कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

पेन ड्राइभ कन्सर्ट !

आयोजकले खर्च धाने मात्रै हामी म्युजिसियन लग्न सक्छौं । नत्र ट्रयाककै भर हो । - मिलन नेवार, गायिका
लाइभ गायनमा दर्शकलाई रियल टाइम म्युजिक सुनाउनुपर्छ । - नवीन के भट्टराई, गायक
ट्रयाक मात्रै होइन, पूरा गीतै बजाएर लिप सिंक गरेको पनि देख्छु । यसरी नै कति सर्भाइभ भइरहेका छन् । कलाकारले कलाको सम्मान त गर्नुपर्‍यो नि ! - दीप श्रेष्ठ, गायक
सजना बराल

काठमाडौँ — अधिकांश नेपाली गायकगायिका सांगीतिक प्रस्तुतिका लागि एक्लै स्टेजमा पुग्छन् । तिनका साथमा न वाद्यवादक हुन्छन्, न कुनै वाद्ययन्त्र । हुन्छ त केवल पेन ड्राइभ ! त्यो ड्राइभ प्राविधिकलाई थमाएपछि उनीहरू गाउन तम्तयार हुँदै भन्छन्, ‘ट्रयाक प्लिज ।’

पेन ड्राइभ कन्सर्ट !

कुनै गायकको लाइभ कन्सर्ट हेर्नुभएको छैन भने युटयुब नियाल्दा भयो । त्यहाँ उपलब्ध जति पनि ‘लाइभ पर्फमेन्स’ छन्, हाम्रा कलाकार ट्रयाकमै गाइरहेका देखिन्छन् । केहीले त आधाउधी गीत दर्शकलाई नै गाउन लगाएको समेत देखिन्छ । कोही ट्रयाकको सट्टा पूरा गीतै घन्काएर लिप सिंक गर्न भ्याउँछन् । विदेशी आर्टिस्टका प्रस्तुति हेर्दा भने माहोल बिलकुल फरक लाग्छ । भारतकै अरिजित सिंह, श्रेया घोसाल, नेहा कक्कर वा पाकिस्तानका आतिफ असलमहरू स्टेजमा कदापि एक्लै देखिँदैनन् । उनीहरू आफ्नो सांगीतिक दलबलसहित दर्शकश्रोतासामु उपस्थित हुन्छन् ।

नेपालमा कन्सर्टका लागि आएका आतिफ असलम, मिका सिंह, मोहित चौहानदेखि ब्रायन एडम्ससम्मले आफ्नो ब्यान्ड साथमा ल्याएका थिए । तर, हाम्रा कलाकार विदेश जाँदा त परको कुरा, बनेपाको कन्सर्टमा समेत एक्लै पुग्छन् । पेन ड्राइभ बोक्यो, हिँडयो । ब्यान्डसहित गाउने भए पूर्वाभ्यास गर्नुपथ्र्यो । तर, एक्लै भएकाले गायन होइन गेटअपका लागि पूर्वाभ्यास गरे पुग्छ ।

‘ट्रयाक सिस्टमका कारण सजिलो भएको छ,’ गायिका मिलन नेवारले भनिन्, ‘आयोजकले खर्च धान्न सके भने मात्रै हामी म्युजिसियन लग्न सक्छौं । नत्र ट्रयाककै भर हो ।’

कतिपय अग्रज स्रष्टाले ट्रयाक संस्कृतिको विरोध गर्दै आएका छन् । तिनले ट्रयाकमा गाउने चलनको खिसी गर्दा नयाँ पुस्ता ठुस्किने गरेको छ । ‘खै के बोल्नु र यसबारे,’ गायक दीप श्रेष्ठले भने, ‘रिसाउँछन् मसँग । हामीले कहिल्यै ट्रयाकमा गाएनौं । मजाले बाजा बजाएर गाए पो गायनको स्वाद आउँछ †’ ट्रयाकले लाइभ कन्सर्टको असली मिठास व्यक्त गर्न नसक्ने उनले बताए । ट्रयाक गायनलाई उनी खोक्रो प्रस्तुति मान्छन् ।

दीप कभर गाउने र ट्रयाकमा गाउनेलाई एउटै दर्जा दिन्छन् । रातारात हिरो हुन खोज्नेले मात्रै यस्तो गर्ने उनले बताए । उनका अनुसार संगीतमा धैर्य चाहिन्छ । ‘गायकगायिकाले आयोजकलाई एक्लै गाउँदिनँ, वाद्यवादक राखिदेऊ भन्न सक्नुपर्छ,’ दीपको कुरा, ‘आज नमाल्लान् तर अर्को चोटि त मान्छन् नि † यसो गर्दा गायककै इज्जत बढ्छ ।’

नेपाली संगीत बजार सानो भएकाले ट्रयाकमा गाउनु बाध्यता भएको मिलनको अनुभव छ । उनी मौका मिल्दा वाद्यवादकसँगै उपस्थित हुन्छिन् । कहिलेकाहीँ आयोजकलाई वाद्यवादक उपलब्ध गराउन अनुरोध गर्ने गरेको बताउँदै उनले थपिन्, ‘उहाँहरूको पनि मजबुरी बुझिदिनुपर्छ । म्युजिसियन लग्दा खर्च बढ्छ । समय खर्च हुन्छ । ट्रयाक भए सजिलो । तर, लाइभ गाउनु मर्यादित हो । लाइभमै मज्जा हुन्छ ।’

२५ वर्षदेखि ट्रयाकमा गाउँदै आएका पप गायक धीरज राई पनि यो चलनप्रति खुसी छैनन् । उनलाई आफू कहिलेकाहीँ रोबोट बनेजस्तो लाग्छ । ‘ट्रयाक बजाएर गाउनु भनेको रोबोट गायन हो,’ उनले स्विकारे, ‘त्यसमा फिलिङ हुँदैन । संगीत भावना हो । ट्रयाकले भावना मार्छ । तर, हामीकहाँ गीतको भावना बुझ्ने, यसलाई क्रिटिकल्ली सुन्ने श्रोताको संख्या न्यून छ । यहाँ रियल संगीत प्रस्तुत गर्नुभन्दा पनि मनोरञ्जन दिलाउनपट्टि ध्यान दिनुपर्ने बाध्यता छ ।’ मौका मिल्दा आफूले ‘जात्रा’ लाई ब्याक अप ब्यान्डका रूपमा प्रस्तुत गर्ने गरेको उनले बताए ।

कार्यक्रम आयोजक सतर्क भइदिए संगीतबाट ‘पेन ड्राइभ कल्चर’ हट्ने दीपको ठम्याइ छ । उनका अनुसार, संगीतकर्मीले पनि पहल गर्न उत्तिकै जरुरी छ । मिलनहरू चाहिँ सानो बजारमा धेरै माग गर्न नसकिने गुनासो गर्छन् । दीपले भने, ‘ट्रयाक मात्रै होइन, पूरा गीतै बजाएर लिप सिंक गरेको पनि देख्छु । आर्टिस्टहरू अधीर भए । हुन त यसरी नै कति जना सर्भाइभ भइरहेका छन्, तर कलाकारले कलाको सम्मान त गर्नुपर्‍यो नि †’ उनी वाद्यवादक लग्न नसके कम्तीमा आफैंले पनि गितार वा हार्मोनियम बजाउँदै गाए संगीतको शालीनता झल्किने बताउँछन् ।

धरापमा जागिर
मल्टिट्रयाक रेकर्डिङ सुरु भएयता स्टेजमा पनि ट्रयाक सिस्टम चालू भएको संगीत संयोजक फणीन्द्र राईको बुझाइ छ । पहिले पहिले अग्रज गायकगायिकाका कन्सर्ट हुँदा उनी गितार बजाउन जान्थे । त्यो बेला ट्रयाकको चलन नभएको उनी सम्झिन्छन् । ‘लाइभ वाद्यवादन र रेकर्डेड ट्रयाकको साउन्ड क्वालिटीमा आकाशपातालको फरक पर्छ,’ उनले भने, ‘लाइभ धेरै स्तरीय हुन्छ, गायकलाई फरकफरक तरिकाले गाउने सुविधा हुन्छ । ट्रयाकले बाँध्छ, ऊ सँगसँगै दौडिएन भने प्रस्तुति बिग्रिन्छ ।’

पेन ड्राइभ आउनुअघि सीडीमा ट्रयाक बोकेर हिँड्ने गरेको गायकगायिका सम्झिन्छन् । आफूले ट्रयाकमा गाइदिनाले वाद्यवादकको जागिर खोसिएको भन्दै मिलनले दु:ख व्यक्त गरिन् । दीपलाई पनि ट्रयाक सिस्टमले वाद्यवादकको मानहानि गरेको आभास हुन्छ । धीरज भने अब यो चलन हराउनेमा आशावादी देखिए । ‘स्कुल/कलेजतिरका कन्सर्टमा ब्यान्डको माग हुन्छ,’ उनले भने, ‘नयाँ पुस्तामा सांगीतिक चेत छ । आयोजकले अब हामीलाई एक्लै बोलाएर दर्शकलाई खुसी दिलाउन सक्दैनन् ।’

‘र’ को सट्टा ‘स्याम्पल’
कन्सर्टको कुरा मात्र होइन, रेकर्डिङदेखि नै संगीतमा ‘र’ साउन्ड राख्न छोडिएको छ । पर्पल स्टुडियोका संगीत संयोजक फणीन्द्र राईका अनुसार, अचेल गीतमा लाइभ म्युजिक राख्नेभन्दा स्याम्पल म्युजिक राख्ने धेरै हुन्छन् । संगीतको पाइरेसी रोक्नुपर्छ भन्नेहरू नै इन्टरनेटबाट पाइरेटेड साउन्ड स्याम्पल डाउनलोड गरेर गीतमा भर्छन् । यसरी नि:शुल्क भेटिने ध्वनि मिसाउँदा लाइभ म्युजिक रेकर्डिङको खर्च बच्छ ।

डोरेमी स्टुडियोका संगीत संयोजक गोपाल रसाइली पनि स्याम्पल साउन्ड प्रयोग गर्छन् । तर, आफूले किनेर मात्रै प्रयोग गर्ने गरेको उनको दाबी छ । ‘हाम्रा रेकर्डिङ इन्ट्रुमेन्ट स्तरीय छैनन्,’ उनले भने, ‘विदेशमा प्रत्येक बाजाका लागि आआफ्नै शैलीका महँगा माइक हुन्छन् । तीबाट रेकर्ड भएको धुन एकदम सफा हुन्छ । म कहिलेकाहीँ त्यस्ता धुन किन्छु ।’ बाँसुरी, सारंगी, मादल, ढोलकजस्ता नेपाली मौलिक बाजाचाहिँ रेकर्ड गरेर डिजिटल अडियो वर्कस्टेसन (ड) मार्फत रिफाइन गर्ने गरेको उनी बताउँछन् । यो सफ्टवेयरमा प्रत्येक बाजाको धुन केलाएर अन्तमा गीति लय तयार पारिन्छ ।

नेपाली गीतको साउन्ड क्वालिटी सुधार्न रेकर्डिङ स्टुडियो र त्यहाँका उपकरणको स्तरोन्नति आवश्यक रहेको रसाइली औँल्याउँछन् । यसो गर्दा खर्च बढे पनि राम्रो उत्पादन आउने उनको भनाइ छ । ‘एउटा गीतको स्टुडियो खर्च अहिले बढीमा १५ हजार छ,’ फणीन्द्रले भने, ‘अरेन्जमेन्टसमेत जोडदा २५–३० हजार पर्ला । लाइभ म्युजिक राख्यो भने न्यूनतम ३५–४० हजार रुपैयाँ खर्च हुन्छ ।’

सधैं ब्यान्डसहित
कन्सर्टमा स्टुडियो साउन्ड सुहाउँदैन भनेर ट्रयाकमा प्रस्तुति नदिने ‘दुर्लभ’ गायकगायिका पनि हामीकहाँ छन् । तीमध्येका एक हुन् गायक नवीन के भट्टराई । हाल कन्सर्टका लागि सिक्किम पुगेका उनी ‘अतृप्त’ ब्यान्डसहित त्यहाँ छन् । ‘आउने भए ब्यान्डसहित आउँछु नभए आउँदिनँ भन्ने गरेको छु,’ गायकले फेसबुक म्यासेन्जरमार्फत कान्तिपुरसँग भने, ‘एक्लै गाउँदा गीतको आत्मा मर्छ । ट्रयाक त स्टुडियोको उत्पादन हो ।

लाइभ गायनमा दर्शकलाई रियल टाइम म्युजिक सुनाउनुपर्छ ।’

अर्का गायक दीपक बज्राचार्य पनि सोलो प्रस्तुति दिँदैनन् । उनको ब्यान्ड नै छ, ‘द रिदम’ । पछिल्लो पटक सबिन राईले एक्लै गाउन छोडेका छन् । उनी ‘द फाराओ’ ब्यान्डसँग उपस्थित हुन्छन् । ‘१९७४ एडी’ बाट अलग्गिएपछि एड्रियन प्रधान र फिरोज स्याङदेनले ‘फ्रेन्ड्ज’ ब्यान्डलाई ब्याकअपमा राख्ने गरेका छन् ।

‘ब्यान्डसहित कार्यक्रम गर्दा महँगो पर्छ भन्नेहरू पनि छन्,’ नवीनले भने, ‘तर, सस्तोका लागि कम्प्रोमाइज गर्न सक्दिनँ ।’

प्रकाशित : भाद्र १, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?