने हिसाबले हेरिन्छ । धेरैले त चित्र संकलन गरेर पछि धेरै मूल्यमा बिक्री पनि गर्छन् । ‘यस्तो संस्कृति नेपालीलाई थाहै छैन,’ उनले भने, ‘आर्ट भ्यालु नबुझ्दासम्म नेता त के, जनताले पनि चित्रको मूल्य बुझ्न सक्दैनन् ।’


विदेशमा कला व्यापारको सयौँ वर्ष लामो परम्परा छ । लियोनार्दो दा भिन्चीका चित्रहरू अहिले पनि करोडौं डलरमा लिलाम बढाबढ हुन्छन् । यस्तो संस्कृतिबाट आएका राजदूतहरू जुनसुकै मुलुक पुगे पनि उक्त मुलुकको सभ्यता, संस्कृति र कलाप्रति चासो देखाउने हुन्छन् । ‘उनीहरूले सांस्कृतिक आदानप्रदानको कला कूटनीति बुझेका हुन्छन्,’ कुलपति उपाध्यायले भनिन्, ‘हाम्रोमा भर्खरै परम्परा बस्दै छ ।’

किन्ने केही नेता
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली केहीअघि रुसी सांस्कृतिक केन्द्र पुगे । सुषमा राजभण्डारीको प्रदर्शनी चलिरहेको थियो । उनले दुइटा चित्र किने ।


‘उहाँ अवलोकन गर्न आउनुभएको थियो,’ उनले भनिन्, ‘चित्र पनि किन्नुभयो ।’ त्यस्तै, अष्टलक्ष्मी शाक्य उद्योगमन्त्री हुँदा र सहाना प्रधान परराष्ट्रमन्त्री हुँदा पनि आफ्ना चित्र किनेको सुषमाको सम्झनामा छ ।


‘ती चित्रहरू अझै पनि मन्त्रालयमा छन्’, उनले भन्,ि ‘राजनीतिज्ञको आँखामा कलाकार पर्दा अत्यन्त गर्व अनुभूति हुन्छ ।’


केहीअघि चित्रकार अरुणा हिङमाङको चित्र राष्ट्रपति विद्यादेवी भण्डारीले किनेकी थिइन् । उनले आफ्ना चार चित्र राष्ट्रपतिले किनेको बताइन् । ‘नारी संवेदना र संस्कृति झल्किने चित्र उहाँको रोजाइमा पर्दो रहेछ,’ अरुणाले भनिन् ।
यस कारण किन्नुपर्छ राजनीति शक्ति हो, शक्तिले नै संस्कृति बसाउने हो । चित्रकार एनबी गुरुङ कला क्षेत्रको समृद्धि नेता र सरकारी पहुँचबाटै बढी र छिटो प्रभावकारी हुने उल्लेख गर्छन् । नेताले चित्र किन्नु भनेको कलाकारको सम्मान मात्रै होइन, कला र संस्कृतिप्रतिको चासो पनि हो । ‘नेताका घरघरमा चित्र सजिनु ठूलै गौरवको कुरा हो,’ उनले भने, ‘तर, यहाँ धेरैजसो कलाकारले उपहार चढाउँछन् ।’


प्रतिष्ठानकी कुलपति उपाध्याय ‘कलाको संरक्षण सरकारी निकायबाटै हुनुपर्छ’ भन्ने मान्यता राख्छिन् । पुस्तक किन्न जस्तै कलाकारको प्रोत्साहनस्वरूप सरकारले चित्र किन्न पनि केही बजेट छुट्याउन सक्छ । हरेक मन्त्रालय या सरकारी कार्यालयमा सजाउन चित्रहरूको प्रयोग हुन सक्छ । यस्तो प्रयोगले नेपाली कला क्षेत्रमा चित्र किन्ने संस्कृति प्रवद्र्धन हुन्छ ।
कला समीक्षक मदन चित्रकारका अनुसार, तीन दशकअघिसम्म पनि नेपालमा चित्र किन्ने संस्कृति खासै थिएन । प्राय: चित्र किन्ने ग्राहक विदेशी हुन्थे ।
‘नेपालीले चित्र घरमा राख्ने परम्परा निकै कम थियो उस बेला,’ उनले सम्झिए, ‘अहिले यो अवस्थाबाट कला बजार माथि उठेको छ । तर, चित्र किन्ने संस्कृति राजनीतिक तवरबाटै भए छिटो आकार लिन्छ ।’

कसले किन्छन् त ?
अहिले विदेशीसँगै स्वदेशी ग्राहक पनि बढ्दै छन्, चित्रकलाका । मदनका अनुसार बाहिरी मुलुक घुमेर आएका या बाहिरी संस्कृति थाहा पाएकाहरूका घर चित्रले सजिन थालेका छन् । बढदो आधुनिकताले पनि चित्रको बजार संस्कृतिलाई हौस्याएको छ । त्यस्तै, विदेशी कूटनीतिज्ञ र कलापारखीहरू पनि बढेका छन् ।


तीन दशकदेखि चित्रकलामा लागेका डिराम पाल्पालीका धेरैजसो ग्राहक बैंकर, उद्योगपति र विदेशमा बसेका नेपाली छन् । ‘नेताहरूलाई प्रदर्शनीमा बोलायो भने ढिलो आइदिन्छन्, अनि जानै हतार हुन्छ’, उनले भने, ‘त्यही भएर प्रदर्शनीमा नेताभन्दा अरूलाई नै बोलाएको राम्रो ।’


प्रतिष्ठानकी कुलपति उपाध्यायका मुख्य ग्राहक मुलुकबाहिरकै छन् । उनको बलियो आधार भनेकै कूटनीतिज्ञ र राजदूतहरू हुन् । ‘प्राय: विदेशमै मेरा चित्र बिक्री हुन्छन्,’ उनले सुनाइन् ।


चित्रकार मनीषलाल श्रेष्ठको स्टुडियोमै धाएर चित्र किन्नेहरू प्राय: विदेशी र उद्योगपति हुन्छन् । केही उद्योगपति उनीसँग चित्र किन्नुभन्दा अघि भलाकुसारी पनि गर्छन् ।
चित्र किन्ने संस्कृति बसाउन उनी आफैं पनि चित्र किन्छन् । ‘केही कलाकारका चित्रको मसँग संकलन नै छ,’ उनले भने, ‘चित्रको मूल्य कलाकारलाई थाहा हुन्छ ।’ उनले चित्रकार कृष्ण मानन्धर, शशिकला तिवारी, गोपाल कलाप्रेमी श्रेष्ठ, नवीन्द्र लिम्बू, कपिलमणि दीक्षित, चिराग बाङदेल र केही विदेशी कलाकारका सिर्जना समेत आफूले संकलन गरेको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?