कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फिल्म प्रचारमा उछिनपाछिन

‘यस्तो अभ्यासले कलाकार–दर्शक दूरीलाई कम गराउँछ । यसबाट धेरैभन्दा धेरै दर्शकलाई हलसम्म तान्न पनि मद्दत पुग्छ ।’
दीपक परियार

लेखनाथ — चाडपर्व नजिकिएसँगै नेपाली फिल्म रिलिजको क्रम ह्वात्तै बढेको छ । गएको शुक्रबार तीन फिल्म रिलिज भए । आगामी शुक्रबार चार फिल्म रिलिज हुँदै छन् । प्रचारप्रसारमा देश दौडाहामा निस्किन फिल्म युनिटहरूलाई हतारो छ । फिल्मले राजधानीबाहिर मोफसलका सहरहरूमा फिल्म प्रवद्र्धनलाई विशेष महत्त्व दिएका छन् ।

फिल्म प्रचारमा उछिनपाछिन

पोखरामा तीन दिनमा चार फिल्म युनिट प्रचारप्रसारमा आए । ‘कहीँ कतै’ युनिट फिल्म रिलिज हुनुभन्दा एक दिनअघि मात्रै पोखरा आयो । फिल्मकी निर्माता उमा बेबी (गिरी), अभिनेता किशोर खतिवडा र सोनाम बरफुङगाले पत्रकार भेटघाट गरे । निर्माता गिरीले देशभरका अन्य सहरमा पुगे पनि पोखरालाई छुटाउन नहुने ठानेर हतारहतार आएको बताइन् । ‘पोखरामा फिल्म पारखी धेरै हुनुहुन्छ,’ उनले भनिन्, ‘यहाँ आइएन भने प्रचारप्रसार नै अधुरो हुन्छ ।’


आगामी शुक्रबार रिलिज हुने ‘ब्ल्याक’ युनिट पनि पोखरा आउन भ्याइसक्यो । गत शुक्रबार फिल्म निर्देशक प्रदीप श्रेष्ठ, नायक आकाश श्रेष्ठ, नायिका आँचल शर्मा, निर्माता आश्मा पाण्डे आए । युनिटले पत्रकार अन्तरक्रिया गर्‍यो । उक्त फिल्म युनिट पनि देशका अन्य सहर पुगेर पोखरा आएको हो । पल शाहसँग जोडी बाँध्दै आएकी आँचल र आकाशको ‘केमेस्ट्री’ दर्शकले कत्तिको रुचाउने हुन् भन्ने हेर्न बाँकी नै छ । निर्देशक श्रेष्ठले फिल्मलाई ‘डार्क टोनर लभ स्टोरी’ भन्न रुचाए । पोखरेली निर्माता पवन प्रजापतीको ‘सडक’ निर्देशन गरेका उनले व्यावसायिक रूपमा पनि पोखरा उर्वर भूमि भएको बताए ।


शनिबार दुई फिल्म युनिट पोखरा झुल्किए । आगामी शुक्रबार रिलिज हुने ‘जय शम्भु’ ले बिहान पत्रकार भेटघाट गर्‍यो । निर्माता अरविन्द्र शाक्य, अभिनेताद्वय प्रशान्त ताम्राकार र अनुपविक्रम शाहीले फिल्मबारे बताए । अभिनेत्री वर्षा शिवाकोटी भैरहवामा हुने कार्यक्रममा पुगिन् । ताम्राकारले ‘एक्सन लभ स्टोरी’ मा आधारित फिल्ममा द्वन्द्वका दृश्यमा नौलो प्रयोग गरेको उल्लेख गरे । ‘दक्षिण भारतीय फिल्ममा प्रयोग हुने स्तरकै द्वन्द्व फिल्ममा प्रयोग गरिएको छ,’ उनले भने, ‘यो अहिलेसम्मका नेपाली फिल्ममा छैन ।’


अर्का अभिनेता शाहीले त्रिकोणात्मक प्रेम कथामा एक्सन मिसिएकाले फिल्म उत्कृष्ट बनेको दाबी गरे । फिल्म युनिट बिर्तामोड, धरान, बुटवल, भैरहवा हुँदै प्रचारको क्रममा पोखरा आइपुगेको हो ।


निर्माता शाक्यले मल्टिप्लेक्सका दर्शकलाई मध्यनजर गरेर मोफसलसम्म पुग्नुपर्ने बताए । ‘मल्टिप्लेक्सले नेपाली फिल्मलाई सो नै दिँदैनन्, दिए पनि थोरै दिन्छन्,’ उनले भने, ‘दर्शकलाई मल्टिप्लेक्ससम्म तानेर सो बढाउन पनि आफैं लागिपर्नुपर्छ ।’ युनिटले शुक्रबार साँझ लेकसाइडका विभिन्न लाइभ रेस्टुरेन्ट, डिस्कोमा पुगेर फिल्मको प्रचार गरेको थियो ।


शनिबार नै ‘मेरी मामु’ का कलाकार पोखरामा पत्रकार भेटघाटमा सहभागी भए । भदौ १५ मा रिलिज हुने फिल्मका कलाकार सारुक ताम्राकार र अश्लेषा ठकुरी सन्तुष्ट मुद्रामा थिए ।
‘प्रेम गीत’ का हिट दुई सिक्वेल दिएको आसुसेन फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा बाल कलाकार आयुब सेन मुख्य भूमिकामा छन् । नयाँ अभिनेत्रीका रूपमा कुसुम गुरुङले डेब्यु गरेकी छन् । बाल कलाकार कृजन गौतम र शुभम् विष्ट पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा छन् । फिल्म युनिटले दुई समूह बनाएर मोफसलमा प्रवद्र्धन गरेको छ । सारुक र अश्लेषाले पश्चिमको जिम्मा सम्हालेका छन् । उनीहरू धनगढी, नेपालगन्ज, कोहलपुर, दाङ, बुटवल हुँदै अन्तिममा पोखरा आइपुगेका हुन् । अर्को टोलीले पूर्वका विभिन्न सहर पुगेर काठमाडौं फर्किएको छ । फिल्मले विद्यालय केन्द्रित प्रचारलाई महत्त्व दिएको छ । विभिन्न विद्यालय, क्याम्पसमा पुगेर फिल्मबारे जानकारी दिएको छ । नायक सारुकले फिल्मको कथावस्तु अभिभावक र बालबालिकासँग सम्बन्धित भएकोले विद्यालयले प्राथमिकता दिएको सुनाए । फिल्मका मिडिया संयोजक चिरञ्जीवी सापकोटाले मोफसलमा प्रवद्र्धन गर्दा दर्शक र कलाकारबीच प्रत्यक्ष भेटघाट हुने बताए ।


‘आफ्नै अगाडि कलाकारलाई देखेपछि दर्शकलाई पनि फिल्म हेर्न जाउँmजाऊँ हुन्छ,’ उनले भने, ‘यसले फिल्मलाई फाइदा पुर्‍याउँछ नै, हल, सञ्चारमाध्यमलाई पनि फाइदा पुग्छ ।’
‘प्रेम गीत २’ को प्रवद्र्धनमा देशभर भएको नेपाल कन्सर्टले फिल्म र कलाकार दुवैलाई फाइदा पुगेको उनको अनुभव छ । ‘मेरी मामु’ लाई पनि कन्सर्टमार्फत मोफसलका सहरमा लैजाने योजना रहेको उनले सुनाए ।


यसअघि ‘मिस्टर भर्जिन’ को युनिटले पनि मोफसलका सहर चहारिसकेको छ । विभिन्न सहरमा ट्रकमा कार्यक्रम गरेको टोली मंगलबार पोखरा आइपुगेको थियो । यौन मनोविज्ञानमा आधारित भनिएको फिल्म युवापुस्ताले मन पराउनेमा कलाकारहरू गौरव पहारी र मरिष्का पोखरेल ढुक्क सुनिए ।


जक्सन डटकमका सञ्चालक अरुण गिरी मोफसलमा फिल्मको प्रवद्र्धन गरिनुलाई सकारात्मक मान्छन् । ‘कलाकार र दर्शकबीचको दूरीलाई यसले कम गराउँछ,’ उनले भने, ‘धेरैभन्दा धेरै दर्शकलाई हलसम्म तान्न पनि मद्दत पुग्छ ।’


चलचित्र पत्रकार संघ कास्कीका सचिव सुशन घिमिरे राजधानीमा मात्रै सीमित रहेकाभन्दा मोफसलमा प्रचार गरिएका फिल्मले आम्दानी बढी गरेको बताउँछन् । ‘मोफसलका सहरमा फिल्म हेर्ने संस्कृतिमा वृद्धि भइरहेको छ,’ उनले भने, ‘नेपाली फिल्म हेर्न मल्टिप्लेक्ससम्म तान्न सके अझै उत्तम हुन्छ ।’ पोखरा आफैंमा फिल्म सिटी भएकोले यहाँका दर्शकमा पनि फिल्मी चेत बढी भएको उनको धारणा छ ।

प्रकाशित : श्रावण २८, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?