अस्ट्रेलियामा ब्लाइन्ड रक्स

समाजले अपांगहरुप्रति ओभररियाक्ट गर्न छोडेर उनीहरु पनि सामान्य व्यक्तिसरह नै संघर्ष गर्न, जीवन बिताउन सक्छन् भन्ने बुझिदिनुपर्छ । - सृष्टि केसी
नारायण खड्का

अस्ट्रेलिया — जिन्दगीको सपना देख्ने उमेरमै उनले आँखा गुमाइन् । चिकित्सकको गलत सल्लाहले संसार हेर्नबाट वञ्चित भए पनि उनले आफ्नो हौसला भने जारी राखिन् ।

अस्ट्रेलियामा ब्लाइन्ड रक्स

अहिले तिनै युवती नेपालमा रहेका दृष्टिविहीन तन्नेरीहरूको प्रेरणा मात्र बनेकी छैनन्, विदेशका विभिन्न मञ्चमा पुगेर एउटै सन्देश दिने प्रयास गरिरहेकी छन्— ‘ब्लाइन्ड रक्स’ ।

यो सृष्टि केसीको अभियानको नाम हो । अन्धोपन भएका युवायुवतीका लागि कलात्मक तालिमहरू दिँदै उनी उत्प्रेरणामूलक अभियानहरू गर्छिन् । यही शीर्षकमा मिलन चाम्सले फिल्म समेत बनाएका छन् । यही अभियान लिएर उनी २० भन्दा बढी देशमा पुगिसकेकी छन् ।

काठमाडौंमा जन्मिएकी सृष्टिले आँखा चिलाउने भएपछि चिकित्सकको सल्लाहमा औषधि प्रयोग गरिन् । तर छोटो समयसम्म मात्र प्रयोग गर्न हुने औषधि लामो समय चलाइएपछि उनले बिस्तारै आँखाको ज्योति गुमाइन् ।

‘केही दिनअघिसम्म आँखा देखिरहेकी एउटी युवतीलाई आँखा गुमाउँदा कस्तो महसुस हुन्छ, कल्पना गर्नुस् त ?’ सप्तपरी कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया आइपुगेकी उनले कान्तिपुरसँग भनिन् ।

अचानक आँखा गुमाएपछि केही समय हताश र निराश भइन् उनी । तर, अर्कै माध्यमबाट संसार नियाल्ने अठोट गरिन् र भिन्न ढंगले अघि बढिन् । ‘मलाई जीवन नयाँ तरिकाले बुझ्ने अवसर पाएको अनुभव भयो,’ उनले भनिन् ।

यो क्रममा उनले सबैभन्दा धेरै सुनेको र भोगेको भनेकै ‘बिचरा’ शब्द हो रे । ‘के आँखा गुमेर कुनै व्यक्ति अन्धो हुनेबित्तिकै बिचरा हुन्छ ?’ उनले भनिन् । उनको अनुभवमा शारीरिक रूपले कमजोर भएकालाई यो समाजले त्योभन्दा बढी अपांग बनाउँछ । उनको आग्रह छ, ‘समाजले ओभररियाक्ट गर्न छोडेर अपांगहरू पनि सामान्य व्यक्तिसरह नै संघर्ष गर्न, जीवन बिताउन सक्छन् भनेर बुझिदिनुपर्छ ।’

देशविदेशबाट लिएको ज्ञान र अनुभव नेपालका दृष्टिविहीनहरूको आत्मविश्वास बढाउन खर्च गरिरहेकी उनी कुराकानी क्रममा प्रेमबारे पनि खुलिन्, ‘म आँखा मात्र देख्न नसक्ने हो, ममा पनि अरू जस्तै फिलिङ छ, अरूसँग नजिक हुन मन लाग्छ र माया गर्न मन लाग्छ ।’ कोही व्यक्ति आफ्नो मनमा रहेको बताए पनि नाम भने खुलाउन चाहिनन् । ‘अहिले त मायाप्रेमभन्दा पनि दृष्टिविहीनहरूको आत्मविश्वास र सहयोगका लागि केन्द्रित हुन चाहन्छु,’ उनले भनिन् ।

उनले अस्ट्रेलियाका विभिन्न शहरमा दृष्टिविहिनहरूका कार्यक्रम र गोष्ठीमा समेत सहभागिता जनाइन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?