पटकथामा खोइ लगानी ?

पटकथा लेखकलाई फिल्म निर्देशकहरू आफूले भनेअनुसार लेखिदिने टाइपराइटर जस्तो मात्रै ठान्छन् । - नयनराज पाण्डे
फिल्ममेकरहरूमा विषयगत ज्ञान कम छ । नयाँ काम गर्न नयाँ विषयवस्तु लिने जोखिम मोल्ने कोही देख्दिनँ । -उपेन्द्र सुब्बा
२७/२८ लाख रुपैयाँ खर्चेर गीत खिचिएको सुनिन्छ, तर पटकथा लेखकलाई ५ लाख दिन पनि दाँतबाट पसिना छुटाउँछन् । -सुबिन भट्टराई
फिल्म निर्देशकले नै स्क्रिप्टबाहेक अरू फिल्मका प्लटहरू चोरेर हाल्दिने र बदनाम गराउने गरेका छन् । -अविनाश श्रेष्ठ
सुशील पौडेल

काठमाडौँ — म केवल लेखक त सजिलै हुनसक्छु तर म लेखक हैन । म पटकथा लेखक हुँ, जुन आधाआधी फिल्ममेकर पनि हो । तर पटकथा लेखन कला हैन, किनभने यसले कलाको रुपमा काम गर्दैन बरु अरुलाई कला कर्मका लागि आमन्त्रण गर्छ ।’

‘ट्याक्सी ड्राइभर’ फिल्मका पटकथा लेखकसमेत रहेका पल स्वेडरको उपर्युक्त भनाइले फिल्मको पटकथा लेखन सामान्य नभई विशिष्ट रहेकोतर्फ संकेत गर्छ । अझ अर्का पटकथा लेखक/निर्देशक रोबर्ट अल्टम्यान त पटकथा लेखनलाई केवल लेखनमा मात्र सीमित नभई ‘ब्लुप्रिन्टिङ’ अर्थात् फिल्मको खाका ठान्छन् । नेपाली फिल्ममेकरमा भने पटकथा लेखनबारे अपेक्षित गम्भीरता देखिँदैन ।

Yamaha

अझै पनि अधिकांश फिल्ममेकर चल्ने खालका तीनचार गीत र बलजफ्ती फाइट सिक्वेन्स जोडजाड पारेर पटकथा लेख्ने र स्टारडम भएको आर्टिस्टलाई खेलाउने हो भने हिट भइन्छ भन्ने कुरालाई गुरुमन्त्र मान्छन् । तिनका लागि कथा/पटकथा बरु अरूकै फिल्मबाट तानतुन पारिएका भए पनि स्वीकार्य हुन्छ । फिल्म केवल व्यावसायिक उत्पादन मात्र नभई सिर्जनात्मक अभिव्यक्ति पनि हो भन्ने कुरा कमैले आत्मसात् मात्र गरेको पाइन्छ । पछिल्लो समय साहित्य लेखनले बजार पिटिरहँदा पटकथा लेखन भने झन्झन् कमजोर बन्दै गइरहेको छ । पलले भनेझैं म लेखक हैन, पटकथा लेखक हुँ भनेर कोही अघि आउने अवस्था बन्न सकेको छैन ।

नयनराज पाण्डे बेस्टसेलर लेखकहरूमा पर्छन् । उनी एक दर्जन फिल्मका पटकथाकार पनि हुन् । पछिल्लो फिल्म ‘मैना’ लेखेपछि उनी साहित्य लेखनमै रमाइरहेका छन्, फिल्ममा फर्केका छैनन् । किन त ? ‘बल्ल अहिले धेरै निर्देशकलाई राम्रो फिल्मको मेरुदण्ड स्क्रिप्ट हो भन्ने सैद्धान्तिक ज्ञान त भएको छ, तर त्यसलाई व्यवहारमा उतार्न सकिरहेका छैनन्,’ उनी भन्छन्, ‘लेखकलाई गराउने मिहिनेत र दिने पारिश्रमिकमा कमी छ । मौलिक पटकथा के हो भन्ने बुझाइमा कमजोरी छ ।’ लेखकलाई समय र पारिश्रमिक दिने मामिलामा निर्माता/निर्देशक हच्किने गरेको तर्क गर्दै उनी थप्छन्, ‘पटकथा लेखकलाई त निर्देशकहरू आफूले भनेअनुसार लेखिदिने टाइपराइटर जस्तो मात्रै ठान्छन् । यो सिर्जनात्मक अभिव्यक्ति हो भन्ने नै छैन । तिनमा फिल्म बनाउने हतारो मात्रै छ ।’

‘समर लभ’ उपन्यासबाट खास गरी युवापुस्तामाझ एकाएक ‘हटकेक’ बनेका सुविन भट्टराई फिल्म खुब हेर्छन् । तर नेपाली फिल्म उनलाई अझै पनि केटाकेटीले भाँडाकुटी खेले जस्तो लाग्छ । ‘हाम्रा मेकरले राम्रा फिल्म पनि हेर्दैनन् कि के हो ?’ भट्टराई उल्टै आश्चर्यमिश्रित प्रश्न गर्छन् । यति बेला ‘समर लभ’ माथि नै फिल्म बन्दै छ । यसको पटकथा पनि सुविनले नै तयार पारे । अहिले फिल्मलेखनले उनलाई छुन थालेको छ ।

‘आफूले धेरै हेर्ने भएकोले पनि फिल्म लेख्नु मेरो प्यासन हो । आफ्ना कथा पोख्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ अरूसँग चित्तबुझ्दो सहकार्य भएन भने आफैंले भए पनि फिल्म बनाएरै छोड्ने अठोट सुनाउँदै उनी थप्छन्, ‘फिल्म त म बनाउँछु, बनाउँछु । मन छुने राम्रा–राम्रा स्क्रिप्ट मसँग छन् । तर निर्माताहरू अझै पनि भल्गर जोक भएका फर्मुला शैलीकै स्क्रिप्ट खोज्छन् । भिजन नै छैन । हामी सिर्जनशीलतामा भन्दा पनि चोरचार पारेर फिल्म बनाउने प्रक्रियामा चलिरहेका छौं ।’

कवि छविमा रमाइरहेका उपेन्द्र सुब्बा ‘कबड्डी’ बाट एकाएक पटकथा लेखकका रूपमा उदाए । उनले फिल्ममार्फत् आफ्नो उपस्थिति सार्थक पनि बनाए । सिक्वेलसम्म दोहोरिएका उनी त्यसपछि पटकथा लेखनबाट ओझेल परे । ‘फिल्म मेकरहरूमा विषयगत ज्ञान कम छ । नयाँ गर्न नयाँ विषयवस्तु लिने जोखिम मोल्ने कोही देख्दिनँ,’ उनी भन्छन्, ‘हामी कलासंस्कृतिमा आफूलाई धनी त भन्छौं, तर यतातर्फ अध्ययन गर्ने परिपाटी नै छैन ।

सिर्जनशील लेखकहरू नभएका हैनन्, तर एकाध फिल्म लेखेपछि नै अघाइसक्छन् । लेखकले जुन कल्पनाशीलता पस्केको हुन्छ, मेकरले प्राविधिक कठिनाइ देखाई खिच्न झन्झट मान्छन् । यसले गर्दा लेखकमा वितृष्णा उत्पन्न हुन्छ र हराउँछन् ।’ फिल्मकर्मीले लेखकको मर्म नबुझेको गुनासो गर्ने उनी बरु आफ्नै लेखनमा निर्देशनमा उत्रने सोचमा रहेछन् ।

निरन्तर हिट फिल्म दिएकैले ‘बाघ निर्माता’ को उपनाम पाएका छवि ओझालाई पनि थाहा छ, नेपाली फिल्मको मुख्य समस्या कमजोर पटकथामा छ भनेर । ‘लेखक राम्रा छन् । हामीले लेखाउन नसकेको हो,’ उनी भन्छन् ।

राम्रा भनिने लेखकमा आफ्नै राम्रो भन्ने र अरूका कुरा नखाने कमजोरी पनि रहेको आरोप लगाउँदै उनी थप्छन्, ‘कमजोरी दुवै पक्षको छ । एक वर्ष लगाएर लेख्ने गरी हामी पनि पारिश्रमिक दिँदैनौं । एकै महिनामा फिल्म फ्लोरमा गएन भने विदेशबाट आएको मुर्गा निर्माता भाग्छ भनेर हतारो गर्छौं । विदेशमा स्क्रिप्टभन्दा राम्रो फिल्म बन्छ । हामीकहाँ भएकै स्क्रिप्टअनुसार पनि फिल्म बन्दैन । निर्माणमा बजेट थोरै हुनु र घिसिपिटी कथामा फिल्म बन्ने परिपाटी भइरहनुले यस्तो भएको हो ।’

भर्खरभर्खर नेपाल टेलिभिजन प्रसारणमा आएको थियो । टीभीमा सिरियल लेख्ने मान्छेको अभाव थियो । फिल्मको पटकथा बम्बई गएर लेखाउने परिपाटी थियो । यस्तोमा भारतको असमदेखि आएका थिए अविनाश श्रेष्ठ । ‘२०४३ देखि तीन वर्षभित्र मैले ७०/८० टेलिफिल्म लेखेका’ उनलाई फिल्ममा भने प्रदीप रिमालले ताने, ‘माया’ बाट । ‘त्यो बेला प्रदीप रिमालले सहयोगका लागि भनेपछि एक पैसा नलिईकन स्क्रिप्ट लेखिदिएको थिएँ,’ उनी भन्छन् । त्यसपछि अविनाशले ‘भाउजू’, ‘राँको’, ‘पराईघर’, ‘साथी’ गरी २८ फिल्म लेखे । उनी फिल्म लेखेर सन्तुष्ट भने छैनन् । ‘निर्देशकले नै स्क्रिप्टबाहेक अरू फिल्मका प्लटहरू चोरेर हाल्दिने र बदनाम गराउने गरेका छन्,’ उनी यति बेला फिल्मको राम्रो भविष्य देखिरहेको टिप्पणी गर्दै र पटकथा लेखनको ज्ञान पनि पुस्तान्तरण हुनुपर्ने धारणा राख्दै थप्छन्, ‘लेखकलाई प्रोत्साहन गर्नुपर्‍यो । रचनात्मक मान्छे आउनुपर्छ । चोर्ने प्रवृत्ति छोड्नुपर्छ ।’

नेपाली फिल्ममा गतिलो पटकथा नहुनुमा राम्रा लेखकबाट लेखाउने हैसियत राख्न नसक्नु अनि पटकथालाई समय दिन र आर्थिक लगानी गर्न कन्जुस्याइँ गर्नु मुख्य कमजोरी हुन् । ‘फिल्मलाई निर्देशकको माध्यम भनियो तर पटकथा लेखकलाई न पारिश्रमिक न सम्मान गरियो,’ नयनराज भन्छन्, ‘कुनै पनि लेखकले राम्रो विषयवस्तु पायो भने फिल्म लेख्नभन्दा पुस्तक लेख्न थाल्छ । मेरो सिर्जना मेरै पुस्तकमा आओस् भन्ने लेखकको चाहना हुन्छ । पुस्तक उसको सम्पत्ति हुन्छ । तर फिल्ममा अपनत्व मिल्दैन ।’

सुविनलाई पनि धेरै फिल्मकर्मीले पटकथा लेखनको प्रस्ताव लिएर आए । तर उनलाई पनि समय र पैसामा चित्त नबुझेपछि हुन्छ भनिहाल्न सकेका छैनन् । भन्छन्, ‘असोजमा फ्लोरमा जाने फिल्मका लागि असारमा लेखकसँग कुरा गरिन्छ । अर्को कुरा, कम पारिश्रमिक सबैभन्दा ठूलो समस्या हो । अहिले दिइएजति रकममा त हातै चल्दैन । २७/२८ लाख रुपैयाँ खर्चेर गीत खिचिएको सुनिन्छ, तर पटकथा लेखकलाई ५ लाख दिन पनि दाँतबाट पसिना छुटाउँछन् ।’ उनलाई पनि बरु फिल्म लेख्नु भन्दा पुस्तक लेख्नु धेरै ठीक लाग्छ । भन्छन्, ‘आकाशपातालकै फरक जस्तो छ । एउटा पुस्तक लेख्नु १५ फिल्म लेखे बराबर होला, आर्थिक रूपमा पनि ।’

समस्याको पर्दा यति बेला बिस्तारै हट्दै पनि गएको छ । बुद्धिसागर, ब्रजेश वा कुमार नगरकोटी जस्ता अहिलेका व्यस्त लेखक पनि फिल्मको पटकथा लेखिरहेका छन् । अब उनीहरूमा गरिएको मोटो लगानीको समीक्षात्मक वा व्यावसायिक प्रतिफलको आस फिल्म निर्माता/निर्देशकले पालेकै होलान् । पूरा भएमा पटकथा लेखनमा ब्रेक थ्रु हुने पक्का छ ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

व्यापार नउक्से पनि फिल्म धमाधम

१६ साता, २८ रिलिज, ० सफलता
सुशील पौडेल

काठमाडौँ — ०७५ को पहिलो चौमासिक सकिन एक साता मात्रै बाँकी छँदा नेपाली फिल्मको व्यापारिक अवस्था भने दयनीय नै देखिएको छ । वैशाख ७ मा ‘स्वर्ग मेरो गाउँ’ फिल्मले वर्षको ओपनिङ गरे पनि व्यापार भने स्वर्णिम हुन सकेन ।

कलाकारहरू आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह

साउनको तेस्रो साता ‘कायरा’ र ‘झमकबहादुर’ सम्म हेर्दा १६ साताभित्र २८ नेपाली फिल्म रिलिज भए । तिनमा पनि २१ फिल्म नराम्ररी असफल भए । बाँकी फिल्मले केही हदसम्म दर्शकलाई हलसम्म त तान्न खोजे, तर व्यावसायिक सफलता भने पाउनै सकेनन् ।

वैशाख दोस्रो साता विशाल भण्डारी निर्देशित ‘कोहलपुर एक्सप्रेस’ रिलिज भयो । केकी अधिकारी निर्मित/अभिनीत भनेर त छँदै थियो, ‘सीओडब्ल्यु काउ...’ गीतका कारण पनि राम्रै हाइप बटुलेको उक्त फिल्मको रिलिजसँगै सम्बद्ध फिल्मकर्मीहरू मुख लुकाउन बाध्य भए ।

दर्शकलाई उक्त फिल्म बलिउडको ‘मुम्बई एक्सप्रेस’ सँग फ्रेम बाई फ्रेम मिलेको थाहा पाउन समय लागेन । फिल्मले जेनतेन दर्शक तानिरहेका बेला नक्कल गरी बनाइएको हल्लाले अन्तत: व्यापारमा समेत असर गर्‍यो । भलै, केकीले विदेशमा समेत चलाएर लगानी धेरथोर उठाएको भए उपलब्धि नै मान्नुपर्छ, स्वदेशी बक्स अफिसले भने सुखद अनुभूति दिलाउन सकेन ।

‘कोहलपुर एक्सप्रेस’ सँगै रिलिज भएको मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ ले पनि निर्माताका लागि नामअनुसारको परिणाम दिलाउन सकेन । दयाहाङ राई, प्रियंका कार्की जस्ता स्थापित कलाकार अनि विदेशमा खिचिएको भएर पनि फिल्मले दर्शक रिझाउन सकेन । लगत्तै तेस्रो सातामा अर्को फिल्म ‘डमरुको डन्डिबियो’ पनि हलमा थपियो । खगेन्द्र लामिछानेको लेखन तथा अभिनय रहेकैले पनि यसबाट चाहिँ ठूलो आशा राखिएको थियो । तर यसले पनि व्यापार र समीक्षा दुवैमा अपेक्षित नतिजा दिएन । वैशाख अन्तिम साता फेरि दुई फिल्म ‘लम्फू’ र ‘हिरोज’ हलमा लागे । यी सबै फिल्म लाग्नु र उत्रिनुमा तात्त्विक भिन्नता देखिएन । दर्शकले कुनै चासो नलिँदा यी फिल्मको व्यापार चौपट भयो ।

व्यापारमा ट्रयाजेडीको यो सिलसिला जेठमा पनि रोकिएन । जेठ ४ मा ‘हैरान’ ले सोलो रिलिज त पायो, तर व्यापारमा अपवाद हुन सकेन । यसअघि ‘लभ यु बाबा’ बनाएर गिनिज बुकमा विश्वकै कम उमेरको निर्देशकमा नाम दर्ता गराउन सफल सौगात विष्टले दोस्रो फिल्ममा सफलता चाख्न पाएनन्, फिल्म बनाएर हैरानी बेहोर्नुबाहेक ।

बरु जेठ दोस्रो साता आएको हरर जानराको ‘सुनकेशरी’ ले सुरुवाती व्यापारमा केही आशा जगायो । अर्पण थापाको निर्देशन र ऋचा शर्माको अभिनयको जुगलबन्दीले केही गर्ला कि भन्ने आशामा रिलिजको तेस्रो दिनदेखि नै तुषारापात भइदियो । ओपनिङ बिजनेस ठीकठाकै गरेको फिल्म आइतबारदेखि ड्रप भयो । वर्ड अफ माउथ राम्रो पाउन सकेन । त्यसको प्रत्यक्ष असर बक्स अफिस कलेक्सनमा पर्न गयो ।

व्यापारको यस्तो पृष्ठभूमिलाई बेवास्ता गरी जेठ तेस्रो साता तीन फिल्म भिडे । ‘अमेरिका बोइज’ देखि ‘हरि’ र ‘बेबी आई लभ यु’ सम्म । ‘हरि’ ले कथा वाचन शैलीमा केही नयाँपन अपनाएकाले थोरै वाहवाही बटुल्नुबाहेक अर्थोपार्जन गर्न सकेन । बाँकी दुई फिल्मको पनि अवस्था पनि सुध्रेन । न त जेठको अन्तिम शुक्रबार रिलिज भएका दुई फिल्म ‘मट्टीमाला’ र ‘चंगा’ ले नै कुनै चमत्कार देखाउन सके ।

सुरुका दुई महिनामा रिलिज भएका १३ फिल्ममध्ये एउटैले आशा जगाउन सकेन । त्यसपछि फिफा विश्वकपले एक महिना फिल्मको व्यापारलाई थप असर पार्‍यो । असार पहिलो साता ‘तिमी हुन्छौ जहाँ जहाँ’ रिलिज भयो भने तेस्रो सातासम्म ‘ए सोल्टिनी’ र ‘चोखो माया’ जस्ता कमै नाम सुनिएका फिल्म लागे । यी फिल्म कुनै उपलब्धि हासिल नगरी हलबाट बिदा भए । फुटबलको रौनक सकिने क्रमसँगै चौथो सातामा एकाएक चार फिल्म ‘बाबुकान्छा’, ‘बोबी’, ‘वीरांगना’ र ‘यो पागल मन’ रिलिज भए ।

स्टारडम र कथा सबैले हावा खाइरहेका बेला भुइँमान्छे प्रेम जोडीको वास्तविक कथा समेटेर मिलन चाम्सले बनाएको ‘बोबी’ ले भने अनपेक्षित व्यापार गर्‍यो । इनिसियल ओपनिङ सुस्त रहेको फिल्मको प्रदर्शन तेस्रो सातासम्म तन्किने गरी व्यापारमा वृद्धि भयो । चार महिनामा यही एउटा फिल्मले सर्वाधिक व्यापारको रेकर्ड बनायो । तर विदेशी भूमिमा सुटिङ गरिएकाले पनि लगानी ठूलो रहेको उक्त फिल्म स्वदेशी बजारबाटै भने सुरक्षित हुन हम्मेहम्मे नै पर्‍यो । त्यसबाहेक अन्य तीन फिल्मको नामोनिसान देखिएन ।

असफलताको सिलसिलाले साउनमा पनि निरन्तरता पाइरहेको छ । ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ ले साउनको खाता त खोले, तर पैसा भने खासै डिपोजिट गर्न सकेनन् । न दयाहाङ राई अभिनीत ‘भैरे’ ले केही गर्न सक्यो न त सेक्स कमेडी जानराको ‘पण्डित बाजेको लौरी’ ले नै सार्थकता सिद्ध गर्न सक्यो । ‘चक्कर’ त रिलिजको पहिलो दिनपछि नै थाहै नपाई हलबाट उत्रन थालिसकेको थियो ।

साउन दोस्रो साता रिलिज ‘सुकुलगुन्डा’ र ‘चिँ मुसी चिँ’ प्रति दर्शकको खासै ठूलो अपेक्षा थिएन । तीसँगै रिलिज भएको नरेशकुमार केसी निर्देशित ‘रोमियो एन्ड मुना’ ले केही गर्ला कि भन्ने थियो । यसअघि ‘रेशम फिलिली’ बाट सफलता चाखेका विनय श्रेष्ठले यस पटक सृष्टि श्रेष्ठसँगको जुगलबन्दीले ठोस काम गर्न सकेन । समीक्षात्मक र व्यापारिक हिसाबले नोटिस हुनुबाहेक ‘रोमियो एन्ड मुना’ पनि खासै सन्तोषजनक दरिएन ।

पछिल्लो साता अभिनेता आर्यन सिग्देलले आफ्नै लगानीमा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग दर्शकलाई दिन खोजेको ‘कायरा’ को प्रेमकथा पनि सफलता उन्मुख देखिएन । औसत मात्रै रहेको उक्त फिल्मले निर्मातालाई त उकास्न सकेन नै, आर्यनको खस्कँदो करिअरलाई पनि उठाउने संकेत दिएन । ‘कायरा’ सँगै रिलिज भएको ‘झमकबहादुर’ कहाँ लाग्यो भन्ने पनि दर्शकलाई हेक्का भएन ।

चार महिना सकिन लाग्दा साउन अन्तिम साता रिलिज हुने तीन फिल्म ‘पिरिम पर्‍या छ’, ‘कहीं कतै’ र ‘टिनएज’ अपवाद होलान् त ? थाहा पाउन केही दिन कुर्नुपर्नेछ ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT