विश्वसंगीतमा जम्दै डान्स हल

‘डान्स हल रेग्गेको सन्तान हो र अन्य कैयौं विधाको जननी पनि । हिपहप, पप, आर एन्ड बी, क्लब सङहरूमा यस्ता अफ्रो बिटको अथाह प्रयोग हुँदै आएको छ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — युटयुब, स्पोटीफाई जस्ता न्यु मिडियाको आगमनसँगै विश्व सांगीतिक वृत्तमा अमेरिकी म्युजिकको एकछत्र आधिपत्य कमजोर बन्दै गएको छ ।

गीतसंगीत प्रसारणका लागि रेडियो/टेलिभिजनको भर पर्नु नपर्ने भएपछि अहिले जमाइकन डान्सहल म्युजिक चर्चाको शिखरमा पुगेको छ । जमाइकन गायकगायिका सेलेब्रिटी बन्न थालेका छन् ।

अमेरिकामा मात्र होइन, विश्व संगीतमै अंग्रेजी गीतले कब्जा जमाउँदै आएको थियो । युरोप/अमेरिकाका संगीतकर्मी विश्वविख्यात भइरहँदा अन्य भाषा र भेगका कलाकार आफ्नै क्षेत्रमा सीमित हुन बाध्य थिए । अहिले न्यु मिडियाले यो एकाधिकार तोडेको छ । दक्षिण कोरियाका साईको ‘गङनम स्टाइल...’ त्यसैको एक उदाहरण हो । यसै गीतबाट साईले दुनियाँ नचाएपछि अहिले कोरियन पप म्युजिकको बजार बढेर व्यापक बनेको छ ।

Yamaha

पुर्टो रिको, मेक्सीको, कोलम्बियाजस्ता ल्याटिन अमेरिकी देशका गीतहरू युटयुबमा सर्वाधिक भ्युज बटुल्न सफल भएका छन् । स्थानीय भाषाको ‘डिस्पासितो...’ हालसम्म सबैभन्दा बढी भ्युज भएको म्युजिक भिडियो हो । यस्ता गैरअंग्रेजी सांगीतिक उत्पादनले विश्वभरका दर्शक/श्रोता रिझाइरहेका छन् । स्पेनी गीत र म्युजिक भिडियोको चर्चा उस्तै छ ।

यी सबैमाझ अब जमाइकन संगीतको प्रभाव बढ्ने आँकलन गरिएको छ । द रोलिङस्टोन म्यागाजिनले यसबारे हालै एउटा लामो फिचर प्रकाशन गरेको थियो । त्यसमा भनिएको छ, ‘के–पप, ल्याटिन सङ र रेग्गेपछि अब डान्स हल म्युजिक अर्को विधाका रूपमा विश्वभर छाउन सक्छ ।’ जमाइकन संगीतकै रेग्गे विधालाई बब मार्ली, जिमी क्लिफ, पिटर टोस लगायतले विश्वविख्यात बनाएका थिए ।

डान्स हल म्युजिक रेग्गेभन्दा फरक छ । यसमा प्रत्यक्ष वाद्यवादन प्रयोग गरिँदैन । प्रोग्राम्ड अथवा इलेक्ट्रोनिक म्युजिक राखिन्छ । तर, रेग्गेको जस्तै मेलोडिक गायन यसमा हुन्छ । पछिल्लो समय भाइरल बनेका कतिपय अंग्रेजी भाषाका गीतमा समेत जमाइन प्रभाव देखिने रोलिङस्टोनको कथन छ । एड सिरनको ‘सेप अफ यु...’, सियाको ‘चिप थ्रिल्स...’ र जस्टिन बिबरको ‘सरी...’ मा रेग्गे र डान्स हलको आभास पाइने त्यसमा उल्लेख छ ।

‘डान्स हल रेग्गेको सन्तान हो र अन्य कैयौं विधाको जननी पनि,’ गायक सिन पलले भनेका छन्, ‘हिपहप, पप, आर एन्ड बी, क्लब सङहरूमा यस्ता अफ्रो बिटको अथाह प्रयोग हुँदै आएको छ । अहिलेका र्‍याप सुपरस्टार ड्रेकले आफ्ना कतिपय गीतमा नाइजेरियन ध्वनि राख्ने गरेका छन् ।’ उनका अनुसार मूलधारका कलाकारले अफ्रिकी धून चलाए पनि डान्स हलजस्तो मूल अफ्रिकी विधालाई भने स्थान दिन कन्जुस्याइँ गरिन्छ ।

‘अवसर दिनुअगावै कलाको हत्या गर्ने चलन छ,’ डान्स हल र रेग्गे गायक क्रेनियम भन्छन्, ‘मान्छेहरू किन यसलाई स्विकार्न डराउँछन् ?’ जमाइकाजस्ता पिछडिएका मुलुकमा अन्तर्राष्ट्रिय बजारमा रुचाइने खालको सांगीतिक पूर्वाधार नभएकाले स्थानीय कला छायामा पर्ने वा त्यसको उपयोगबाट अरूले फाइदा उठाउने गरिएको संगीत उत्पादक ज्याक्सले रोलिङस्टोनलाई बताएका छन् । ‘हामी पनि विश्वस्तरमा सुहाउँदो गरी क्रिएटिभ हुन जानिरहेका छैनौंं कि,’ उनी भन्छन्, ‘अब डान्स हलमा हामीले फरक स्वाद दिन जरुरी छ ।’

प्रकाशित : भाद्र २, २०७५ ०८:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इमरान प्रधानमन्त्री चयन

शपथ आज
रोयटर्स

इस्लामाबाद — पूर्वक्रिकेटर इमरान खान शुक्रबार पाकिस्तानको प्रधानमन्त्री चयन भएका छन् । गत जुलाईमा भएको आमनिर्वाचनमार्फत पहिलो दल बनेको तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान साना दलको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।

इमरान पाकिस्तानको २२ औं प्रधानमन्त्री बनेका हुन् । नेसनल एसेम्ब्लीमा शुक्रबार भएको मतदानमा इमरानले १ सय ७६ मत पाई विजयी भएका हुन् ।

पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका सेहबाज सरिफले ९६ मत पाए ।

राजनीतिमा लागेको दुई दशकपछि पहिलोपटक प्रधानमन्त्री बनेका इमरानले शनिबार पद तथा गोपनीयताको शपथ लिने बीबीसीले जनाएको छ ।

निर्वाचित भएलगत्तै इमरानले आफू पाकिस्तानको आर्थिक सुधार आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । हालैका वर्षहरूमा पाकिस्तानमा व्यापार घाटा बढ्नुका साथै मुद्रास्फीति भएको छ । यसअघि इमरानले कश्मीर मुद्दा समाधानका लागि भारतसँग वार्ता गर्न आफू तयार रहेको जनाएका थिए । उनले अमेरिकासँग पनि आफू आपसी हितका कार्यका लागि सदैव तयार रहेको बताएका थिए ।

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादलाई सहयोग गरेको आरोपमा पाकिस्तानलाई दिँदै आएको सैनिक सहयोग कटौती गरिदिएका थिए ।

जुलाईमा भएको निर्वाचनमा विपक्षीहरूले पाकिस्तानको शक्तिशाली सेना र गुप्तचर निकाय आईएसआईको समर्थनमा इमरान विजयी भएको आरोप लगाएका थिए । तर पीटीआईले भने मुलुकको ७१ वर्षको इतिहासमा पहिलोपटक सबैभन्दा पारदर्शी तथा शान्तिपूर्ण निर्वाचन भएको बताएको थियो ।

इमरान सन् २००२ मा पहिलोपटक नेसनल एसेम्ब्लीमा विजय भएका थिए । सन् २०१३ को चुनावमा भने उनको दल तेस्रो शक्तिको रूपमा उदायो । अफगानिस्तानमा भएको अमेरिकी हमलादेखि मुलुकभित्रको भ्रष्टाचार र कमजोर अर्थतन्त्रजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएर चुनावमा होमिएका इमरानको दल यसपटक भने ‘नयाँ पाकिस्तान’ को नारासहित प्रथम बनेको हो ।

प्रकाशित : भाद्र २, २०७५ ०८:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT