कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

देवी बन्ने धुन

‘आधुनिक गीतमा नाचिनेभन्दा फरक र पोसाक पनि आकर्षक भएकोले यतातिर रुचि जागेको थियो । रुचि भयो भने छिटो सिकिँदो रैछ । त्यत्तिकै समय फाल्नुभन्दा केही सिक्नु राम्रो नि !’
सुनीता साखकर्मी

भक्तपुर — ठूलो श्रद्धाका साथ मानिसहरू उनका पाउ छुँदै भन्ने गर्छन्, ‘देवी मा, मलाई रक्षा गर्नुहोस् ।’ उनी साँच्चिकै देवी भइदिएकी भए, भक्तजनको हरेक मनोकामना पूरा गर्थिन् होला । ‘तर, के गर्नु, मान्छे न परेँ !’
अष्टमातृका नाच्ने लेमिना श्रेष्ठले भनिन्, ‘दिन त के सक्नु, उल्टै लाजले भुतुक्कै हुन्छु !’

देवी बन्ने धुन

गाईजात्राको दिन रात परेदेखि उज्यालो नहुँदासम्म नाचिन्छ अष्टमातृका नृत्य । विशेष गरी थिमिको नेवार समुदायमा । पहिलेपहिले अष्टमातृका पुरुषहरूले नाच्थे । झन्डै दुई दशकयता भने यो परम्परा बदलिएको छ । अहिले युवतीहरूले अष्टमातृका नृत्य परम्परा धान्दै आएका छन् । थिमिको वाचुननीकी २४ वर्षीया लेमिनासँग तीन वर्षदेखि अष्टमातृका नृत्यको अनुभव छ । नाच्दै गर्दा लेमिनालाई कहिलेकाहीं आफू साँच्चै देवी हुँ कि जस्तो भान हुन्छ ।

‘कहिले त मात्तिन मन लाग्छ तर जब देवी भएको सम्झिन्छु, सम्हालिन्छु,’ उनले भनिन्, ‘मान्छे अनुशासित बनाउन यस्तो परम्परा बसालेका होलान् हाम्रा पुर्खाले भन्ने लाग्छ ।’

देवी बन्ने धुनमा रहेकी यी नृत्यांगनाहरूलाई यति बेला थिमि लायकुको सानो वाचुननीमा भेट्न सकिन्छ । तीन हप्तादेखि बेलुका सात बजे उनीहरू यहाँ आइपुग्छन्, जहाँ अष्टमातृका, नागचा: (भष्मासुर मोहनी) र महाकाली नाचको प्रशिक्षण चलिरहेको छ । अष्टमातृकामा युवतीहरू भए पनि अन्य नाचमा भने पुरुषहरू नै सहभागी हुन्छन् ।

महाकाली हुँदै मातृका
बीएसडब्लू सकेर बसेकी लेमिनालाई बच्चैदेखि सांस्कृतिक पहिरनमा सजिएर नाच्न मन लाग्थ्यो । ठूला दिदीहरू नाचेको देख्दा एक न एक चोटि यसरी नै नाच्छु भन्ने इच्छा जाग्थ्यो । ‘आधुनिक गीतहरूमा नाचिनेभन्दा फरक र पोसाक पनि आकर्षक भएकोले यतातिर रुचि जागेको थियो,’ उनले भनिन्, ‘रुचि भयो भने छिटो पनि सिकिँदो रैछ ।’

सुरुको वर्ष उनी महाकाली बनेकी थिइन् । त्यसपछि दुई वर्ष देवी बनिन् ।

गाईजात्राको दिन अपराह्न पाँच बजेदेखि बिहान तीनचार बजेसम्म नाच लिएर थिमिका चोकचोक घुम्नुपर्छ । ‘अनुभव नभएकाले सुरुमा गाह्रो भयो, तर टेक्निकहरू थाहा पाएपछि भने सजिलो भयो,’ उनले भनिन् ।

नाच्दा पहिरनका रूपमा उनीहरूले मखुन्डो, जामा, चोलो, त्रिकोण, ऐना भएको झल्लर, लाल प्व:चा लाउँछन् । गहनामा चाहिँ स्टिलको सिक्री, हातमा मखमलका बाला, खुट्टामा घुँघरु लगाउँछन् । पहिलो वर्ष लेमिनालाई परिवारले नै पठाएको थियो । ‘पछिचाहिँ आफैं जान थालें,’ उनले भनिन्, ‘त्यत्तिकै समय फाल्नुभन्दा केही सिक्नु राम्रो नि !’

अहिले ११ युवती यो नाच सिकिरहेका छन् । यसमा राम्रो गर्ने आठ जनाले मात्रै नाच्ने अवसर पाउने उनले बताइन् ।

नेवार समुदायमा विभिन्न परम्परागत ताल र रागहरूका आधारमा नाच्ने गरिन्छ । ३७ वर्षे अर्जुन श्रेष्ठले २०६३ देखि यस्ता नाचमा मृदंग बजाउँदै आएका छन् । उनका अनुसार पहिले अष्टमातृका नाचमा केटाहरू नै थिए । तर पछि थिमि कला परिषद्ले समयको मागअनुसार परिमार्जन गरी युवतीलाई नचाउने प्रचलन ल्याएको हो । यो नाचमा मृदंग, दाग: (धाँ बाजा), दापा खिं, भुस्या, छुस्या, ताँ बाजा, बहु (झयाली), नगरा र मुहाली बजाउनुपर्छ ।

‘अहिले नगरा र मुहाली बाजा बोक्ने र बजाउने मानिसको पनि संकट भएकोले बजाउनै छोडियो,’ उनले भने ।

कपाली समाजको रेकर्डअनुसार, देशभरिमा जम्मा १३ जनालाई मात्रै नेवार परम्पराअनुसार मुहाली बजाउन आउँछ । तीमध्ये चार जना थिमिमा छन् । ‘तर उनीहरूको उमेर ढल्किसकेकोले आठ रात बजाएको एक लाख दिन्छु, आउनुस् भन्दा पनि आएनन्,’ उनले भने ।

मौलिक ताल
यो नाच पछि गएर हराउँछ कि भन्ने चिन्ता छ अर्जुनलाई । बच्चैदेखि भजनमा लाग्ने गरेकाले उनले परम्परागत बाजा बजाउन सिकेका थिए । गुरुहरूबाट नोटेसन लिएर सिकेका हैनन् । अचेल नयाँ पुस्ता भजनबाट विकर्षित छन् । सिक्ने परम्परा पनि हराउँदै छ ।

आम्दानी कम हुने भएकाले पनि जीविकोपार्जनका लागि अर्जुन फर्निचरको काम गर्छन् । ‘यो परम्परागत बाजाबारे थाहा हुने नै कम छन्, बजाउन जान्ने त झनै कम,’ उनले भने, ‘यी बाजाहरूको व्यवसायीकरणमा हुन सकेन ।’

उनका अनुसार, यो नाचका लागि ३२ रागमा चौताल, त्रिताल, ब्रह्म ताल, देरा ताल, ताल, ग्वारा ताल लगायत बजाउने गरिन्छ । कैयौँ ताल लोप भइसकेको उनले बताए ।

पहिले नेपाल मण्डलका चारै दिशामा अष्टमातृकाका शक्तिपीठ हुने गरेको अर्जुनले सुनाए । त्यहीअनुसार अष्टमातृका नाचमा तिनै देवी राखिन्छन् । थिमिका पनि ब्रह्मायणी (पूर्व दिशा), माहेश्वरी (उत्तर दिशा), कौमारी (आग्नेय दिशा), वैष्णवी (नैऋत्य दिशा), बाराही (दक्षिण दिशा), इन्द्रायणी (पश्चिम दिशा), महाकाली (वायव्य दिशा) र महालक्ष्मी (ईशान दिशा) मा हुन्छन् ।

अर्जुनका अनुसार, अष्टमातृका नाच पाटनका मल्लराजा श्रीनिवास मल्लको पालामा सुरु भएको हो । पाटनमा दैवीप्रकोपले सताएपछि देशभरि हाहाकार मच्चियो । र, राजा चिन्तित भएका बेला तलेजु भवानी राजाको सपनामा आई ‘नाच सुरु गरेर देवीहरूको पूजा गर्नू’ भनेपछि आठै दिशाका अष्टमातृकालाई तान्त्रिक विधिबाट पूजा गरी नाचको प्रचलन बसेको कथन पाइन्छ । त्यही नाच अन्य राज्यले चलाउन थालेपछि थिमिले अनुसरण गरेको अर्जुनले बताए ।

जोगाउनै गार्‍हो
अष्टमातृका नाचपछि गाईजात्राको भोलिपल्टदेखि चार दिन लायकु भैल: नाच र महाकाली नाच पनि देखाउने चलन छ । लायकु भैल: ४५ वर्ष रोकिएर तीन वर्षअघि फेरि सुरु गरेको नृत्यगुरु निरञ्जन श्रेष्ठले बताए ।

‘पहिले यो नाच प्रधान समुदायले निकाल्थ्यो, विभिन्न कारणले उनीहरूले निकाल्न छोडेपछि हामीले निकाल्न थाल्यौँ,’ उनले भने, ‘अहिले हामीलाई नै यो जोगाउन गाह्रो भइरहेको छ । पर्याप्त आर्थिक स्रोत नभएर समस्या छ ।’ समाजलाई एकत्रित गर्न थिमीका युवाहरूले यी नाचहरूको संरक्षण गरिरहेको भए पनि अब भने उनीहरूलाई नै दिक्क लाग्न थालिसकेको छ । उनीहरूले सोखका रूपमा मात्रै नाच धानिरहेका छन् ।

निरञ्जनका अनुसार, मखुन्डो बनाउन, पहिरन र पूजा सामग्री तयार पार्न ८–१० लाख खर्च हुन्छ । गत वर्षदेखि भने नगरपालिकाले नाच चलाउनका लागि साढे दुई लाख दिन थालेको छ । तर यति रकमले यो मात्रै नभई तीनचार वटा नाच देखाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

‘गुठी संस्थान धाउँदा जहिल्यै हेर्छाैं मात्र भन्ने आवाज सुनियो । अहिले त धाउनै छोडिदियौँ । नगरपालिकाले दिएको रकमले पुग्दैन,’ उनले भने ।

यस्तै गाईजात्राकै भोलिपल्टदेखि चार दिन देखाइने महाकाली नाचमा देवीले महीषासुरलाई वध गरी विजय प्राप्त गरेको कथा देखाइन्छ । यसमा कवा: दुई जना, ख्या दुई जना, भूत भैरव दुई जना, बेताल चार जना, माक दुई जना, सिंह एक जना, देवी एक जना, महालक्ष्मी एक जना र दैत्य एक जना हुन्छन् । ‘नागचा:’ नाचमा भने विष्णुले मोहिनी रूप धारण गरी भस्मासुरलाई मारेको कथा लुकेको छ ।

प्रकाशित : भाद्र ७, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?